
काठमाडौं । भदौ २३/२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । प्रतिवेदन प्राप्त भएसँगै कार्यान्वयनको काम तत्कालै सुरू गरिने परिसरले जनाएको छ ।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गृह मन्त्रालयबाट कार्यान्वयनका लागि पत्रसहित प्रतिवेदन आएपछि आफ्नो कार्यक्षेत्रभित्रका कामहरू अघि बढाइनेछ । ‘हामी कहाँ प्रतिवेदन आइपुगेको छ, अब कार्यान्वयनको चरणमा जान्छौं,’ उनले भने ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो ।
सोही निर्णयअनुसार प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालय, त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमार्फत जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो ।
प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरू भएसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । आयोगले जेनजी आन्दोलनका क्रममा भएको हत्या घटनामा उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो ।
यसैबीच, प्रतिवेदनमा उल्लेख भएका अन्य व्यक्तिहरूको पहिचान तथा पक्राउ प्रक्रिया पनि सुरू गरिने प्रहरीले जनाएको छ । सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा भने थप अध्ययनपछि कारबाही अघि बढाइने बताइएको छ ।








प्रतिक्रिया