ट्रम्पले खार्ग टापु कब्जा गरेर तेलको समस्या समाधान गर्न सक्छन् ?


एजेन्सी । ‘म भित्र पसेर यसलाई कब्जा गर्नेछु ।’ यहाँ ‘यसलाई’ भन्नाले खार्ग टापु र ‘म’ भन्नाले डोनल्ड ट्रम्प बुझ्नुस् ।

तर, इरानको यो महत्त्वपूर्ण तेल टर्मिनलको बारेमा उनको यो टिप्पणी सन् १९८८ मा गरिएको थियो जब उनी केवल एक व्यवसायी थिए । चार दशकपछि अमेरिकाका राष्ट्रपतिले इस्लामिक गणतन्त्र इरानसँगको अमेरिका–इजरायली युद्धको ठूलो विस्तारका रूपमा आफ्नो त्यो पुरानो धाकलाई वास्तविकतामा बदल्ने कि नबदल्ने भन्नेबारे विचार गरिरहेका छन् ।

पहिले जस्तै अहिले पनि त्यो ठाउँ कब्जा गर्नाले तेहरानलाई कुनै न कुनै रूपमा वशमा पार्न सकिन्छ भन्ने विचार काल्पनिक मात्र हो ।

यसलाई कब्जा गर्नु र मुख्य कुरा कब्जामा राखिरहनु सम्भव छ कि छैन भन्ने कुरालाई एकछिन थाती राखौं । ८० को दशकको अन्त्यतिर ट्रम्पलाई यो सजिलो लाग्थ्यो, ‘हाम्रो कुनै पनि मान्छे वा जहाजमा एक गोली मात्र प्रहार भयो भने म खार्ग टापुको हालत खराब गरिदिनेछु ।’

यस महिनाको सुरुमा टापुका सैन्य लक्ष्यहरूमा बमवर्षा गरेपछि अझ अगाडि बढ्ने वा नबढ्ने भन्ने आफ्नो मनसाय उनले गोप्य नै राखेका छन् । यो टर्मिनल इरानलाई हर्मुज जलयोजक पुनः खोल्न बाध्य पार्ने एउटा बार्गेनिङ चिप हुन सक्ने ह्वाइट हाउसलाई लाग्छ ।

‘मेरो योजना हुन पनि सक्छ वा नहुन पनि सक्छ,’ खार्ग कब्जा गर्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार भने ।

इरानी भूमिमा अमेरिकी सैनिकहरू उतार्नुका खतराहरूबारे बहस नगरी पनि खार्ग टापुले ठ्याक्कै के प्रदान गर्छ र तेहरानको शासनका लागि यसको मूल्य के छ भन्ने कुरा विचार गर्न लायक छ ।

सामान्य बुझाइको विपरीत इरानी मुख्यभूमिबाट करिब २५ किलोमिटर टाढा रहेको खार्ग टापु इस्लामिक गणतन्त्रको विशाल पेट्रोलियम उद्योगको एक मात्र निकास होइन । तेहरानसँग अन्य तेल टर्मिनलहरू पनि छन् ।

पक्कै पनि कुनै पनि टर्मिनलले यस टापुको क्षमतासँग प्रतिस्पर्धा गर्न सक्दैनन् तर आपतकालीन अवस्थामा तिनीहरूले वैकल्पिक मार्गहरू प्रदान गर्नेछन् जसले इरानलाई केही ब्यारल तेल निर्यात गर्न अनुमति दिनेछ । यद्यपि यो धेरै नहुन सक्छ तर युद्धको समयमा थोरैले पनि ठूलो फरक पार्न सक्छ ।

सामान्यतया इरानको कच्चा तेल निर्यातको ९० प्रतिशत हिस्सा खार्गले ओगट्छ जुन सामान्यतया दैनिक करिब १७ लाख ब्यारल हुने गर्छ । देशका विशाल स्थलगत तेल क्षेत्रहरूसँगको निकटता, गहिरो पानीका तटहरू, ठूलो भण्डारण क्षमता र ट्यांकरहरू छिटो लोड गर्ने क्षमताका कारण यो टापु फाइदाजनक छ । त्यसैले इरानले यसलाई रुचाउँछ ।

युरोपेली संघको कोपरनिकस सेन्टिनेल–२ प्लेटफर्मको भूउपग्रह तस्विरका अनुसार, आइतबार इस्लामिक गणतन्त्रले खार्ग टापुमा तीनवटा ट्यांकरहरू लोड गरिरहेको थियो । यो टर्मिनल पर्सियाली खाडीमा अझै पनि ट्यांकरहरू लोड गरिरहेको एक मात्र टर्मिनल हो ।

तर, इरानसँग जास्क जस्ता अन्य कच्चा तेल टर्मिनलहरू छन् जुन महत्त्वपूर्ण रूपमा विवादित हर्मुज जलयोजकभन्दा बाहिर अरब सागरमा अवस्थित छन् । इरानले हालै त्यहाँ एउटा ट्यांकर लोड गरेको थियो र त्यहाँबाट शासनले सम्भवतः दैनिक करिब ३ लाख ब्यारल निर्यात गर्न सक्छ ।

अन्य टर्मिनलहरूमा लाभान टापु, सिरी टापु र केशम पर्छन् । ती सबै पर्सियाली खाडीभित्रै छन् । तिनीहरूले कम निर्यात गर्छन् तर संयुक्त रूपमा दैनिक २ देखि ३ लाख ब्यारल व्यवस्थापन गर्न सक्छन् ।

यी सबै ठाउँहरू मिलेर पनि खार्गको क्षमतासँग तुलना हुन सक्दैन । अधिकतममा तिनीहरूले यस टापुले दिने सुविधाको एक चौथाइ मात्र दिन सक्छन् । तैपनि इरानले आफ्नो युद्ध प्रयासलाई टिकाइराख्न पर्याप्त हुने गरी तेलको सानो प्रवाह जारी राख्न ती टर्मिनलहरू प्रयोग गर्न सक्छ ।

इरानी तेल उद्योगमा अमेरिकी अधिकतम दबाबको वर्षौंबाट हामीले एउटा कुरा सिकेका छौं । तेहरान रिसोर्सफुल छ । इरानी शासनलाई अप्ठ्यारोमा पारिँदा उसले सामान्यतया तेलको क्षेत्रमा अपेक्षाभन्दा बढी राम्रो नतिजा देखाएर चकित पार्छ ।

देशले नेचुरल ग्यास लिक्विड (एनजीएल) भनिने अन्य तेलजन्य पदार्थहरू पनि निर्यात गर्छ जुन पेट्रोकेमिकल उद्योगमा बहुमूल्य कच्चा पदार्थ हो । र उसले इन्धन तेल, एलपीजी र नेफ्था जस्ता महत्त्वपूर्ण प्रशोधित उत्पादनहरू पनि बिक्री गर्छ ।

यी सबै जोड्दा दैनिक अर्को १० लाख ब्यारल पुग्छ जुन मुख्यतया तीनवटा टर्मिनलहरूको संयोजनबाट आउँछः असलुयेह, बन्दर माहशाहर र अबादान । तिनीहरूले हरेक वर्ष अर्बौं डलर भित्र्याउँछन् र खार्गको तुलनामा धेरै कम चर्चा पाउँछन् । कच्चा तेल र प्राकृतिक ग्यासपछि एनजीएल इरानको सबैभन्दा बढी नाफामूलक निर्यात हो ।

इरानको पेट्रोडलर वा पेट्रोयुआन जीवनरेखालाई साँच्चै बन्द गर्नका लागि ट्रम्पले खार्ग मात्र कब्जा गरेर पुग्दैन । उनले अन्य टर्मिनलहरू पनि कब्जा गर्नुपर्नेछ र त्यो पनि एकै साथ । यसबाहेक अरू कुनै पनि कदमले इरानलाई केही तेल निर्यात गर्न सक्षम छोड्नेछ ।

इरानले कम पेट्रोलियम निर्यातको लामो अवधिलाई पनि झेल्न सक्ने इतिहासले हामीलाई देखाउँछ ।

महत्त्वपूर्ण कुरा के छ भने इरान स्रोतको मजबुत स्थितिबाट युद्धमा प्रवेश गरेको थियो जहाँ उसको कुल तेल उत्पादन ४६ वर्षकै उच्च विन्दु दैनिक करिब ५० लाख ब्यारल थियो । यसले गर्दा विदेशी बिक्रीमा उछाल आयो । यसको कच्चा तेल निर्यात गत महिना आठ वर्षयताकै उच्च दैनिक २२ लाख ब्यारल पुग्यो ।

यसबाहेक यसले दैनिक १० लाख ब्यारल अन्य तेलजन्य पदार्थ र प्रशोधित उत्पादनहरू निर्यात गर्याे ।

सन् २०२० मा ट्रम्पले तेल प्रतिबन्धको अधिकतम दबाब अभियान सुरु गर्दा इरानी कच्चा तेल निर्यात केही महिनाका लागि दैनिक २ लाख ५० हजार ब्यारल भन्दा तल झरेको थियो । केही गोप्य निर्यातलाई छाड्ने हो भने पनि सन् २०२० को सुरुदेखि २०२२ को मध्यसम्म २४ महिनाभन्दा बढी समयसम्म देशको विदेशी कच्चा तेल ढुवानी दैनिक ७ लाख ५० हजार ब्यारल नाघ्न सकेन ।

आर्थिक पीडाका बावजुद तेहरान झुकेन । ट्रम्पले फेरि यसको निर्यात ९० प्रतिशतले घटाउन सफल भए पनि आज इरान झुक्नेछ भनेर अपेक्षा गर्नुले विगतका पाठहरूलाई बेवास्ता गर्छ । र इस्लामिक गणतन्त्रको विपरीत ह्वाइट हाउससँग समयको सुविधा छैन ।

यसले केही दिन वा बढीमा केही हप्ताभित्रै हर्मुज जलयोजक पुनः खोल्नुपर्नेछ । सम्झौता स्वीकार गर्न इरानमाथि दबाब बढाउन ट्रम्पसँग महिनौंको समय छैन । त्यतिन्जेलसम्म त तेलको आकाशिएको मूल्यका कारण विश्व अर्थतन्त्र नै धराशयी भइसक्नेछ ।

पक्कै पनि अमेरिकाले खार्ग वा अन्य टर्मिनलहरू कब्जा नगरिकनै सबै इरानी तेल निर्यात रोक्न सक्छ । यसले नाकाबन्दी लगाएर इरानी तेल बोकेका कुनै पनि ट्यांकरलाई रोक्न सक्छ ।

तर, कच्चा तेलको मूल्य सहन नसक्ने स्तरमा पुग्नुअघि इरानलाई बाध्य पार्न यसले पर्याप्त रूपमा काम गर्ला र ? निश्चित रूपमा तेहरानले अमेरिकासँगको युद्धमा एक ब्यारल पनि निर्यात गर्न सक्नेछैन भनेर पहिल्यै अनुमान गरेको हुनुपर्छ ।

बरु अहिलेसम्म पनि कुनै बाधा बिना ट्यांकरहरू लोड गर्ने र हर्मुज जलयोजक भएर पठाउने यसको क्षमता इरानी सैन्य योजनाकारहरूका लागि एक सकारात्मक आश्चर्य हुनुपर्छ । वाशिङटनले ३० दिनका लागि इरानी तेलमाथिको प्रतिबन्ध हटाउनु त झन् ठूलो उपहार हो ।

युद्ध चौथो हप्तामा प्रवेश गर्दा इरानले दैनिक कम्तीमा १५ लाख ब्यारल कच्चा तेल र अन्य उत्पादनहरू निर्यात गरेको छ । प्रति ब्यारल औसत ८० डलर मूल्य मान्ने हो भने यो २.५ अर्ब डलर हुन आउँछ जुन बमवर्षा सुरु हुँदा तेहरानले अपेक्षा गरेको थियो होला भन्नेमा मलाई शंका छ ।

अहिलेसम्म ट्रम्प प्रशासनलाई पनि प्रतिशोधको धम्की वास्तविक हो भन्ने थाहा भइसकेको छ । इरानको तेल पूर्वाधारमा आक्रमण गरियो भने यसले छिमेकी देशका ऊर्जा स्थलहरूमा प्रहार गरेर प्रतिक्रिया दिनेछ । तेल अभिभस्थित इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडीजका डेनिस सिट्रिनोविजका अनुसार, इरानको नीति यस्तो छ– ‘तपाईंले हामीलाई जे गर्नुहुन्छ, हामी तपाईंलाई त्यही गर्नेछौं र त्योभन्दा बढी ।’

खार्गले ट्रम्पलाई ४० वर्षदेखि आकर्षित गरेको छ । यसमा इरानलाई यसले के प्रदान गर्छ र शासन यस बिना कसरी बाँच्न सक्छ भन्ने कुराको उचित समझ समावेश नहुनु दुःखको कुरा हो ।

शायद त्यसैले शुक्रबार उनले टापुलाई धम्की दिए र शनिबारसम्म आइपुग्दा उनले इरानलाई ४८ घण्टाभित्र जलयोजक पुनः खोल्न वा बिजुली नेटवर्कमा आक्रमणको सामना गर्न अल्टिमेटम दिए । अमेरिकी राष्ट्रपतिको सन्दर्भमा धेरैजसो हुने गरेझैं इतिहास बुझ्न नसक्दा खेदजनक निर्णयहरू हुन सक्छन् ।

ब्लूमबर्गमा प्रकाशित जेभियर ब्लासको आलेखको अनुवाद