ग्यासबाट विद्युतीय चुलोमा उपभोक्ता ‘सिफ्ट’ हुँदै गर्दा बजारमा कस्तो प्रभाव पर्यो ?

364
Shares

काठमाडौं । मध्यपूर्वी तनावका कारण खाना पकाउने ग्यासको उपलब्धतामा अवरोध सिर्जना हुँदा अहिले नेपालको स्वदेशी बजारमा वैकल्पिक चुलोको माग उच्च परिमाणमा बढेको छ ।

अमेरिकी–इरान–इजरायलबीच बढेको तनाव र युद्धको असर विश्व ऊर्जा बजारसँगै नेपालीको भान्छा घरमा पनि स्पष्ट रूपमा देखा पर्न थालेको छ । खाना पकाउने ग्यास (एलपीजी) को उपलब्धता र आपूर्ति प्रणाली प्रभावित हुन थालेपछि आम उपभोक्ता वैकल्पिक चुलोतर्फ आकर्षित भएका छन् ।

शहरी क्षेत्रका उपभोक्ता ग्यास सिलिन्डरको वैकल्पिक उपायको रूपमा इन्डक्सन चुलो र इन्फ्रारेड चुलोतर्फ आकर्षित हुन थालेका छन् । ग्यास सिलिन्डरबाट सोझै विद्युतीय चुलोतर्फ आम उपभोक्ता सिफ्ट हुँदा बजारमा पनि त्यसको प्रत्यक्ष असर देख्न थालिएको छ ।

वैकल्पिक विद्युतीय चुलोतर्फ आम उपभोक्ता पहिलो पटक आकर्षित भएका भने होइनन् । भुइँचालो र नाकाबन्दीको समयमा यो चुलोतर्फ शहरी क्षेत्रका उपभोक्ताको आकर्षण बढेको थियो । अहिले ग्यासको असहज अवस्था सिर्जना भएसँगै फेरि विद्युतीय चुलोको बजारमा एकै पटक ठूलो परिमाणमा बूम भएको विक्रेता र उद्योगीको भनाइ छ ।

विक्रेताहरूका अनुसार पहिले वर्षमा ४ देखि ५ वटा बिक्री गर्न धौ–धौ परिरहेको अवस्थामा पछिल्लो समयमा दैनिक १० देखि २० जनासम्म विधुतमा आधारित इन्फ्रारेड र इन्डक्सन चुलो खरिद गर्न धाइरहेका छन् ।

यसरी एकै पटक बजारमा माग थपिएपछि उत्पादक कम्पनीहरूलाई पनि मागअनुसार उत्पादन गरेर बजारमा पठाउन समस्या भएको उद्योगीहरूले बताएका छन् ।

होम ग्लोरी होम अप्लायन्सका बिक्री विभागका अधिकारी रवी पोद्दारले पछिल्लो समयमा बजारमा विद्युतीय चुलोको माग ५० प्रतिशतले बढेको जानकारी दिए । पहिले मासिक रूपमा २० देखि ३० वटा बिक्री हुँदा अहिले दैनिक नै १०० देखि ३०० थानसम्म यस्तो चुलो बिक्री भइरहेको पोद्दारले जानकारी दिए ।

‘मध्यपूर्वी तनावका कारण आगामी दिनमा खाना पकाउने सिलिन्डरको समस्या हुन सक्छ भने शहरी क्षेत्रका उपभोक्ता विद्युतीय चुलोतर्फ निकै आकर्षित भएका छन्,’ पोद्दारले भने, ‘त्यसले गर्दा बजारमा अहिले माग निकै बढेको छ, अहिले करिब ५० प्रतिशतले माग बढेको छ । माग बढ्दा हामीले उत्पादन गर्न कच्चा पदार्थको अभाव हुन थालेको छ ।’

उनका अनुसार विद्युतीय चुलो उत्पादन गर्न उनको कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गर्थ्यो । तर पछिल्लो समयमा भारतमै अत्यधिक माग बढेपछि त्यहाँबाट कच्चा पदार्थ ल्याउन समस्या भएको छ ।

‘भारतमै अहिले दैनिक करिब १ लाखको हाराहारीमा विद्युतीय चुलोको माग र बिक्री भइरहेको छ, यसले गर्दा कच्चा पदार्थ त्यहीँ बढी खपत हुने भएर हामीलाई कच्चा पदार्थको केही अभाव भएको छ,’ पोद्दारले भने, ‘तैपनि हामीले बजारको मागअनुसार चुलो पठाइरहेका छौँ ।’

जडीबुटीस्थित इन्द्र किचेनका सञ्चालक सुरेश नेपालले पछिल्लो समयमा विद्युतीय चुलोको माग अत्यधिक बढेको जानकारी दिए । मागअनुसार चुलो उपलब्ध नहुँदा धेरै उपभोक्ता फर्केर जाने गरेको उनको भनाइ छ ।

‘पहिले वर्षमा ४–५ वटा मात्रै बिक्री हुन्थ्यो, तर पछिल्लो समयमा दैनिक १० देखि २० जना ग्राहक आइरहनुभएको छ,’ नेपालले भने, ‘मागअनुसार मैले ग्राहकलाई उपलब्ध गराउन सकेको छैन । बजारमा बाल्ट्रा, हुण्डाई, फेमस, हिमस्टार, डायमण्ड, होम ग्लोरी, बेटर जस्ता ब्रान्डका विद्युतीय चुलोको माग उच्च छ । तर उपलब्धता कम भएर मागअनुसार बिक्री गर्न पाइएको छैन ।’

नेपालको स्वदेशी बजारमा थरीथरी ब्रान्डका थरीथरी मोडल र सुविधा भएका इन्डक्सन र इन्फ्रारेड चुलोहरू बिक्री भइरहेका छन् । एउटा बर्नर भएको, दुई बर्नर भएको, मल्टि बर्नर (एउटैमा इन्डक्सन र इन्फ्रारेड दुवै भएको), आकार र वाट (ऊर्जा क्षमता), कम्बो र नन कम्बो (इन्डक्सनमा लाग्ने भाँडासेटसहित र भाँडा नभएको सेट) अनुसार फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् ।

गोल्छा समूहका भाइस प्रेसिडेन्ट प्रभाकरशमशेर थापाका अनुसार नेपालमा भूकम्प र नाकाबन्दीदेखि विद्युतीय चुलोको आकर्षण बढेको हो । वैकल्पिक ऊर्जा केन्द्रले क्लिन किचेन योजनाअन्तर्गत विद्युतीय चुलोलाई प्राथमिकतामा राखेर अनुदानमा इन्डक्सन चुलो वितरण कार्य सुरु गरेपछि नेपालीहरू यस्ता चुलोतर्फ आकर्षित भएका हुन् ।

अहिले मध्यपूर्वी तनावका कारण विद्युतीय चुलोतर्फ करिब ४ गुणाले आम उपभोक्ताको आकर्षण बढेको उनले बताए । तर बजारमा माग बढे पनि विद्युतीय चुलोको उपलब्धतामा भने कुनै समस्या नरहेको थापाले जानकारी दिए ।

‘अहिले करिब ४ गुणाले माग बढेको छ, तर बजारमा अभाव नै हुने गरी माग भने थपिएको छैन, मागअनुसार बजारमा पर्याप्त परिमाणमा आपूर्ति भइरहेको छ । आपूर्ति र मूल्यमा कहीँ कतै कुनै समस्या आएको छैन, स्मुथली रूपमा बजारको माग धानेको मलाई लाग्छ,’ थापाले भने ।

उनका अनुसार बजारमा पछिल्लो समयमा इन्डक्सनको तुलनामा इन्फ्रारेडको माग बढेको छ । इन्फ्रारेडमा सबै प्रकारका भाँडावर्तन प्रयोग गर्न मिल्ने, उपभोक्तामैत्री भएकाले चलाउन पनि सहज भएकाले उपभोक्ताले इन्फ्रारेड चुलो नै बढी रुचाएको उनको भनाइ छ ।

इन्डक्सन चुलो किन्न लगानी गर्नुपर्नेसँगै फेरि भाँडावर्तन पनि छुट्टै चाहिने भएर त्यसमा पनि लगानी लगाउनुपर्ने बाध्यताका कारण बजारमा इन्डक्सनको साटो इन्फ्रारेड चुलोको माग बढेको उनले बताए ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्सले हिमस्टार ब्रान्डमा विद्युतीय चुलोको उत्पादन र बजारीकरण गरिरहेको छ।

बजारमा ब्रान्ड, आकार, सुविधा, बर्नर, मल्टिफङ्सनलगायतको आधारमा ४ हजारदेखि ७ हजार रुपैयाँसम्म घरायसी इन्फ्रारेड र इन्डक्सन चुलो उपलब्ध छ । नेपालमै यस्ता चुलोको पूर्ण उत्पादन भने हुँदैन ।

नेपालका उद्योगीहरूले पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्ने र ब्रान्डिङ गर्दै आएका छन् भने केहीले बाहिरबाटै तयारी भएको चुलो ल्याएर त्यसमा आफ्ना ब्रान्डको नाम र लोगो उल्लेख गरी बजारीकरण गरिरहेका छन् ।

बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनले पनि विद्युतीय चुलो बिक्री गर्दै आएको छ । कर्पोरेसनका सहायक कार्यकारी प्रमुख संकेत कोइरालाले बजारमा हौसिने गरी माग नबढेको जानकारी दिए ।

‘पहिलेको तुलनामा पक्कै पनि केही माग बढेको छ, तर हौसिने गरी माग बढेको छैन, हामीले पहिलेदेखि नै बिक्री गरिरहेकाले अहिले पनि बिक्री गरिरहेका छौँ,’ कोइरालाले भने, ‘जुन बेला ग्यासको अभाव हुन्छ, त्यो बेला मात्रै विकल्पको रूपमा विद्युतीय चुलोलाई सम्झिने भएकाले थोरबहुत बिक्री बढेको छ । ग्यासको उपलब्धता भएसँगै फेरि यसको खपत र बिक्री दर घट्छ ।’

कर्पोरेसनले बाल्ट्रा ब्रान्डको कम्बो सेट (इन्डक्सन चुलो, त्यसमा लाग्ने प्रेसर कुकर र एक थान कराई) उपलब्ध गराउँदै आएको छ । यस्तै नन कम्बो सेट (चुलो मात्र) पनि बिक्री गर्दै आएको छ ।

कति हुन्छ आयात ?

बजारमा माग अत्यधिक बढे पनि औपचारिक रूपमा आयात भने ठूलो परिमाणमा नभएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । हुन त फागुन महिनाको दोस्रो सातादेखि यस्ता विद्युतीय चुलोको माग बढेको पाइएको थियो । यसको असर चैत महिनाको आयात तथ्याङ्कमा मात्रै देखिनेछ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार गत माघ महिनाको तुलनामा फागुन महिनामा १ करोड ३९ लाख रुपैयाँ बराबरको ८ हजार २ सय ३१ थान तयारी इन्फ्रारेड र इन्डक्सन चुलो नेपालमा भित्रिएको थियो । आयात भएको चुलोमध्ये पनि इन्डक्सन चुलोको संख्या अत्यधिक छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालमा २९ करोड २ लाख १० हजार रुपैयाँ बराबरको १ लाख ३९ हजार ६ सय ३३ थान विद्युतीय चुलो आयात भएको थियो । यस्तै फागुनसम्मको अवधिमा ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बराबरको १ लाख ४७ हजार ८ सय ६४ थान ती दुवै प्रकारका चुलो नेपालमा आयात भएको थियो । नेपालमा सबैभन्दा बढी चीन र दोस्रोमा भारतबाट आयात हुन्छ । त्यसपछि बंगलादेश, युएई, युके, मलेसिया, युगान्डा, कतार, सिंगापुरलगायतका मुलुकबाट आयात हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा भने ४६ करोड ९१ लाख ६७ हजार रुपैयाँ बराबरको २ लाख ३९ हजार १ सय ७२ थान विद्युतीय चुलो आयात भएको थियो ।

कस्तो छ, विश्वबजारको अवस्था ?

अमेरिकी–इरान–इजरायलबीच बढेको पश्चिमी एसियाली तनाव र युद्धको असर विश्व ऊर्जा बजारसँगै घरायसी भान्छा प्रविधिमा पनि स्पष्ट रूपमा देखा परेको छ ।

विश्व बजारमा अहिले यी दुवै चुलोको बजार निकै बढेको छ । केही मुलुकमा त यसको माग १० गुणासम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औंल्याएका छन् ।

फ्युचर मार्केट इनसाइटका अनुसार सन् २०२५ सम्म इन्डक्सन चुलोको बजार २३.६ अर्ब अमेरिकी डलरको थियो । आगामी सन् २०३५ सम्ममा यो बजार बढेर ३७ अर्ब अमेरिकी डलरसम्म पुग्ने आकलन गरिएको छ । यस्तै इन्फ्रारेड चुलोको बजार आगामी सन् २०३३ सम्ममा २३३ मिलियन अमेरिकी डलर पुग्ने बताइएको छ ।

ऊर्जा दक्षता, कम ताप उत्सर्जन, सुरक्षित खाना पकाउने प्रविधि र स्मार्ट किचेन प्रविधिका कारण यस्ता चुलोको बजार हिस्सा बढ्ने भएको छ ।

युद्धपछि तेल र ग्यासको आपूर्ति श्रृंखला प्रभावित भएकाले विद्युतीय चुलोको बजार अत्यधिक परिमाणमा बढेको हो । यस्तै एलपी ग्यासको आपूर्ति प्रणाली घट्ने र मूल्य बढ्न सक्ने आशंकाका कारण पनि यस्ता चुलोको बजार हिस्सा बढ्दै गएको हो ।

पछिल्लो समयमा भारतमा मात्रै इन्डक्सन चुलोको बिक्री ३० गुणासम्म वृद्धि भएको पाइएको छ । केही ई–कमर्स प्लेटफर्ममा विद्युतीय चुलोको स्टकसमेत सकिएको छ । यस्तै खुद्रा बजारमा १० गुणा बिक्री बढेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतमा ग्यासको आपूर्तिमा आएको संकटका कारण विद्युतीय चुलोको ठूलो माग बढेको छ । घरपरिवार र रेस्टुरेन्टमा समेत विद्युतीय चुलोको अत्यधिक प्रयोग दर बढेपछि माग बढेको हो ।

बजारको मागलाई धान्न भारतका इन्डक्सन चुलो उत्पादकहरूले उत्पादन क्षमता ७० प्रतिशतबाट वृद्धि गरी अहिले शतप्रतिशत पुर्‍याएका छन् ।

इन्डक्सन र इन्फ्रारेड चुलोको सबैभन्दा ठूलो उत्पादक मुलुक चीनमा पनि ग्यासको अभाव हुन थालेपछि यस्ता चुलोको अत्यधिक माग बढेको छ ।

जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेसियालगायतका मुलुकमा पनि पछिल्लो समयमा विद्युतीय चुलोको मागमा उच्च परिमाणमा वृद्धि भएको छ ।

युद्धअघिसम्म भारतमा दैनिक करिब १५ हजार गोटासम्म बिक्री हुने यस्ता चुलोको बिक्री अहिले दैनिक १ लाखसम्म पुगेको छ । भारतमै ई–कमर्सबाट यस्ता चुलो खरिद गर्ने उपभोक्ताको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

ई–कमर्स प्लेटफर्म अमेजनमा ३० प्रतिशत र फ्लिपकार्टमा ३ गुणाले विद्युतीय चुलोको माग बढेको छ ।

युद्धपछि भारतमा अहिले ८५, चीनमा ४०, अमेरिकामा ७०, युरोपमा ५०, जापानमा ४०, दक्षिण कोरियामा ५० र दक्षिण पूर्व एसियामा ६० प्रतिशतले विद्युतीय चुलोको माग बढेको छ ।

युद्धपछि एसियाली मुलुकमा दैनिक ४ लाख, युरोपमा १ लाख र अमेरिकामा ६० हजार गोटासम्म विद्युतीय चुलोको बिक्री भइरहेको छ ।

एलपी ग्यासको विकल्पमा आम उपभोक्ताले इन्डक्सन र इन्फ्रारेड चुलो विकल्पको रूपमा प्रयोगमा ल्याएपछि अहिले यस्ता चुलोको मूल्यसमेत ह्वात्तै बढेको छ ।

युद्धअघिसम्म ३ हजार ५ सय रुपैयाँमा पाइने सामान्य मोडेलको इन्डक्सन चुलोको मूल्य बढेर अहिले ४५०० रुपैयाँ पुगेको छ । यस्तै ७ हजार रुपैयाँ पर्ने मध्यम मोडेलको मूल्य बढेर अहिले ९ हजार र २० हजार रुपैयाँ पर्ने प्रिमियम मोडेलको इन्डक्सनको मूल्य बढेर अहिले २५ हजार रुपैयाँ पुगेको छ ।

उता इन्फ्रारेड चुलोतर्फ ५ हजार रुपैयाँ पर्ने बेसिक मोडेलको मूल्य बढेर ६५०० रुपैयाँ पुगेको छ । ९ हजार रुपैयाँ पर्ने मध्यम मोडेलको मूल्य १२ हजार र ५० हजार रुपैयाँ पर्ने कमर्सियल मोडेलको मूल्य बढेर ७० हजार रुपैयाँ पुगेको छ ।

कहाँ हुन्छ अत्यधिक उत्पादन ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस्ता इन्डक्सन चुलो र इन्फ्रारेड चुलो मुख्य गरी चीन, जापान, दक्षिण कोरिया, युरोप र भारतमा उत्पादन हुन्छ ।

यसमध्ये सबैभन्दा बढी चीनले माइडिया र हाइयर ब्रान्डमा उत्पादन गर्छ । यसपछि जापानले पानासोनिक ब्रान्ड, दक्षिण कोरियाले सामसुङ, युरोपले बोस्च र इलेक्ट्रोलक्स तथा भारतले टीटीके प्रेस्टिज, बजाज, बटरफ्लाइ ब्रान्डमा विद्युतीय चुलो उत्पादन गर्दै आएका छन् ।

चीनले दैनिक ३ लाख गोटा, भारतले ८० हजार र युरोपियन मुलुकबाट ३० हजारको हाराहारीमा उत्पादन हुँदै आएको छ । तर युद्ध सुरु भएयता माग बढेपछि अधिकांश यस्ता उत्पादक मुलुकले उत्पादन क्षमता शतप्रतिशतसम्म पुर्‍याएका छन् ।