धोनी साबुन उत्पादन गर्ने महेश जाजुको हिमगिरीको व्यापार १७% ले बढ्यो, साढे ३ अर्बको कारोबार

साढे १२ करोड खुद नाफा

1k
Shares

काठमाडौं । हिमगिरी हाइजिनले एकै वर्ष साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा ३ अर्ब ५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा २ अर्ब ४६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा १५ प्रतिशत बढी परिमाणमा सामग्री बिक्री गर्दा व्यापारमा उल्लेख्य वृद्धि भएको हो ।

गत आवमा १२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको कुल नगद सञ्चय १५ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ६ करोड ९० लाख रुपैयाँ कुल नगद सञ्चय थियो ।

त्यसैगरी, कम्पनीले चालु आवको ८ महिनाको अवधिमा २ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २००५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका साबुन, सर्फ र अन्य घरायसी तथा व्यक्तिगत केयरसँगै टोइलेट क्लिनर, फिनेल, ह्यान्डवास र टिस्यू पेपर उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले वार्षिक १९ हजार मेट्रिक टन क्षमतामा लुगा धुने साबुन, २४ सय मेट्रिक टन टोइलेट साबुन, ५ हजार मेट्रिक टन डिटरजेन्ट र ३ हजार १२५ मेट्रिक टन एचपीसी सामग्री उत्पादन गर्दै आएको छ ।

महेश जाजु अध्यक्ष रहेको कम्पनीले विभिन्न २६ वटा ब्रान्डमा उत्पादित सामग्री बिक्री वितरण गर्दै आएको छ। कम्पनीले औरा, धोनी, मिस्टर क्लिन र एक्स्ट्रा ब्रान्डका वस्तु उत्पादन गर्दै आएको छ ।

देवनारा ग्रुप र जाजु ग्रुपको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २२ करोड ५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३६ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको हो ।