
एजेन्सी । तीस वर्षअघि ऊर्जाको उदय हुँदै गरेको बहुध्रुवीय व्यवस्था स्पष्ट देखिन्थ्यो ।
चीनले तेल, ग्यास र महत्त्वपूर्ण खनिजहरूको विविध पोर्टफोलियो शान्तिपूर्वक निर्माण गरिरहेको थियो । रुस युरोपको मुख्य पाइपलाइन आपूर्तिकर्ता र खाद्यान्न तथा मलको ठूलो निर्यातक थियो ।
अमेरिका खाडीको तेलमा निर्भर थियो, ढुवानी मार्गहरूको रक्षा गर्थ्यो र विश्वकै सबैभन्दा ठूलो उपभोक्ता थियो । तर, पूर्ण नियन्त्रणको अभाव थियो ।
आजको मितिमा आइपुग्दा त्यो सन्तुलन बदलिएको छ । वाशिङटनले शेल, प्रतिबन्ध र निर्यात नियन्त्रणको प्रयोग गरेर रुसलाई घेराबन्दी गरेको छ, रुसी बजारलाई अमेरिकी कम्पनीहरूले विस्थापित गरेका छन्, भेनेजुएलाको तेल कब्जा गरेको छ, इरानी निर्यातमा कटौती गरेको छ र आफूलाई भविष्यको विश्वव्यापी स्विङ प्रोड्युसर तथा रणनीतिक समुद्री मार्गहरू पानामा, बाब एल–मान्डेब र हर्मुजको संरक्षकको रूपमा स्थापित गरेको छ ।
सन् १९९० को दशकको अन्त्यदेखि बेइजिङले ऊर्जा सुरक्षालाई एउटा इन्जिनियरिङ मुद्दाको रूपमा हेर्यो । अमेरिकी अवरोध बिन्दुहरू (चोकपोइन्ट) बाट हुने ट्यांकर आवतजावतमा निर्भरता कम गर्यो र महत्त्वपूर्ण खनिज तथा दुर्लभ धातुहरूमा नियन्त्रण सुरक्षित गर्यो ।
सन् २००९ पछि उसले मध्य एसियाबाट वार्षिक ५५–६० अर्ब क्युबिक मिटर क्षमताका तीनवटा ग्यास पाइपलाइन निर्माण गर्यो, सन् २०१३ मा म्यान्मारबाट तेल र ग्यास लाइनहरू थप्यो ताकि मलाक्का जलयोजकलाई छल्न सकियोस् र सन् २०१९ मा चीनसम्म पावर अफ साइबेरिया पाइपलाइन खोल्यो ।
यी स्थल मार्गहरूले समुद्री आपूर्तिलाई सघाउ पुर्याए जसले एउटा आन्तरिक रणनीतिक घेरा बनायो र समुद्री मार्गहरूमा निर्भरता घटायो ।
रुसले बजार शक्तिमार्फत लचिलोपन प्राप्त ग-यो । सन् २०२१ मा नर्ड स्ट्रिम १ र २ र टर्क स्ट्रिम जस्ता पाइपलाइनहरूका साथै ट्यांकर मार्गहरू मार्फत ईयूको लगभग ४५ प्रतिशत ग्यास र ३० प्रतिशत कच्चा तेल आपूर्ति गर्यो । ग्याजप्रोमका दीर्घकालीन सम्झौताहरू र प्रमुख खाद्यान्न तथा मल निर्यातकको रूपमा रुसको भूमिकाले मस्कोलाई मूल्य निर्धारणमा प्रभाव र राजनीतिक पहुँच दियो ।
सन् २०१४ को प्रतिबन्धपछि रुसले पूर्वतर्फ विस्तार गर्दै चीनका लागि पावर अफ साइबेरिया सुरु गर्यो र युरोप जाने ग्यास डाइभर्ट गर्न मंगोलिया हुँदै यामल–देखि–चीन लाइनको योजना बनायो । सुरुमा यो रुस युरोप र गैरपश्चिमी बजार दुवैमा इन्धन र मल आपूर्ति गर्न सक्षम देखिएको थियो ।
शेल क्रान्तिको उदय हुनुअघि अमेरिका मुख्यतया खाडी देशहरूबाट आयातित कच्चा तेलमा (३० प्रतिशतभन्दा कम) निर्भर थियो र यसको शक्ति जलसेना, मुद्रा र वित्तीय प्रणालीमा आधारित थियो । सन् २०१० को दशकको मध्यसम्ममा यो विश्वको सबैभन्दा ठूलो तेल र ग्यास उत्पादक बन्यो र कच्चा तेल तथा एलएनजी निर्यात गर्न थाल्यो ।
सन् २०२१ मा यो युरोपको दोस्रो आपूर्तिकर्ता थियो तर सन् २०२५ सम्ममा युक्रेन प्रतिबन्धपछि यसले रुसलाई विस्थापित गर्दै युरोपको ३५ प्रतिशत आवश्यकता पूरा गर्ने प्रमुख एलएनजी आपूर्तिकर्ता बन्यो ।
युरोपले अमेरिका, नर्वे, पश्चिम एसिया र पश्चिम अफ्रिकाबाट ऊर्जाका स्रोतहरू विविधीकरण गरेपछि ईयूमा रुसी पाइपलाइन निर्यात निकै कम भयो जसले रुसको पश्चिमी प्रभुत्व घटायो ।
सन् २०२३–२४ को लाल सागर संकटको समयमा बाब एल–मान्डेबले जोखिम व्यवस्थापनको परीक्षण गर्याे । अमेरिका नेतृत्वको जलसैनिक गठबन्धनले ढुवानी मार्गहरूको रक्षा र अवरोध बिन्दुहरू सुरक्षित गरे ।
विश्वव्यापी ढुवानीकर्ताहरूले मार्ग परिवर्तन गरेर उच्च लागतको सामना गरिरहँदा रुस र चीनले सुरक्षामा योगदान नदिई लाभ उठाए जुन धारणा वर्तमान हर्मुज संकटको समयमा ट्रम्पले पनि व्यक्त गरेका छन् । अमेरिकाले हुतीहरूसँग शान्ति सम्झौता गर्यो जुन प्रक्रिया अस्थिर भए पनि जारी छ र यसले चोकपोइन्टमा केही प्रभाव स्थापित गरेको छ ।
हर्मुज जलयोजक अझै पनि प्रमुख शक्तिहरूको गतिविधिको केन्द्रमा छ । अमेरिकाले सन् १९७० को दशकदेखि त्यहाँ जलसैनिक गस्ती गर्दै आएको छ भने इरानले यसलाई दबाबको रूपमा प्रयोग गर्दै आएको छ । सन् १९९० को दशकमा पर्सियाली खाडीको करिब ४० प्रतिशत कच्चा तेल ओईसीडी युरोपमा, ३० प्रतिशत अमेरिकामा र बाँकी एसियामा निर्यात हुन्थ्यो ।
सन् २०२५ सम्ममा शेल क्रान्ति र युरोपमा रुसी निर्यातमा आएको परिवर्तनका कारण खाडीको ८० प्रतिशत तेल र ग्यास एसियातर्फ पठाइयो जसले पश्चिम एसियाली ऊर्जाको मुख्य बजार पश्चिमबाट पूर्वतर्फ सारिदियो ।
विगत पाँच वर्षको चोकपोइन्ट राजनीतिमा अमेरिकाले पानामा नहर र यसका दुवै प्रवेश बन्दरगाहहरूमा चिनियाँ नियन्त्रण (सीके हचिसन) लाई उल्ट्याएर क्षेत्रीय विजय हासिल गर्यो । ब्ल्याकरकले ती कम्पनीहरूमा चिनियाँ कम्पनीको सेयर खरिद गरेपछि अमेरिकाले उक्त जलमार्गमा पुनः नियन्त्रण पायो । त्यसले अमेरिकाको ४० प्रतिशत कन्टेनर ट्राफिक रोक्न सक्थ्यो ।
चौथो प्रमुख चोकपोइन्ट चीनको मुख्य कमजोरी मलाक्का दुविधा अझै पनि चुनौतीपूर्ण छ जबकि पाँचौं चोकपोइन्ट स्वेज विगत ५० वर्षदेखि शान्त छ ।
विगत पाँच वर्षको मुख्य परिवर्तनका रूपमा वाशिङटनले रुसलाई उसको सबैभन्दा मूल्यवान युरोपेली बजारबाट बाहिर धकेल्न र चीनसँगको क्रेता बजार सम्बन्धमा पुर्याउन प्रतिबन्ध, मूल्य सीमा र चोकपोइन्ट रणनीतिहरू प्रयोग गरेको छ । त्यहाँ साइबेरियन ग्यास र युराल्स कच्चा तेल छुटमा बिक्री गरिन्छ ।
बेइजिङलाई जमिनमुनिका पाइपलाइनहरूबाट हटाउन नसकिने कुरा अमेरिकाले स्वीकार गरेको छ तर भेनेजुएलाको तेलमा नियन्त्रण गरेर र रुसी तथा इरानी तेल र ग्यासलाई रोकेर चीनको ऊर्जा सुरक्षालाई सीमित गर्ने कदम चालेको छ ।
तर, ग्यास प्रशोधन केन्द्र र पाइपलाइनहरूको सीमित क्षमताका कारण अमेरिकाले अचानक हुने विश्वव्यापी आपूर्ति अभावलाई तुरुन्तै पूर्ति गर्न सक्दैन जसले उसको प्रभुत्वलाई केही हदसम्म कम गर्छ ।
चीनको दीर्घकालीन आपूर्ति श्रृंखला विविधीकरणसँग प्रतिस्पर्धा गर्न नसके पनि अमेरिकाले पाँच वर्षदेखि रुस र चीनको ऊर्जा र खनिजमा पहुँच रोक्न खर्च गरेको छ र तीनमध्ये दुईवटा प्रमुख चोकपोइन्टहरूमा प्रभाव पुनः प्राप्त गरेको छ ।
प्रभावका यी ट्रम्प कार्डहरूले साउदी अरब जस्तो ठूलो उत्पादक बाहिरिएमा अमेरिकी ओपेकको निर्माण गर्न सक्छ । यसले पेट्रो–डलरलाई बलियो बनाउनेछ, चीनको पेट्रो–युआनको महत्त्वाकांक्षालाई रोक्नेछ र बढ्दो डि–डलराइजेसन (डलरको प्रयोग घटाउने लहर) को भाष्यलाई पछाडि धकेल्नेछ ।
यद्यपि यस्तो कदमको संकेत कमै छ । तर, ट्रम्पले धेरै अवसरहरूमा ओपेक कार्टेलको आलोचना गरेका छन् र नोपेक (नो ओयल प्रोडुसिङ एन्ड एक्सपोर्टिङ कार्टल्स एक्ट) विधेयक प्रस्ताव गरेका छन् जसले अमेरिकी सरकारलाई ओपेक र अन्य कार्टेलहरूका विरुद्ध अमेरिकी अदालतमा मुद्दा चलाउन अनुमति दिनेछ । मध्यावधि चुनावअघि नाटकीय घटनाहरूको आवश्यकतालाई ध्यानमा राख्दै ट्रम्पको यो अर्को एउटा चाल हुन सक्छ ।








प्रतिक्रिया