युक्रेन युद्ध जारी राख्नका लागि पुटिनले धनाढ्यहरूसँग मागे सहयोग

231
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमण जारी राख्नका लागि देशको घट्दो रक्षा बजेटमा योगदान गर्न रुसका कुलीन वर्ग (ओलिगार्क) हरूलाई आग्रह गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार, सन् २०२२ फेब्रुअरीमा सुरु भएको यस द्वन्द्वलाई रुसी राष्ट्रपतिले मस्कोको नियन्त्रणमा नरहेका युक्रेनको पूर्वी डोनबास क्षेत्रका बाँकी भागहरू कब्जा नगरेसम्म जारी राख्ने अपेक्षा गरिएको छ ।

बिहीबार भएको वार्तापछि कम्तीमा दुईजना व्यवसायीले रक्षा बजेटमा योगदान गर्न इच्छुक रहेको पुटिनलाई बताएको सो पत्रिकाले रिपोर्ट गरेको छ ।

अमेरिकाको मध्यस्थतामा हालै भएका वार्ताहरूमा युक्रेनले डोनबासबाट एकतर्फी रूपमा पछि हट्न अस्वीकार गरेपछि पुटिन आक्रमणलाई अगाडि बढाउने पक्षमा रहेको बुझिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले परिस्थिति अनुकूल हुनासाथ शान्ति सम्झौताका लागि नयाँ चरणको वार्ताका बारेमा रुस अमेरिकाको सम्पर्कमा रहने बताएका छन् ।

रुसले शान्ति वार्तामा चासो नगुमाएको तर भूभाग लगायतका मुख्य मुद्दाहरू अझै सुल्झिन बाँकी रहेको पेस्कोभले बताए ।

क्रेमलिनको रक्षा खर्च गत वर्ष ४२ प्रतिशतले बढेर १३.१ ट्रिलियन रुबल पुगेको छ र उसले कर प्रणालीमार्फत आफ्नो अर्थतन्त्रलाई स्थिर बनाउन खोजेको छ ।

अर्थमन्त्री म्याक्सिम रेशेतनिकोभले बिहीबार रुबल (रुसी मुद्रा) अझै कमजोर हुँदै गएमा रुसले यस वर्ष अर्को विन्डफल ट्याक्स (आकस्मिक लाभ कर) लगाउने विचार गरिरहेको बताए । रुसले सन् २०२३ मा केही ठूला कम्पनीहरूमा १० प्रतिशतको एकपटकको आकस्मिक लाभ करमार्फत ३२० अर्ब रुबल संकलन गरेको थियो ।

जनवरीमा क्रेमलिनले साना तथा मझौला उद्योगहरूबाट तीन वर्षमा थप ६०० अर्ब रुबल उठाउने लक्ष्यका साथ भ्याट बढाएर २२ प्रतिशत पुर्याएको छ ।

अमेरिकी प्रतिबन्धका कारण मस्कोले निकै सस्तो मूल्यमा तेल बेच्न बाध्य भएपछि जनवरी र फेब्रुअरी महिनाको रुसको बजेट घाटा पूरै वर्षका लागि प्रक्षेपण गरिएको अंकको ९० प्रतिशतभन्दा बढी पुगेको छ ।

यसअघि पुटिनले मध्यपूर्वको युद्धका कारण तेलको मूल्य बढेर भएको अतिरिक्त आम्दानी कसरी खर्च गर्ने भन्ने निर्णय गर्दा रुसी कम्पनी र सरकारले सतर्क दृष्टिकोण अपनाउनुपर्ने चेतावनी दिएका थिए ।

मस्कोमा व्यवसायीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हाम्रा परम्परागत निर्यात वस्तुहरूको मूल्य बढिरहेको छ तर बजार उथलपुथल छ । यस्तोमा स्थितिको फाइदा उठाउने प्रलोभन हुन सक्छ ।’

यस प्रलोभनमा अतिरिक्त राजस्व खेर फाल्ने, कम्पनीको लाभांशको रूपमा वितरण गर्ने वा राज्यको हकमा बजेट खर्च विस्तार गर्ने कार्यहरू पर्न सक्ने पुटिनले थपे ।

उनले थपे, ‘हामी विवेकशील रहनुपर्छ । बजार आज एकातिर ढल्केको छ भने भोलि अर्कोतिर ढल्कन सक्छ ।’

‘कर्पोरेट क्षेत्र र सार्वजनिक वित्त दुवैमा मध्यम स्तरको सतर्कता र संयमित दृष्टिकोण आवश्यक छ ।’

बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रोयटर्सलाई बताएअनुसार, अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि सुरक्षा ग्यारेन्टीको प्रस्ताव गरिरहेको छ तर त्यसका लागि कीभले देशको सम्पूर्ण पूर्वी डोनबास क्षेत्र रुसलाई सुम्पिनुपर्ने शर्त राखेको छ ।

जेलेन्स्कीले भने, ‘मध्यपूर्वको अवस्थाले राष्ट्रपति ट्रम्पलाई पक्कै पनि प्रभाव पारेको छ र मलाई लाग्छ यसले उनको आगामी कदमहरूमा पनि प्रभाव पार्नेछ ।’

‘दुर्भाग्यवश, राष्ट्रपति ट्रम्प अझै पनि युक्रेनी पक्षमाथि बढी दबाब दिने रणनीति नै रोजिरहेका छन् । म अमेरिकी पक्षले यो कुरा बुझोस् भन्ने चाहन्छु कि हाम्रो देशको पूर्वी भाग हाम्रो सुरक्षा ग्यारेन्टीको एक हिस्सा हो ।’