
काठमाडौं । तीनतारे स्तरको होटल ले हिमालय पाँचतारे स्तरको बन्ने भएको छ । आईएमई ग्रुपको आईएमई हस्पिटालिटीले लिजमा चलाइरहेको यो होटल १ सय २० वटा कोठाको क्षमतासहित पाँचतारे स्तरमा स्तरोन्नती हुने भएको हो ।
यो होटलको प्रोपर्टी भीमबहादुर रोकाको नाममा छ । उनले होटल पछाडी रहेको १० रोपनी जग्गामा संरचना विस्तार गरेर पाँचतारे होटल बनाउन लागेको क्लिकमान्डुलाई जानकारी दिए ।
हाल यो तीनतारे स्तरको ले हिमालय बाइ आईएमई हस्पिटालिटीको नाममा सञ्चालनमा छ ।
यो होटल रोकाले सन् २०१७ मा किनेका थिए । त्यसपछि साबिकको होटल ग्याङजोङ नाम परिवर्तन गरेर ले हिमालय राखे । त्यसयता यो होटल बेस्ट रिसार्ट नेपालले व्यवस्थापन गरिसकेको छ । २०२४ डिसेम्बरदेखि यसको नाम होटल ले हिमालय बाइ आईएमई हस्पिटालिटी भएको हो ।
हाल यो होटलमा ५० कोठामात्र छन् ।
रेटिङ एजेन्सी केयरका अनुसार निर्माण कार्य ३ अर्ब ३२ करोड रुपैयाँमा सम्पन्न हुनेछ । जसमध्ये १ अर्ब ६० करोड रुपैयाँ कर्जा र १ अर्ब ७२ करोड रुपैयाँ इक्विटीमा निर्माण हुनेछ । हालसम्म होटल निर्माणमा २२ करोड ऋण र २१ करोड रुपैयाँ स्वपुँजी खर्च भइसकेको छ । केयरका अनुसार हालसम्म कुल लागतको १३ प्रतिशत खर्च भइसकेको हो ।
रेटिङअनुसार होटलको स्तरोन्नतिका लागि १ अर्ब ६० करोड रुपैयाँ कर्जा लिई लगानी गर्ने भएकामा केयरले सो कर्जाका लागि डबल बी माइनस रेटिङ दिएको छ । यो नयाँ रेटिङ हो ।
होटल ले हिमालयन काठमाडौंको लाजिम्पाटमा अवस्थित छ, जुन एक प्राइम लोकेशन हो । यहाँबाट ठमेल (१ किमी) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (५ किमी) नजिकै पर्छन् । नजिकै दूतावास र कर्पोरेट अफिसहरू भएकाले पाहुनाहरूको चहलपहल राम्रो हुने केयरको बुझाइ छ ।
सरकारले सन् २०२३–२०३३ लाई ‘पर्यटन दशक’ घोषणा गरेको छ र आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्रका लागि १३.२८ अर्ब विनियोजन गरेको छ । यसले होटल व्यवसायलाई दीर्घकालीन फाइदा पुर्याउने देखिन्छ ।
होटलमा क्यासिनो, फिटनेस सेन्टर, ब्याङ्क्वेट हल, अडिटोरियम, कन्फरेन्स हल, पौडी पोखरी र स्पालगायत सुविधा रहनेछन् ।
आगामी दिनमा होटलले तोकिएको समय र लागत भित्र आयोजना सम्पन्न गर्न सक्छ कि सक्दैन र सञ्चालनमा आएपछि कस्तो व्यापार गर्छ भन्ने कुराले यसको रेटिङमा सुधार वा गिरावट ल्याउने केयरको भनाई छ ।
होटलका संस्थापक रोकाको हस्पिटालिटी, इन्भेस्टमेन्ट र म्यानपावर क्षेत्रमा अनुभव छ । हाल उनी याक्का इन्भेष्टमेन्ट, गोर्खाज एसोसियट्स र भिल्ला सेभेन्टी टुमा आबद्ध छन् ।

रेटिङ एजेन्सी केयरका अनुसार कम्पनीको लगानीकर्ताहरुसँग हाल परियोजनाको केही जग्गा स्वामित्वमा छ । जुन कम्पनीमा हस्तान्तण गर्ने कार्य प्रक्रियामा छ । लगानीकर्ताहरुले होटलसँगैको अन्य जग्गा खरिद कार्य गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।
कम्पनीले हाल सञ्चालनमा रहेको होटलको स्तरोन्नती र क्षमता विस्तारसहित क्यासिनो, फिटनेस सेन्टर, ब्याङ्क्वेट हल, अडिटोरियम र कन्फरेन्स सुविधाको पनि स्तरोन्नति हुनेछ ।
रोकाले होटल पाँचतारेमा स्तरोन्नति भएपछि व्यवस्थापनका लागि म्यारियट कोर्टयार्डसँग कुरा भइरहेको बताए ।
‘कुल १२ रोपनी जग्गामा हुने गरी पाँचतारे होटल बनाउँदैछु, व्यवस्थापनका लागि म्यारियट कोर्टयार्डसँग पनि कुरा भइरहेको छ । होटलमा क्यासिनो, अपार्टमेन्ट लगायतको पनि सुविधा हुने,’ रोकाले भने । उनले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने योजना बनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकालको आईएमई ग्रुपले ले हिमालय चलाइरहेको छ । आईएमई हस्पिटालिटीको काठमाडौंको चन्द्रागिरी रिसोर्ट, बाग्लुङ र मौलाकालीमा इला रिसोर्ट र पोखरामा लेकसाइड रिट्रिट होटल सञ्चालनमा छ ।
*सच्याइएको ।








प्रतिक्रिया