ओली र लेखकलाई हिरासतमा राख्न गरिएको माग मनासिब: अदालत

0
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

शनिबार पक्राउ परेका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । स्वास्थ्य अवस्थाका कारण ओली भने भर्चुअल माध्यमबाट इजलासमा जोडिएका थिए ।

न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवैलाई हिरासतमा राख्नु आवश्यक देखिएको ठहर गरेको हो । सरकारी वकिलले अनुसन्धानका लागि समय आवश्यक रहेको भन्दै तीन आधार प्रस्तुत गर्दै म्याद थप माग गरेका थिए।

अदालतले प्रतिवादीहरूको बयान लिनुपर्ने, घटनासम्बन्धी अन्य व्यक्तिहरूको विवरण संकलन गर्नुपर्ने तथा भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन–विश्लेषण गर्नुपर्ने देखिएको उल्लेख गरेको छ। सोही आधारमा अदालतले ५ दिनको म्याद थप अनुमति दिएको हो।

‘प्रस्तुत मुद्दामा प्रतिवादीहरूको बयान गर्न, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्न तथा भदौ २३ /२४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्ने लगायतको प्रयोजनका लागि प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्न अनुमति माग गरेको र अनुमति माग गरेको व्यहोरा मनासिब देखिँदा प्रतिवादीहरू केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि ५ दिन म्याद थपको अनुमति प्रदान गरिदिएको छ,’ आदेशमा भनिएको छ।

यसैबीच, अस्पतालमा रहेका ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको व्यवस्था गर्न पनि अदालतले आदेश दिएको छ।