
काठमाडौं । गत फेब्रुअरी २८ बाट सुरु भएको इरान युद्ध अहिले चौथो हप्तामा प्रवेश गरेको छ । इरानको शीर्ष नेतृत्वलाई सफाया गर्नका लागि सर्जिकल स्ट्राइकबाट सुरु भएर इरानका राष्ट्रिय पूर्वाधारहरूलाई योजनाबद्ध रूपमा निशाना बनाउने र इरानले प्रत्याक्रमण गर्नेसम्म पुगेको यस युद्धको अर्बौं डलरको भारी लागत देखिएको छ ।
चौथो हप्तामा आइपुग्दा यो विपक्षीलाई थकाएर जित्न प्रयास गर्ने युद्ध (वार अफ एट्रिशन) मा परिणत भएको छ । यसमा सैन्यका साथै आर्थिक क्षति सहन सक्ने क्षमता अहिले मुख्य कुरा बनेको छ ।
हर्मुज जलयोजकमा तेहरानले धेरैजसो जहाजमा लगाएको २० लाख डलरको पारवहन शुल्कदेखि लिएर विश्वव्यापी बजारलाई थर्कमान बनाउने गरी प्रति ब्यारल १०० डलरभन्दा बढीको तेलको मूल्यसम्मलाई विचार गर्दा यस युद्धका व्यापक आर्थिक आयामहरू छन् ।
इजरायलका लागि युद्धको लागत चर्को छ । उसको बहु–तहको रक्षाकवच आइरन डोम, डेभिड्स स्लिङ र एरो–३ प्रणाली विश्वस्तरको छ तर लामो समयसम्म चल्ने द्वन्द्वमा यो अत्यन्तै महँगो साबित हुन्छ ।
मार्चको सुरुवाती दिनहरूमा प्रयोग गरिएका क्लस्टर बमको साटो इरानले अहिले भारी वारहेड भएका ब्यालिस्टिक मिसाइलहरू प्रयोग गर्ने रणनीति अपनाएको छ । यस परिवर्तनले इजरायललाई एरो–३ र डेभिड्स स्लिङ इन्टरसेप्टरहरूमा बढी निर्भर हुन बाध्य पारेको छ जसको प्रति युनिट लागत करिब २० लाख देखि ३५ लाख डलर पर्छ ।
इरानी आक्रमणहरू भौगोलिक रूपमा साना र कम सुरक्षित शहरी केन्द्रहरूमा विस्तार भएसँगै यसको अप्रत्यक्ष लागत अर्थात् कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुगेको क्षति, पर्यटन क्षेत्रको पतन र श्रम शक्तिको मनोवैज्ञानिक असर सबै जोड्दा एक महिनाभन्दा कम समयमै १२ अर्ब डलर पुगेको अनुमान छ
प्रमुख सञ्चारमाध्यमहरूमा प्रकाशित विश्लेषणका अनुसार, डिमोना र अराद नजिकका स्थानहरूलाई निशाना बनाएर इरानले गरेको ठूलो आक्रमणका क्रममा इजरायलले ४८ घण्टाको अवधिमा १.५ अर्ब डलर भन्दा बढीका इन्टरसेप्टरहरू खर्च गरेको हुन सक्छ । अमेरिकाले उपलब्ध गराएको एफ–३५ र एफ–१५ विमानहरू प्रयोग गरेर चौबीसै घण्टा गरिने हवाई गस्तीको सञ्चालन खर्च जोड्दा इजरायलको दैनिक सैन्य खर्च २५ करोड डलर नाघ्ने अनुमान गरिएको छ ।
गोलाबारुद बाहेक पनि करिब ४ लाख जगेडा सैनिकको परिचालनले इजरायलको उच्च–प्रविधि र उत्पादन क्षेत्रबाट जनशक्ति डाइभर्ट गरेको छ । इरानी आक्रमणहरू भौगोलिक रूपमा साना र कम सुरक्षित शहरी केन्द्रहरूमा विस्तार भएसँगै यसको अप्रत्यक्ष लागत अर्थात् कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुगेको क्षति, पर्यटन क्षेत्रको पतन र श्रम शक्तिको मनोवैज्ञानिक असर सबै जोड्दा एक महिनाभन्दा कम समयमै १२ अर्ब डलर पुगेको अनुमान छ ।
उता अमेरिकाले गरेका खर्चहरूलाई विश्वव्यापी उपस्थिति र रणनीतिक प्रतिरोधको रूपमा वर्गीकृत गरिएको छ । हर्मुज जलयोजक खुलाउनका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटमले प्रत्यक्ष सैन्य दबाबको मोडलतर्फको परिवर्तनलाई संकेत गर्छ । भनाइको मतलब, यो युद्ध लामै जाने संकेत देखिएको छ । युद्ध लम्बिँदै जाँदा अमेरिकी करदाताहरूमाथि भारी बोझ थप्ने पक्का छ ।
इरान युद्धको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब डलरको खर्च भएको छ । सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजले युद्धको छैटौं दिनमा कुल खर्च १२.७ अर्ब डलर देखाएको छ । अहिले त्यो २५ अर्ब डलरभन्दा बढी भइसकेको हुन सक्छ
अमेरिकाले पश्चिम एसियामा दुईवटा क्यारियर स्ट्राइक ग्रुप र एउटा एम्फिबियस रेडी ग्रुप तैनाथ गरेको छ । एउटा मात्र क्यारियर स्ट्राइक ग्रुप सञ्चालन गर्न दैनिक करिब ६० देखि ८० लाख डलर खर्च हुन्छ । त्यसका साथै युद्धको वातावरणमा इजिस विध्वंसक (डिस्ट्रोयर) हरूले ट्यांकरहरूको सुरक्षा गर्न र इरानी ड्रोनहरू रोक्नका लागि प्रति गोटा १ देखि २.५ करोड डलर पर्ने एसएम–३ इन्टरसेप्टरहरू प्रहार गरिरहेका छन् । अहिले यी लागतहरू चार गुणा बढेका छन् । खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा भएको इरानी आक्रमणको खर्च पनि निकै धेरै हुनुपर्छ ।
रोयटर्समा प्रकाशित सामग्री अनुसार, इरान युद्धको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब डलरको खर्च भएको छ । सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजले युद्धको छैटौं दिनमा कुल खर्च १२.७ अर्ब डलर देखाएको छ । अहिले त्यो २५ अर्ब डलरभन्दा बढी भइसकेको हुन सक्छ ।
बढ्दो रक्षा खर्च धान्नका लागि पेन्टागनले अमेरिकी संसद्सँग थप २०० अर्ब डलरको अनुरोध गरेको छ । अमेरिकाका अर्थमन्त्री स्कट बेसन्टले रक्षा खर्च जुटाउन कर उठाउने सम्भावनालाई नकारेका छन् र अमेरिकासँग पहिलेदेखि नै प्रशस्त पैसा रहेको दाबी गरेका छन् ।
अमेरिकाका लागि सबैभन्दा महत्त्वपूर्ण खर्च अप्रत्यक्ष छ । बजारलाई स्थिर बनाउन बीच समुद्रमा रोकिएको इरानी तेलमाथिको प्रतिबन्ध हटाउने निर्णयका बावजुद ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल १०५ डलरभन्दा माथि नै रहिरहेको छ । तेलको मूल्यमा प्रत्येक १० डलरको वृद्धिसँगै अमेरिकी अर्थतन्त्रको जीडीपी वृद्धिमा सामान्यतया ०.२ प्रतिशतले गिरावट आउँछ ।
ऊर्जामा लागेको यो युद्ध प्रिमियम अनिवार्य रूपमा अमेरिकी उपभोक्ताहरूमाथि थपिएको अर्बौं डलरको कर जस्तै हो । यसले आन्तरिक राजनीतिक परिदृश्यलाई जटिल बनाइरहेको छ । हुन पनि विपक्षी डेमोक्रेट सांसद (र कतिपय रिपब्लिकनहरू) ले सरकारलाई थप २०० अर्ब डलर दिन कडा अवरोध गरिरहेका छन् ।
यसबाहेक अमेरिकाले इजरायललाई गहिरो गुप्तचरी र साइबर अपरेशनमा सहयोग गरिरहेको रिपोर्ट छ । इरानविरुद्ध अर्को ठूलो बमबारी तयारीका लागि हजारौं घण्टाको उडान र भूउपग्रह सञ्चालन गरिने बताइएको छ । त्यसले पेन्टागनको पूरक युद्ध बजेटमा करोडौं डलर थपिरहेको छ ।
यस युद्धमा इरानले गरिरहेको खर्च मापन गर्न सबैभन्दा कठिन छ किनकि त्यहाँ कडा इन्टरनेट ब्ल्याकआउटको स्थिति छ र त्यहाँको शासनले पारदर्शिता कायम गरेको छैन । तर, अमेरिकी र इजरायली आक्रमणको भीषणता हेर्दा इरानमा निकै क्षति पुगेको देखिन्छ ।
इरानको रेड क्रिसेन्टले विद्यालय, अस्पताल र सूचना प्रविधि केन्द्रहरू लगायत ८१ हजारभन्दा बढी नागरिक संरचनाहरू क्षतिग्रस्त भएको रिपोर्ट गरेको छ । यी पूर्वाधारहरूको मर्मत वा पुनर्निर्माण गर्न ४५ देखि ६० अर्ब डलर लाग्ने अनुमान छ ।
वास्तवमा यो युद्ध इरान, इजरायल र अमेरिकामा मात्र सीमित छैन । यसले क्षेत्रीय अर्थतन्त्रलाई संकटमा धकेलेको छ
इरानले भारी वारहेड प्रयोग गर्ने र इजरायलका कमजोर स्थानहरूलाई निशाना बनाउने रणनीति आफ्नो क्षतिको प्रतिक्रिया स्वरूप अपनाएको हो । आईआरजीसी, बासिज र सेनाको शीर्ष नेतृत्व सफाया हुँदा इरानले आफ्नो मानवीय पुँजी गुमाइरहेको छ । हुन पनि आईआरजीसी कमान्डर वा नतान्जका आणविक वैज्ञानिकलाई तालिम दिन लाग्ने खर्च डलरमा नभई दशकौंको लगानीमा मापन गरिन्छ ।
हर्मुज जलयोजक पार गर्ने जहाजहरूमा तेहरानले लगाएको २० लाख डलरको शुल्क युद्ध कोष खडा गर्ने प्रयास हो । दैनिक १५ वटा जहाजले यो शुल्क तिरे भने इरानले दिनमा ३ करोड डलर जम्मा गर्छ ।
यो रकम उल्लेख्य देखिए पनि विद्युत् ग्रिड र पानीका पूर्वाधारहरूको विनाशको तुलनामा यो अत्यन्तै कम भएको इरानी संसद्का सभामुख मोहम्मद बागेर–गालिबाफले चेतावनी दिएका छन् । तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमणका कारण इरानले दैनिक १५ करोड डलरको राजस्व गुमाइरहेको हुन सक्छ ।
वास्तवमा यो युद्ध इरान, इजरायल र अमेरिकामा मात्र सीमित छैन । यसले क्षेत्रीय अर्थतन्त्रलाई संकटमा धकेलेको छ ।
खाडी सहयोग परिषद् (जीसीसी) का राष्ट्रहरू विशेषगरी यूएई र साउदी अरबले भयानक ‘प्रतिशोध लागत’ (रिट्यालिएशन कस्ट) को सामना गरिरहेका छन् । इरानले प्रहार गरेका मिसाइल र ड्रोनबाट प्रतिरक्षामा उनीहरुले करोडौं डलर खर्च गरिरहनुपरेको छ । त्यसमाथि आफ्नो विद्युतीय ग्रिडहरूमा अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय ऊर्जा र सूचना प्रविधि पूर्वाधारलाई निशाना बनाउने इरानले चेतावनी दिएको छ ।
यूएई जस्तो देश सैन्य रूपमा तटस्थ रहे पनि एउटा मात्र इरानी मिसाइलले त्यहाँको ठूलो डेटा सेन्टर वा पानी प्रशोधन केन्द्रमा आक्रमण गरेमा ५ अर्ब डलरको तत्काल आर्थिक क्षति हुन सक्छ ।
इरानले कतारको रास लाफान र मेसाइड औद्योगिक शहरमा रहेका ऊर्जा केन्द्रहरूमा प्रहार गरेको छ जसकारण विश्वकै सबैभन्दा ठूलो एलएनजी उत्पादकले आफ्नो उत्पादन पूर्ण रूपमा बन्द गर्न बाध्य भएको छ । त्यसको लागत चर्को हुने पक्का छ ।
लाल सागरमा रहेको यान्बु बन्दरगाह र जलमार्गहरू इरानी र हुती दुवै मिसाइलहरूको पहुँचमा पर्छन् । इरानले विश्वकै रणनीतिक रूपमा महत्त्वपूर्ण मध्ये रहेको साउदी अरबको रास तनुरा रिफाइनरीमा प्रहार गरेको छ । साउदीको अधिकांश तेल पूर्वाधारहरू रहेको पूर्वी प्रान्तलाई निशाना बनाइएको छ । त्यसको लागत अर्बौंमा हुन सक्छ ।
इरानले गरेको प्रतिरोधका कारण जीसीसी राष्ट्रहरू पछिल्लो तीन सातामा मात्र आफ्नो रक्षा खर्च १५ प्रतिशतले बढाउन बाध्य भएका छन् ।
हर्मुज जलयोजक विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग हो जहाँबाट करिब २० प्रतिशत तेल कारोबार हुन्छ । जलमार्गमा छनौटपूर्ण अवरोधबाट औपचारिक नियन्त्रण (शुल्क प्रणाली) तर्फको यस परिवर्तनले समुद्री बिमा प्रिमियमलाई ४०० प्रतिशतले बढाएको छ ।
एउटा ठूलो तेल ट्यांकरका लागि प्रति यात्रा बिमा लागत १ लाख ५० हजार डलरबाट बढेर झण्डै १० लाख डलर पुगेको छ । यी लागतहरू अन्ततः विश्वभरका उपभोक्ताहरूसम्म पुग्छन् र महँगी बढाउँछन् ।
युद्धमा रुसको संलग्नता मुख्यतया कूटनीतिक र गुप्तचरीमा आधारित भए पनि यसले विश्वव्यापी अस्थिरतामा अर्को तह थपेको छ । नतान्ज आणविक केन्द्रमा आक्रमण नगर्नका लागि रुसले दिएको चेतावनी र दक्षिणपूर्वी इरानमा आक्रमणका लागि पाकिस्तानी हवाई क्षेत्रको सम्भावित प्रयोगले भौगोलिक खर्च विस्तार भइरहेको संकेत गर्छ । पाकिस्तान वा जोर्डन युद्धमा प्रत्यक्ष संलग्न भए भने क्षेत्रीय स्थिरताको लागत १०० अर्ब डलर नाघ्न सक्छ ।
अहिलेको मुख्य प्रश्न हो: सबैभन्दा पहिले कुन देशले हात उठाउँछ ?
अमेरिकासँग अथाह पैसा छ र उसले युद्ध लम्ब्याइरहन सकिन्छ । तर, लामो समयसम्म युद्ध चल्दा ऊर्जामा लाग्ने कर र तेलको मूल्य उच्च हुने स्थिति आउँछ । त्यसका लागि अमेरिकी जनतामा राजनीतिक सहनशीलता कम छ ।
इजरायलको कुरा गर्नुपर्दा उससँग उच्च प्रविधि छ तर श्रम बजारमा अवरोध पुगिरहेको र महँगो रक्षा सामग्रीमा खर्च गर्नुपरिरहेका कारण उसको अर्थतन्त्र नाजुक अवस्थामा छ ।
इरानसँग आन्तरिक पीडा र विषम (एसिमेट्रिक) युद्ध लड्नका लागि पर्ने लागत सहन सक्ने उच्च क्षमता छ । उसका लागि इन्टरसेप्टर बनाउनुभन्दा ड्रोन बनाउनु धेरै सस्तो पर्छ । तर, उसको बिजुली र पानी प्रणाली स्थायी रूपमा ध्वस्त भयो भने इरान पूर्ण रूपमा पतनको जोखिममा पर्छ ।
हर्मुज जलयोजकमा लगाइएको २० लाख डलरको पारवहन शुल्क यस युद्धको सबैभन्दा महत्त्वपूर्ण तथ्यांक हुन सक्छ । यसले विश्वव्यापी साझा मार्गलाई क्षेत्रीय युद्धका लागि पैसा उठाउने एउटा निजी टोल रोडमा परिवर्तन गरेको छ । इरान आफ्नो औपचारिक औद्योगिक आधारको विनाशबाट बच्न पाइरेट राज्यको अर्थतन्त्रतर्फ अघि बढिरहेको पश्चिमा विश्लेषकहरूले आरोप लगाएका छन् ।
यी चार हप्तामा अमेरिका, इजरायल र इरानको संयुक्त सैन्य खर्च १ खर्ब डलर नाघिसकेको अनुमान छ भने व्यापार घाटा, ऊर्जाको मूल्यवृद्धि र पूर्वाधार विनाश जस्ता विश्वव्यापी आर्थिक क्षतिहरू खर्बौंमा पुग्ने सम्भावना छ
यो युद्ध अर्को एक महिनासम्म जारी रह्यो भने विश्वव्यापी तेलको मूल्य १४० डलर पुग्न सक्छ । यसले गर्दा विश्वव्यापी मन्दी आउन सक्छ ।
इजरायलको ऋण र जीडीपीको अनुपात १० देखि १५ प्रतिशतले बढ्न सक्छ । उसलाई अमेरिकाको ठूलो सहायता प्याकेज (अनुमानित २० अर्ब डलरभन्दा बढी) आवश्यक पर्नेछ ।
इरानको आन्तरिक विखण्डन हुन सक्छ । अमेरिका र इजरायलविरोधी नेटवर्क तथा प्रतिरोधी समूहहरूका विरुद्ध आन्तरिक सुरक्षा कायम राख्ने लागत, इन्टरनेट ब्ल्याकआउट र रेकर्ड स्तरमा खस्किएको इरानी रियालका कारण शासनको कर उठाउने वा मुद्रा व्यवस्थापन गर्ने क्षमता पूर्ण रूपमा समाप्त हुन सक्छ ।
यी चार हप्तामा अमेरिका, इजरायल र इरानको संयुक्त सैन्य खर्च १ खर्ब डलर नाघिसकेको अनुमान छ भने व्यापार घाटा, ऊर्जाको मूल्यवृद्धि र पूर्वाधार विनाश जस्ता विश्वव्यापी आर्थिक क्षतिहरू खर्बौंमा पुग्ने सम्भावना छ । कूटनीतिक पहलमार्फत युद्धलाई टुंग्याइएन भने त्यसको क्षति सारा संसारले उठाउनुपर्नेछ ।








प्रतिक्रिया