
काठमाडौं । इरान र अमेरिकाबिचको युद्धले नयाँ मोड लिएको छ।
शुक्रबार इरानी सेनाले दुईवटा शक्तिशाली अमेरिकी लडाकु विमान एफ-१५ ई र ए-१० वार्थोग खसालेको पुष्टि भएको छ।
एउटा विमान इरानको आकासमा र अर्को कुवेतमा इरानी बमबारीका क्रममा दुर्घटनामा परेको हो।
यो घटनाले अमेरिकी वायुसेनालाई ठुलो धक्का दिएको छ। विमानका केही पाइलटहरूको उद्धार गरिए पनि एफ -१५ ई का एक चालक अझै बेपत्ता छन्।
इरानको आईआरजीसीले बेपत्ता पाइलटको खोजी भइरहेको जनाएको छ। लडाकु विमान खसालिएपछि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लचकता देखाएका छैनन्।
उनले एनबीसी न्युजसँग भने, ‘यो युद्ध हो र हामी युद्धमा छौँ। विमान खसाल्दैमा शान्ति वार्तामा कुनै असर पर्नेवाला छैन।’ अहिलेसम्म १३ जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ३६५ जना घाइते भएका छन्।
यस्तै जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।
अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।
लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्। छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ।
इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान(समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका) समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।
इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।
इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ।
साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।








प्रतिक्रिया