दीपक भट्टलाई उधारोमै १९ लाख कित्ता सेयर किनिदिने भृकुटी स्टक ब्रोकरलाई कारबाही, ३ महिना निलम्बित

11.2k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भृकुटी स्टक ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितिले रकम भुक्तानी नलिई व्यवसायी दिपक भट्टको खातामा सेयर पठाउने गरेको भेटिएपछि भृकुटी स्टक ब्रोकरलाई कारबाही गरेको स्रोतले बतायो ।

बोर्डले ब्रोकरलाई ३ महिनाको लागि निलम्बन गर्ने र धितोपत्र ऐन अनुसार आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।

‘ब्रोकर नं. ५५ लाख धितोपत्रसम्बन्धी ऐनको दफा ८८ अनुसार निलम्बन गरिएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘साथै कम्पनी, कम्पनीका व्यवस्थापन प्रमुख तथा सञ्चालकसँग पनि स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।’

व्यवसायी दीपक भट्टले नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरे पनि त्यसको भुक्तानी गरेका थिएनन् । तर, ब्रोकर नम्बर ५५ ले भुक्तानी नलिइकनै उक्त सेयर दीपक भट्टको नाममा हस्तान्तरण गरिदिएको पाएपछि बोर्डले धितोपत्र ऐन विपरितको कार्य गरेको भन्दै कारबाही गरेको हो । अनुसन्धानका क्रममा सेयर कारोबार गर्दा अनिवार्य रुपमा राख्नुपर्ने २५ प्रतिशत कोल्याटरल लोड नै नगरी कारोबार गरिएको पाइएको बोर्डले जनाएको छ ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको लगानी रहेको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनीको मुख्य लगानीकर्ता मनोजकुमार लाल कर्णकी श्रीमती सुधा कर्ण हुन् ।

नेपाल धितोपत्र बोर्डले गरेको छानबिनमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी र हिमालयन लार्ज क्याप फन्ड, हिमालयन सेक्युरिटिज बैंकर, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्सले गरेको सेयर कारोबारमा भृकुटी स्टक ब्रोकिङ कम्पनीले लामो समयदेखि भुक्तानी गर्न बाँकी रहेको रकम ठूलो परिमाणमा देखिएको थियो ।

साथै, दीपक भट्टले नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गरेको भुक्तानी भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई भएको छैन । बिमा कम्पनी र सामूहिक लगानी कोषलाई भुक्तानी नगर्ने र भट्टले सेयर खरिद गरेको रकम भुक्तानी नलिई भट्टको खातामा सेयर पठाउने गरेको देखिएसँगै बोर्डले ब्रोकरलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पछिल्लो माघ ५ गतेको सेयर लगत अनुसार नेपाल पुनर्बिमा कम्पनीको साधारण सेयर हिमालयन लाइफ इन्स्योरेन्ससँग ३० लाख २५ हजार ८८९ कित्ता छ । यस्तै दीपक भट्टसँग १९ लाख ४६ हजार २२१ कित्ता सेयर छ ।

गत भदौमा नै निष्कासन भएर सञ्चालनमा आएको हिमालयन लार्ज क्याप फन्डले पनि हिमालयन लाइफ इन्स्योरेन्सको ३ लाख ४० हजार ६९ कित्ता सेयर खरिद गरेको छ । यस्तै भृकुटी स्टक ब्रोकिङ कम्पनीको नाममा पनि २२ हजार कित्ता सेयर रहेको छ । यसबाहेक अप्रत्यक्ष रूपमा भट्ट निकट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद भएको देखिएको छ ।