
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले रुग्ण ठेक्काहरूलाई वर्गीकरण गरेर अघि बढाउनुपर्ने बताएका छन् ।
महासंघमा सोमबार आयोजना भएको शपथ तथा पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्रोत सुनिश्चितता हुँदा काम हुने आयोजनाहरूको म्याद थपेर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष पाण्डेले यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई जानकारी गराएको बताए । उनका अनुसार सम्भावनाको आधारमा रुग्ण आयोजनाहरूलाई अघि बढाउन मन्त्री लम्साल सकारात्मक रहेका छन् ।
ठेक्का तोडेर कालोसूचीमा राख्ने पक्षमा मन्त्री लम्साल नरहेको उनले जानकारी दिए ।
अध्यक्ष पाण्डेले समयमै टुंगिनुपर्ने आयोजना नटुंग्याउने कर्मचारी वा निर्माण व्यवसायीलाई कारबाही गरिनुपर्ने बताए। निर्माण व्यवसायी वा सरकारको कारणले काम नभए सोहीअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले भने, ‘रुग्ण ठेक्काहरूलाई तीनवटा वर्गीकरण गर्नुपर्छ। स्रोत सुनिश्चितता हुँदा जुन आयोजनामा म्याद थप्दा काम हुन्छ, ती अघि बढाउनुपर्छ। यही कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई पनि भनेको छु। यदि रुग्ण आयोजनाहरू अघि बढाउने सम्भावना भए हामी अघि बढाउँछौं। ठेक्का तोडेर कालोसूचीमा राख्नु हुँदैन भन्ने मन्त्रीज्यूको पनि भनाइ छ। टुंगिनुपर्ने आयोजना नटुंग्याउनु हुँदैन। निर्माण व्यवसायी वा सरकारको कारणले काम नभए सोहीअनुसार कारबाही हुनुपर्छ। यदि निर्माण व्यवसायीको गल्ती छ भने व्यवसायीको १० प्रतिशत धरौटी काटेर अघि बढाउनुपर्छ। यो कुरा राखेका छौं।’
अध्यक्ष पाण्डेले अहिले निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यस अवस्थामा काम गर्न नसकिने बताए। यसबारे भौतिक पूर्वाधार मन्त्रीलाई समेत आफूले जानकारी गराएको उनले बताए ।
रुग्ण आयोजनाहरूको समस्या समाधान गर्न सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउँदै अब सरकारसँग आफूहरूले लबिङ गर्ने उनले बताए ।








प्रतिक्रिया