इरान युद्ध गराएकोमा अमेरिकाका रक्षामन्त्री पिट हेगसेथमाथि महाभियोग लगाउने प्रस्ताव

2.6k
Shares

एजेन्सी । अमेरिकाको प्रतिनिधिसभाकी डेमोक्रेट सांसदले इरानमा अमेरिकी कारबाहीहरूको व्यवस्थापनलाई लिएर रक्षामन्त्री पिट हेगसेथ विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने सोमबार घोषणा गरेकी छन् ।

आन्तरिक सुरक्षा मन्त्री क्रिस्टी नोएम र महान्यायाधिवक्ता पाम बोन्डीको बहिर्गमनपछि हेगसेथ ट्रम्प क्याबिनेटमा डेमोक्रेटहरूको मुख्य निशानाका रूपमा उदाएका छन् ।

सर्वेक्षणहरूले हेगसेथ क्याबिनेटका सबैभन्दा कम लोकप्रिय सदस्यहरूमध्ये एक भएको देखाएका छन् र इरान द्वन्द्वको बढ्दो लागतले उनको सार्वजनिक छविमा थप दबाब सिर्जना गरेको छ ।

एरिजोनाकी सांसद यासामिन अन्सारीले एक विज्ञप्ति जारी गर्दै हेगसेथले आफ्नो पदको शपथ र संविधानप्रतिको कर्तव्य बारम्बार उल्लंघन गरेको भन्दै अर्को हप्ता उनका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने जानकारी दिइन् ।

‘हेगसेथले अमेरिकी सैनिकहरूलाई लापरबाहीपूर्वक खतरामा पारेको र बारम्बार युद्ध अपराध गरेको कुराहरू उनलाई महाभियोग लगाउन र पदबाट हटाउनका लागि पर्याप्त आधार हुन्,’ हाउस डेमोक्रेटका नयाँ सांसदहरूको समूहकी अध्यक्षले भनिन् ।

इरानी–अमेरिकी मूलकी अन्सारीले युद्धका बारेमा ट्रम्पका विक्षिप्त बयानहरूलाई लिएर उनलाई पदबाट हटाउन क्याबिनेटले २५औं संशोधन प्रयोग गर्नुपर्ने माग पनि गरिन् ।

उनले ईस्टर सन्डेका दिन इरानी नेताहरूलाई सम्बोधन गर्दै ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्टलाई उल्लेख गरिन्ः ‘हर्मुज जलयोजक खोल, पागलहरू, नत्र तिमीहरू नर्कमा बस्नेछौ । हेर्दै जाओ ! अल्लाहको जय होस् ।’

‘२५औं संशोधन कुनै विशेष कारणले नै अस्तित्वमा छ । उनको क्याबिनेटले यसको प्रयोग गर्नुपर्छ । अमेरिकी सैनिक, इरानी जनता र हाम्रो विश्वव्यापी प्रणालीको जग नै अहिले जोखिममा छ,’ उनले भनिन् ।

कांग्रेसका दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहेको र महाभियोगको अभियोगमा कुनै कार्यकारी अधिकारीलाई दोषी ठहर गर्न सिनेटमा दुईतिहाइ बहुमत आवश्यक पर्ने हुनाले अन्सारीको यो महाभियोग प्रयास सफल हुने सम्भावना अत्यन्त न्यून छ ।

ट्रम्पका वफादारहरूले भरिएको क्याबिनेटले २५औं संशोधन लागू गर्ने पनि कुनै वास्तविक सम्भावना छैन ।

हेगसेथ विरुद्ध महाभियोग प्रस्ताव गर्ने अन्सारी पहिलो डेमोक्रेट भने होइनन् । मिसिगनका सांसद थानेदारले गत वर्ष पेन्टागन प्रमुख विरुद्ध महाभियोगको प्रस्ताव पेश गरेका थिए तर अहिलेसम्म त्यसमा मतदान गराउन सफल भएका छैनन् ।

Skip This