दालसहितका गेडागुडी बेच्ने सूर्य पल्स एन्ड प्रोसेसिङले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार

63
Shares

काठमाडौं । नेपाली बजारमा जुनेली ब्रान्डको खाद्यान्न बेच्ने सूर्य पल्स एन्ड प्रोसेसिङले एकै वर्ष पौने २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ५३ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ४८ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा १८ प्रतिशतले बढेको छ । कम्पनीअनुसार गत आवमा उच्च परिमाणमा बिक्री हुँदा र मूल्यमा वृद्धि हुँदा व्यापार बढेको उल्लेख छ ।

कम्पनीले गत आवमा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । साथै, कम्पनीको कुल नगद सञ्चय ८ करोड २० लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको ट्याङ्जिबल नेट वर्थ बढेर ४६ करोड रुपैयाँ पुगेको छ, जबकि कुल ऋण ३९ करोड ५० लाख रुपैयाँ पुगेको छ । जसका कारण समग्र गियरिङ ०.८६ गुणाले सुधार भएको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१३ देखि विभिन्न खाद्यान्न आयात गरी बजारमा व्यापार गर्दै आएको छ । कम्पनीले आयातित खाद्यान्न प्रशोधन गरी जुनेली ब्रान्डमा बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले मसुर दाल, अस्ट्रेलियन चना/दाल, मास दाल, हरियो मुङ दाल, रहर दाल, हरियो केराउ, सेतो केराउ, पपकोर्न, राज्मा आदिको व्यापार गर्दै आएको छ । कम्पनीले विभिन्न प्रकारका दालसँगै गाईवस्तुको दाना, चुन्नी, तिवार कनिकाको पनि कारोबार गर्दै आएको छ ।

काठमाडौं र झापामा डिपो रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९८ करोड १५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो । मिन्डा परिवारद्वारा सञ्चालित कम्पनीको अध्यक्ष सञ्जयकुमार मिन्डा छन् ।