
काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणबाट उल्लेखनीय आम्दानी गरेको जनाएको छ ।
चैत २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल प्रिमियर लिग परिचालन परिषदले प्रस्ताव गरेको आय व्ययको विवरण बैठकले अनुमोदन गरेको हो ।
प्रवक्ता छुम्बी लामाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको दोस्रो सिजनमा कुल ४७ करोड ३६ लाख ५५९ रुपैयाँ कारोबार भएको छ ।
एनपीएल आयोजना गर्दा २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ खर्च भएको क्यानले जनाएको छ।
खर्च कटाउँदा करिब २५ करोड ३९ लाख रुपैयाँ ग्रस आम्दानी भएको उल्लेख गरिएको छ ।
उक्त आम्दानीमध्ये फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत रकम वितरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सबै हिसाबपछि क्यानले ९ करोड २१ लाख २१ हजार९३५ रुपैयाँ बचत भएको क्यानले जनाएको छ ।
पहिलो सिजनको एनपीएलमा क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको थियो ।
आजको बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार अवधि थप गर्नका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।
त्रिभुवन विश्वविद्यालयसँगको उक्त सम्झौता सकिन लागेपछि क्यानले करार अवधि थप गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।
‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, किर्तिपुरको करार सम्झौता अवधि समाप्त हुन लागेको र उक्त खेलमैदानलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भई फ्लड लाईट समेत जडान भएको र उक्त मैदान नेपाली क्रिकेट खेलको विकासको लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद मातहत संचालनमा रहेको तल्लो मुलपानी क्रिकेट मैदान यस संघलाई हस्तान्तरण गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया