अञ्जन श्रेष्ठले प्यानल बनाएर अघि बढे म पनि अर्को पक्षमा खुलेर लाग्न बाध्य हुन्छु

413
Shares

उद्योग वाणिज्य महासंघमा प्रवेश गर्दादेखि नै कार्यसमितिको सदस्यको भूमिका होस् या पदाधिकारीको, मैले सधैं सर्वसम्मति पद्धतिको वकालत गर्दै आएको छु । म आफैँ पनि सर्वसम्मत रूपमा उपाध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित भएको अनुभवले सहमति र सहकार्यले नै संस्थालाई बलियो बनाउँछ भन्ने लाग्दछ । यही मान्यताका आधारमा मैले पदाधिकारी मात्र नभई, प्रदेशका अध्यक्षहरू पनि सर्वसम्मत हुनुपर्छ भनेर दृढतापूर्वक आवाज उठाएको हुँ ।

खुसीको कुरा, यो प्रयासले सार्थकता पाउन थालेको छ । एउटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया लगभग टुङ्गिएको छ, अब केवल औपचारिक घोषणा हुन मात्रै बाँकी छ । यदि हामीले सही उद्देश्य र पवित्र भावनाका साथ इमान्दार प्रयास ग¥यौँ भने सबै प्रदेश र अन्ततः केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मत नेतृत्व सम्भव छ । ‘कर्म गर, फल स्वतः प्राप्त हुन्छ’ भन्नेमा मेरो विश्वास छ ।

म कुनै स्थापित व्यावसायिक घराना वा पृष्ठभूमिबाट आएको व्यक्ति होइन । शून्यबाट सुरु गरेर आज उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्नुको पछाडि मेरो इमान्दार प्रयास र अनवरत मेहेनत छ मलाई लाग्छ ।

मेरो अध्यक्षको चुनावताका सायदै सबै स्थापित शक्ति र पूर्व पदाधिकारीहरू एकातिर थिए, तर पनि म सफल भएँ । यही अनुभवले मेरो मान्यताप्रतिको विश्वासलाई अझ प्रगाढ बनाएको छ र म विगत पन्ध्र–सोह्र वर्षदेखि यही मान्यतामा अडिग छु ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रणालीको आफ्नै महत्व र उद्देश्य छ । यसको मूल मर्म भनेको भावी नेतृत्वलाई तयार पार्नु र नेतृत्व हस्तान्तरणको प्रक्रियालाई सहज बनाउनु हो । वरिष्ठ उपाध्यक्षको भूमिका सो अवधिसम्म तटस्थ रहेर संस्थाको बृहत्तर हितमा काम गर्नु हो ।

तर, जब वरिष्ठ उपाध्यक्षले नै ‘मेरो प्यानल’ भनेर खुलेआम चुनावी प्रचार सुरु गर्नुहुन्छ, तब यो प्रणालीको मर्म र भावनामाथि नै गम्भीर प्रहार हुन्छ । यस्तो अभ्यासले संस्थालाई कहाँ पु¥याउला? यो गम्भीर चिन्ताको विषय हो । त्यसैले, म अझै केही दिन सर्वसम्मतिका लागि प्रयास गर्नेछु । तर, यदि वर्तमान नेतृत्वले संस्थागत प्रक्रियालाई लत्याएर प्यानल नै बनाएर अघि बढ्छ भने, म पनि अर्को पक्षका उम्मेदवारहरूको पक्षमा खुलेर लाग्न बाध्य हुनेछु । यो मेरो स्पष्ट अडान हो ।

मैले नेतृत्व सम्हाल्दा गरेका पाँच प्रमुख प्रतिबद्धताहरू लगभग सबै पूरा भएका छन् । मेरो कार्यकालमा उठाइएका एजेन्डाहरू कार्यान्वयन भइसकेकाले अब आउने नयाँ कार्यसमितिलाई काम गर्नका लागि एउटा बलियो जग तयार भएको छ । यद्यपि, मेरो कार्यकालको एउटा महत्पपूर्ण तर बाँकी रहेको काम ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना’ हो ।

विगतमा, हरेक राजनीतिक आन्दोलन र अस्थिरतामा निजी क्षेत्रलाई तारो बनाइयो । निजी क्षेत्रलाई केवल नाफा कमाउने समूहको रूपमा हेर्ने गलत दृष्टिकोण हाबी भयो । तर, हामीले बुझ्नुपर्छ कि निजी क्षेत्र नाफाका लागि मात्र होइन, यो देशको अर्थतन्त्रको मेरुदण्ड हो ।

देशको ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने, कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशतभन्दा बढी योगदान दिने, राजस्व संकलन र पूर्वाधार निर्माणको महत्त्वपूर्ण खम्बा नै निजी क्षेत्र हो । यही यथार्थलाई स्थापित गर्न र निजी क्षेत्रको सम्मान सुनिश्चित गर्न हामीले यो योजना अघि सारेका थियौं ।

जसरी शिक्षण संस्थाहरूलाई ‘शान्ति क्षेत्र’ घोषणा गरिन्छ, त्यसरी नै व्यावसायिक प्रतिष्ठानहरूमा हुने आक्रमण र हस्तक्षेप रोकेर उद्यमशीलताका लागि सुरक्षित वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य थियो । यो योजनाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेछ भन्नेमा म विश्वस्त छु । अब आउने नेतृत्वले यसलाई अगाडि बढाउनेछ भन्ने मेरो अपेक्षा छ ।

(नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहको वस्तुगततर्फको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष चन्द्र ढकालले व्यक्त गरेको विचार)