नेप्सेमा सर्किट ब्रेकर ५ र ८ प्रतिशतमा लाग्ने, कम्पनीको मूल्य १५ प्रतिशतले घटबढ भएर कारोबार हुने

‘आफ्टर मार्केट अर्डर’को व्यवस्था

7.3k
Shares

काठमाडौं । अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सर्किट ब्रेकर पाँच र आठ प्रतिशत कायम हुने भएको छ । नेप्सेले पठाएको ‘धितोपत्र कारोबार संचालन विनियमावली’ संशोधनको प्रस्तावलाई सोमबार धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले स्वीकृत गरेसँगै यस्तो नियम लागू हुने भएको हो ।

यसअनुसार अब सेयर कारोबार सुरु भएको पहिलो एक घण्टामा सूचक ५ प्रतिशतले बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्नेछ । पहिलो सर्किट ब्रेक लागेर कारोबार १५ मिनेटका लागि बन्द हुनेछ । यसपछि, फेरि खुलेको बजार ८ प्रतिशतले बढेमा वा घटेमा दिनभरका लागि कारोबार बन्द हुन्छ । यसरी, हालको विनियमावलीले दुई चरणमा सर्किट ब्रेकर लाग्ने व्यवस्था गरेको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।

हाल भने कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ ।

त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरीका लागि कारोबार बन्द हुने गर्दछ ।बोर्डका ती अधिकारीकाअनुसार सूचीकृत कम्पनीको मूल्य १५ प्रतिशतले घटबढ भएर कारोबार हुन पाउने व्यवस्थासहित विनियमावली स्वीकृत भएको छ । हाल भने सूचीकृत कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएर कारोबार हुन पाउने व्यवस्था छ ।

यस्तै, विनियमावलीले प्रिओपनमा सूचीकृत कम्पनीको मूल्य दुई प्रतिशतले घटबढ गर्न पाउने व्यवस्थालाई बढाएर तीन प्रतिशतले घटबढ हुनेगरी अर्डर राख्न पाउने व्यवस्था गरेको छ । नेप्सेले पाँच प्रतिशतको प्रस्ताव गरेपनि बोर्डले तीन प्रतिशत कायम गरेको छ ।

धितोपत्र बोर्डले विनियमावली स्वीकृत गरेसँगै नेपाली पुँजी बजारमा अब ‘आफ्टर मार्केट अर्डर’ अर्थात् एएमओ पनि सञ्चालनमा आउने भएको छ । बजार बन्द भएपछि पनि अर्डर हाल्न मिल्ने किसिमको विशेषतासहित यस्तो व्यवस्था लागू भएको हो ।

अहिले सामान्यता, साढे १० देखि ३ बजेसम्म मात्र अर्डर हाल्ने समय छ । तर, यो समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा नेपालमा दिन हुँदा रात हुने अन्य देशमा रहेका नेपालीका लागि असहज भएपछि नेप्सेले एएमओ सुरु गर्नका लागि भन्दै विनियमावलीमा व्यवस्था गरेर पठाएको थियो ।

यसअनुसार अब बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्मको समयमा पनि लगानीकर्ताले सेयर खरिदबिक्रीका लागि अर्डर राख्न मिल्छ ।

‘नेपालमा बजार दिउँसो चल्छ, यहाँ रात परेको हुन्छ, राति उठेर अर्डर हाल्न सम्भव हुँदैन भन्ने गुनासो बाहिर रहेकाले राख्दै आएका थिए,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने, ‘यो सुविधा लागू भएपछि उनीहरूले सो दिनभरिको कारोबार र ‘क्लोजिङ प्राइस’ हेर्छन् अनि बाइ वा सेल को अर्डर राख्न पाउँछन् ।’

यसरी अर्डर राख्नेले क्लोजिङ प्राइसको प्लस–माइनस २ प्रतिशतमा राख्न पाउने व्यवस्था गरिएको छ ।

Skip This