१ अर्ब ३० करोड लागतको होटल अश्वत्थको दोस्रो चरणको काम सुरु

0
Shares

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा रहेको पाँचतारे होटलको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको छ ।

सन् २०१८ मा होटल अश्वत्थ प्रालिमा दर्ता भएको कम्पनीले पाँचतारे होटलको पहिलो चरणको निर्माण कार्य सम्पन्न गरी दोस्रो चरणको कार्य अगाडि बढाएको हो ।

काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघा क्षेत्रफलमा फैलिएको छ ।

होटलमा ८४ वटा कोठाको सुविधाका साथ क्यासिनोसँगै अन्य विभिन्न आधुनिक सुविधा हुने कम्पनीले जनाएको छ । होटलमा रेष्टुरेन्ट, जीम, स्वीमिङ पुल र अन्य सुविधा हुनेछ ।

कम्पनीले उक्त पाँचतारे होटल १ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागतमा निर्माण गर्ने योजना बनाएको छ । जसमा कम्पनीले लगानीको अनुपात ६९:३१ राखेको छ ।

कम्पनीले ४४ वटा कोठा निर्माण कार्य सम्पन्न गरी कारोबारसमेत सुरु भने गरिसकेको छ । हाल दोस्रो चरणमा ४० वटा कोठा र क्यासिनोको निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार हालसम्ममा लगानीकर्ताले प्रतिबद्धता जनाएकोमध्ये ११ करोड रुपैयाँ रकमको व्यवस्थापन भइसकेको छ भने कर्जा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । कम्पनीले हालसम्ममा ३९ प्रतिशत वित्तीय प्रगति गरेको छ । कम्पनीले सन् २०२७ को अप्रिलसम्ममा पूर्णरुपमा व्यवसायिक कारोबार गर्ने अनुमान गरेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीका अध्यक्ष प्रज्ज्वल घिमिरे हुन् ।