
प्रत्येक समाजमा धनी र गरिब वर्ग हुन्छन् । धनी वर्गसँग पर्याप्त सम्पत्ति, अवसर र सुविधा हुन्छन् । त्यसले उनीहरूलाई सहजै शिक्षा, स्वास्थ्य र जीवनस्तर उपलब्ध गराउँछ । उनीहरूले लगानी र व्यवसायमार्फत अझ बढी आम्दानी गर्ने क्षमता राख्छन् ।
अर्कोतर्फ, गरिब वर्ग आधारभूत आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेको हुन्छ । उनीहरूलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका अवसर सीमित हुन्छन् । यस्तो स्थितिले सामाजिक असमानता बढाउँछ ।
दानियल मुईनुद्दीनको उपन्यास ‘दिस इज ह्वेयर द सर्पेन्ट लिभ्स’ ले प्रशस्त जग्गाजमिन भएको समान्ती वर्ग र उनीहरूका लागि काम गर्ने गरिबहरूको कथा बुनेर पाकिस्तानी समाजको भित्री तहलाई खोतल्ने प्रयास गरेको छ । यसमा वर्गीय सम्बन्ध, नैतिकता र मानवीय कमजोरीको सूक्ष्म चित्रण भेटिन्छ ।
पाकिस्तानी समाजको वर्गीय संरचना मुईनुद्दीनको लेखनको मेरुदण्ड हो । विशेषगरी, पाकिस्तानी पञ्जाबको ग्रामीण क्षेत्र र लाहोर जस्ता शहरहरू बीचको भिन्नतालाई उनले निकै कुशलतापूर्वक प्रस्तुत गरेका छन् ।
द गोल्डेन बोय शीर्षकको पहिलो अध्यायमा याजिद (अफरासियाब) को पात्र मार्फत मुईनुद्दीनले कसरी एक अनाथ बालक पहिला निम्न मध्यम वर्गका व्यक्ति र पछि सामन्ती संरक्षणमा हुर्कन्छ अनि त्यही व्यवस्थाको चक्रव्यूहमा फस्छ भन्ने देखाएका छन् । त्यस्तै, आधुनिक शिक्षित वर्गले पनि आफ्नो स्वार्थ रक्षाका लागि पुरानै जमानाको मसल पावर अथवा गुण्डागर्दीको सहारा लिनुपर्ने हुन्छ भनी ‘मसल’ शीर्षकको अध्यायमा रुस्तम र शेख शरीफको सम्बन्धमार्फत देखाइएको छ ।
पाकिस्तानी समाजमा वर्गसंघर्ष धनी र गरिब बीचको लडाइँ मात्र नभई सम्मान, अस्तित्व र पहिचानको लडाइँ पनि हो । तल्लो वर्गका पात्रहरू (जस्तै साकिब) जतिसुकै बुद्धिमान् वा मेहनती भए पनि माथिल्लो वर्गको एउटा सानो इशाराले उनीहरूको जीवन खरानी बनाइदिन सक्छ भनी मुईनुद्दीनले देखाएका छन् ।
साकिबले टनल फार्मिङ मार्फत ठूलो सफलता हात पारे पनि आईफोन बोक्ने इच्छा र त्यसले उत्पन्न गरेको शंकाले उसलाई प्रहरी हिरासतमा यातना पाउने स्थितिमा पुर्याउँछ । यस घटनाले पाकिस्तानी समाजमा रहेको गहिरो वर्गीय खाडल र ‘कामदारले आफ्नो औकात नाघ्न खोज्दा’ भोग्नुपर्ने परिणामलाई प्रस्ट पार्छ ।
मुईनुद्दीनलाई अक्सर पाकिस्तानका चेखभ भन्ने गरिन्छ । महान् रुसी लेखक एन्टोन चेखभका कथाहरूमा जस्तै मुईनुद्दीनका कथाहरूमा पनि स्पष्ट हिरो वा भिलेन हुँदैनन् । उपन्यासका पात्रहरू परिस्थितिका उपज हुन्छन् । स्लाइस अफ लाइफ (जीवनको एक टुक्रा) को अनुभूति भेटिन्छ ।
चेखभको शैली जस्तै मुईनुद्दीनले पनि ठूला नाटकीय घटनाहरू भन्दा साना तथा सूक्ष्म क्षणहरूलाई महत्त्व दिएका छन् । पात्रहरूको मनमा चल्ने द्वन्द्व, उनीहरूको निराशा र सामाजिक बन्धनभित्रको छटपटीलाई उनले निकै शान्त तर गहिरो ढंगले प्रस्तुत गरेका छन् ।
‘द क्लिन रिलिज’ अध्यायमा हिशाम र नसिम नाम गरेका दाजुभाइ बीचको सम्बन्ध र एउटै महिलाप्रति उनीहरूको प्रेमको त्रिकोणले रुसी क्लासिक साहित्यको याद दिलाउँछ । यहाँ प्रेम भावना मात्र नभई सम्पत्ति र उत्तराधिकारको खेल पनि हो ।
मुईनुद्दीनका पात्रहरू प्रायः ट्य्राजिक हुन्छन् । उनीहरू परिवर्तन चाहन्छन् तर समाजको संरचना बलियो भएकाले उनीहरू अन्त्यमा यथास्थितिवादलाई स्वीकार गरेर बस्न बाध्उ हुन्छन् । यो निराशावाद नभई मानव प्रकृतिको कठोर यथार्थ हो ।
यस उपन्यासका पात्रहरू निकै जटिल र बहुआयामिक छन् । लेखकले कुनै पनि पात्रलाई एकतर्फी रूपमा प्रस्तुत गरेका छैनन् ।
पुस्तकको सबैभन्दा बलियो पात्र साकिब हो । ऊ महत्त्वाकांक्षी र बुद्धिमान् छ । आफ्नो वर्गबाट माथि उठ्न चाहन्छ । हिशामको खेतमा टनल फार्मिङ प्रतिको लगाव उसको व्यावसायिक कुशलताको प्रतीक हो । तर, उसको महत्त्वाकांक्षा नै विनाशको कारण बन्छ । कसरी एउटा व्यक्तिले व्यवस्थालाई चुनौती दिन खोज्दा आफैं टुट्नुपर्ने हुन्छ भनी साकिबको पात्रले देखाउँछ ।
याजिद साकिबको मेन्टरका रूपमा देखा पर्छ । ऊ हिशाम र कामदारहरूको बीचको पुलका रूपमा रहेको छ । टुहुरो बालक याजिदलाई सामान्य चियापसलेले हुर्काएकाले वफादारीको महत्त्वलाई याजिदले जीवनको मूलमन्त्रका रूपमा अपनाएको छ । साकिबले गरेको बेइमानीप्रति उसको आक्रोश र निराशाले अनुभवी तर थकित मानिसको चित्रण गर्छ ।
शहनाज पनि उपन्यासकी बलियो पात्र हुन् । उनले पाकिस्तानको उच्च वर्गकी महिलाको प्रतिनिधित्व गर्छिन् । उनी शिक्षित छिन्, कलाप्रेमी छिन् र बाहिरबाट हेर्दा दयालु देखिन्छिन् । तर, उनको भित्री रूप सामन्ती नै छ । साकिबलाई पुलिसको जिम्मा लगाउन दबाब दिने शहनाज नै हुन् । वर्ग स्वार्थको अगाडि व्यक्तिगत सम्बन्ध र मायाको कुनै मूल्य हुँदैन भनी उनले देखाउँछिन् ।
हिशाम र रुस्तम नाम गरेका पात्रहरूले पाकिस्तानको सामन्ती परिवारका पुरुषहरूको चित्रण गर्छन् । उनीहरू विदेशमा पढेकाले केही उदारवादी सोच राख्ने भए पनि उनीहरूको रगतमा आफ्नो पुर्खाको सत्ता शक्ति र अहंकार जीवित छ ।
मुईनुद्दीनको भाषा अत्यन्तै परिष्कृत र दृश्यात्मक छ । उनले अंग्रेजी भाषामा लेखे पनि उनको लेखनमा पञ्जाबी र उर्दूको सुगन्ध मिसिएको छ । अचकन, शलवार, मेहन्दी, बैठक, जिर्गा जस्ता शब्दहरूको प्रयोगले पाठकलाई सिधै पञ्जाबको ग्रामीण खेतबारी र लाहोरका हवेलीहरूमा पुर्याउँछ । आफैं पनि प्रशस्त जग्गाजमिन भएको सामन्ती परिवारको सदस्य र खेतीपातीमा रुचि राख्ने भएकाले लेखकले समाजको यथार्थपरक चित्रण गर्न सफलता पाएका हुन् ।
उपन्यासमा मिनिमलिस्ट शैली अपनाइएको छ र त्यो प्रभावकारी छ । प्रकृति र वातावरणको चित्रण गर्दा उनले गरेको शब्दहरूको चयनले कथाको मुड सेट गर्छ । उदाहरणका लागि, सिन्धु नदीको किनारको वर्णन वा तातो घाममा काम गर्ने मजदुरहरूको चित्रण निकै जीवन्त छ । हिशाम, नसिम, शहनाज र याजिदले पाकिस्तानको पहाडमा क्याम्पिङ गर्दाका क्षणहरूको वर्णन पनि मनोहारी छ ।
शैलीगत रूपमा मुईनुद्दीनले नन–लिनियर समयको प्रयोग गरेका छन् । उपन्यासका प्रमुख पात्रहरूका कथा दशकौंसम्म फैलिएका छन् । सन् १९७० को दशकको राजनीतिक उथलपुथलदेखि सन् २०१० को आधुनिक समयसम्मका घटनाहरूलाई उनले एउटै धागोमा उनेका छन् । यसले पाठकलाई समयको परिवर्तन र त्यससँगै मानिसको स्वभावमा आउने बदलाव बुझ्न मद्दत गर्छ । पाकिस्तानी राजनीति र नेताहरूलाई पार्श्व भूमिकामा राखिएको छ ।
पुस्तकको शीर्षक दिस इज ह्वेयर द सर्पेन्ट लिभ्स (सर्प यहीँ बस्छ) आफैंमा एउटा ठूलो प्रतीक हो । यस उपन्यासमा सर्प पशु मात्र होइन । यो मानिसभित्र लुकेको लोभ, धोका र सत्ताको प्रतीक हो । यो सर्प महलका कोठाहरूमा बस्छ, खेतका टनलहरूमा लुक्छ र मानिसको विश्वासलाई विषाक्त बनाउँछ ।
पाकिस्तानमा कानुन र न्याय केवल शक्तिशालीका लागि मात्र भएको मुईनुद्दीनले देखाएका छन् । पुलिस इन्स्पेक्टर आफताब शकील जञ्जुआको पात्रमार्फत उनले राज्य संयन्त्रको क्रूरता र भ्रष्टाचारलाई उदांगो बनाएका छन् । साकिबलाई दिइएको यातना र त्यसपछि उसको सबै पैसा लुट्ने इन्स्पेक्टरको व्यवहारले न्याय भनेको बलियोले कमजोरमाथि गर्ने शासन मात्र हो भन्ने कुरा प्रमाणित गर्छ ।
लेखकले पाकिस्तानी समाजमा रहेको बिरादरी वा जाति प्रथाको प्रभावलाई पनि उजागर गरेका छन् । सामान्यतया जातिप्रथा हिन्दू समाजको मात्र समस्या भएको धेरैलाई लाग्छ तर मुसलमान समाजमा पनि यो रोग व्याप्त छ ।
साकिब अराइन जातिको भए पनि उसको आफ्नै समुदायले उसलाई संकटको बेला साथ दिँदैन किनभने ऊ सानैदेखि आफ्नो बिरादरी भन्दा पनि मालिकहरूको नजिक थियो । मानिस आफ्नो जराबाट काटिँदा कति एक्लो हुन्छ भन्ने कुरा यसले देखाउँछ ।
साबिककी पत्नी गजालाको माइती हिन्दूबाट मुसलमानमा कन्भर्ट भएको सेठ परिवार हुन्छ र उनीहरूलाई यही कारणले गर्दा समाजले मन पराएको हुँदैन । त्यस्तो परिवारकी कन्यासँग विवाहको आँट गरेर साकिबले आफूलाई जोशिलो साबित गर्न खोज्छ तर त्यसको परिणाम पछि उसले भोग्नुपर्छ ।
कतिपय पाठकहरूका लागि यो पुस्तक निराशावादी प्रतीत हुन सक्छ । यसमा मानवीय आशाका क्षणहरू निकै कम छन् । तर, पाठकलाई खुसी पार्नु भन्दा पनि समाजको तीतो सत्य देखाउनु लेखकको उद्देश्य हो ।
मुईनुद्दीनले यस कृति मार्फत समाजको गहिरो शल्यचिकित्सा गरेका छन् । समाजका कुहिएका अंगहरूलाई बिना कुनै हिचकिचाहट उनी बाहिर ल्याइदिन्छन् । यो पुस्तक एकपटक पढेर पुग्दैन । यसलाई मनन गर्न र यसभित्र लुकेका प्रतीकहरूलाई बुझ्न पुनः अध्ययन जरुरी हुन्छ ।
‘दिस इज ह्वेयर द सर्पेन्ट लिभ्स’ उत्कृष्ट साहित्यिक उपलब्धि हो । यसले हामीलाई हाम्रै वरिपरि रहेका ‘सर्पहरू’ चिन्न मद्दत गर्छ । गम्भीर साहित्य, सामाजिक यथार्थवाद र मानव मनको अँध्यारो पाटो अध्ययन गर्न रुचि राख्ने पाठकका लागि यो उपन्यास संग्रहणीय कृति हो । मुईनुद्दीनले शब्दहरू मार्फत कोरेको क्यानभास लामो समयसम्म पाठकको मस्तिष्कमा ताजा रहिरहनेछ ।








प्रतिक्रिया