देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तिव्र, प्रमाण नष्ट हुने भन्दै घर भत्काउन रोक

532
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धानलाई तिव्रताका साथ अघि बढाएको छ ।

सोही क्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ भने बूढानीलकण्ठस्थित उनको निवास भत्काउने काममा प्रहरीले रोक लगाएको छ ।

प्रमाण नष्ट हुनसक्ने आशंकामा घर भत्काउने कार्य रोकिएको प्रहरी स्रोतले जनाएको छ । जेनजी बिद्रोहका क्रममा आगजनी भएको देउवाको निवास केही दिनअघि भत्काउन थालिएको थियो ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको उक्त घर अनुसन्धानका लागि महत्वपूर्ण प्रमाण बन्न सक्ने भन्दै सुरक्षित राख्न निर्देशन दिइएको हो ।

यसअघि देउवा परिवारविरुद्ध अस्वाभाविक तथा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । संकलित प्रमाण र सूचनाको आधारमा अनुसन्धानलाई थप अघि बढाइएको स्रोतको दाबी छ।

पछिल्लो एकदेखि डेढ वर्षको अवधिमा देउवाका छोरा जयवीर देउवा तथा उनका नजिकका नातेदारका नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण समेत संकलन गरिएको छ । त्यस्तै, प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतका व्यक्तिहरूबाट विभिन्न खातामा भएको कारोबारबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणा देउवाकोसम्भावित संलग्नता तथा नेपाल टेलिकमको बिलिङ अनियमिततासम्बन्धी विवादास्पद निर्णयपछि भएका आर्थिक कारोबारबारे पनि छानबिन भइरहेको छ ।

बूढानीलकण्ठस्थित एउटै कम्पाउण्डभित्र रहेका दुईवटा बंगला जेनजी आन्दोलनका क्रममा आक्रमण तथा आगजनीबाट क्षतिग्रस्त भएका थिए । आगलागीका क्रममा ठूलो मात्रामा नगद जलेको भिडियोहरू सार्वजनिक भएका थिए । सो नगदको स्रोत र परिमाणबारे पुनः अनुसन्धान गर्न घरलाई प्रमाणका रूपमा सुरक्षित राखिएको हो ।

केही दिनयता देउवा परिवारले क्षतिग्रस्त भवन भत्काउन कामदार परिचालन गरेको भए पनि अनुसन्धानमा असर पर्न सक्ने भन्दै उच्चस्तरीय निर्देशनमा उक्त कार्य तत्कालका लागि रोकिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य उपचारका लागि भन्दै कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा दम्पत्ति फागुन २१ को निर्वाचन अघि सिंगापुर गएका थिए र हाल उनीहरू हङकङमा रहेका छन् ।