
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै नेपालमा पनि सवारी साधनको भाडा उल्लेख्य रूपमा वृद्धि हुने भएको छ।
यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार १९ प्रतिशतसम्म भाडा बढाउनुपर्ने प्रस्ताव गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको परामर्शपछि मात्रै अन्तिम निर्णय लिने अडान लिएका छन्।
मन्त्री लम्सालको यो अडानसँगै तत्कालका लागि भाडा वृद्धिको निर्णय रोकिएको छ, जसले सर्वसाधारणलाई केही दिनका लागि भए पनि राहत दिएको छ।
यातायात व्यवस्था विभागले मन्त्री लम्सालसमक्ष भाडा समायोजनको प्रस्ताव पेस गरिसकेको छ। तर, मन्त्री लम्सालले यो विषयमा आफ्नो ‘टिम’ सँग छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन्।
मन्त्रीले भनेको ‘टिम’ मा प्रधानमन्त्री बालेन शाह र उनका सहयोगीहरू छन्।
बालेन काठमाडौं महानगरको मेयर हुँदा लम्साल उनकै भौतिक पूर्वाधार सल्लाहकार थिए। सोही राजनीतिक र कार्यगत निकटताका कारण मन्त्री लम्सालले महत्त्वपूर्ण निर्णय लिनुअघि प्रधानमन्त्रीसँगको राजनीतिक परामर्शलाई प्राथमिकता दिएका हुन्।
पछिल्लो समय इरान(इजरायल तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। यसको सीधा असर नेपालमा परेको छ ।
डिजेलको मूल्यस् विगत एक महिनामा मात्रै प्रतिलिटर ४० रुपैयाँले वृद्धि भएको छ। वैज्ञानिक प्रणालीस् इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ हुँदा भाडा समायोजन गर्नुपर्ने प्रावधान छ।
अन्य सूचकस् टायर, लुब्रिकेन्ट र पार्टपुर्जाको मूल्यमा भएको वृद्धिका कारण पनि भाडा बढाउनुपर्ने दबाब छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार, यी सबै सूचकलाई आधार मान्दा भाडा करिब १९ प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ।
लामो समयदेखि भाडा समायोजन नहुँदा यातायात व्यवसायीहरू रुष्ट बनेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले विभेद गरेको आरोप लगाएका छन्।
‘हवाइजहाजले इन्धनको मूल्य बढ्नेबित्तिकै भाडा बढाउन पाउँछन्, तर सडकमा गुड्ने गाडीका लागि किन ढिलाइ ?’, सिटौलाले प्रश्न गरे, ‘वैज्ञानिक प्रणाली कार्यान्वयन नहुँदा व्यवसायीहरू मन्त्रीको ढोका ढकढकाउन बाध्य छन्।’
पछिल्लो पटक २०८१ पुस २२ मा भाडा समायोजन भएको थियो। अहिले विभागले मन्त्रालयलाई नै निर्णयको स्वामित्व लिन आग्रह गरेको छ। मन्त्री र प्रधानमन्त्रीबीचको आगामी छलफलले भाडा कति र कहिलेदेखि बढाउने भन्ने टुंगो लगाउनेछ।
त्यतिन्जेलसम्मका लागि भने यात्रुहरूले पुरानै भाडामा यात्रा गर्न पाउनेछन्। तर, इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण भाडा वृद्धि अबको केही दिनभित्रै निश्चित प्रायः देखिएको छ।








प्रतिक्रिया