योजना आयोगका नवनियुक्त उपाध्यक्ष भट्टको प्रतिक्रिया: सुशासन र समृद्धि केन्द्रमा राखेर काम गर्छु

224
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले वर्तमान सरकारको मार्गदर्शन, सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यक्रम र १६औं योजनालाई आधार मानेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले डा भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णयपछि क्लिकमान्डुसँग कुरा गर्दै उनले विशेष गरी सुशासन, सामाजिक न्याय र समृद्धि तीनवटा विषयलाई केन्द्रमा राखेर राष्ट्रिय योजना आयोगको जिम्मेवारी पूरा गर्ने बताए ।

‘वर्तमान परिस्थिति प्रतिकूल छ । यस चुनौतीलाई सम्बोधन गर्न आयोगले मुख्य रूपमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । सम्माननीय प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्देशन अनुसार सबै निकायहरूसँग समन्वय गर्दै अघि बढ्ने मेरो प्रतिबद्धता छ,’ भट्टले भने ।

अहिलेको सन्दर्भमा मुख्य तीनवटा कुराहरू महत्त्वपूर्ण रहेको उनले बताए । सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यलाई प्राथमिकतामा राख्नु, योजनाहरूको कार्यान्वयन पक्षलाई सुदृढ बनाउने विषय प्राथमिकतामा रहने उनले बताए ।

विगतमा देशको आर्थिक वृद्धि न्यून हुनुको एउटा मुख्य कारण प्रभावकारी कार्यान्वयनको अभाव पनि रहेको भट्टको तर्क छ । त्यसैले, कार्यान्वयनको पाटोलाई प्रभावकारी बनाउन आयोगको समन्वयकारी भूमिकालाई अझ सशक्त बनाउने उनले बताए ।

तेस्रो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न निकायहरूसँगको समन्वयलाई व्यापक बनाउँदै उच्च आर्थिक वृद्धिका लागि आवश्यक स्रोत (रिसोर्स) जुटाउन विशेष पहल गर्ने उनको भनाइ छ ।

विगतमा बहुवर्षीय योजनाहरू र ठूला पूर्वाधार निर्माणका क्षेत्रमा पूर्वतयारी नपुग्ने लगायतका विभिन्न समस्याहरू देखिएका थिए । अब ती योजनाहरूको कार्यान्वयनयोग्य चरण र विद्यमान अवस्थाका बारेमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरी आयोगको भूमिकालाई कहाँ र कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा काम गर्ने उनले बताए ।

सामूहिक प्रयास(टीम वर्क) बाट प्रभावकारी काम गर्न सकिने भन्दै उनले टिमसँगको आन्तरिक समन्वय र अन्तर–मन्त्रालय समन्वयलाई थप प्रभावकारी बनाएर नै यी चुनौतीहरूको समाधान खोजिने उनले बताए ।

Skip This