अमेरिकी इतिहासको अनुभव, लामो समयसम्म जानेछ इरान युद्ध


काठमाडौं । इरान युद्धलाई अमेरिकाको पछिल्लो ७५ वर्षको विदेशनीतिको आलोकमा हेर्दा इतिहास दोहोर्याउने काम मात्र भइरहेको अनुभव हुन्छ । अमेरिकी दार्शनिक जर्ज सान्तायनाको प्रसिद्ध भनाइ यहाँ सान्दर्भिक छ, ‘जसले इतिहासलाई सम्झन सक्दैनन्, उनीहरू त्यसलाई दोहोर्याउन बाध्य हुन्छन् ।’

इरानसँग लामो समयदेखिको तनाव प्रत्यक्ष सैन्य मुठभेडमा परिणत हुँदै गर्दा अमेरिकाका राजनीतिक नेताहरूले यो युद्ध छोटो, छिटो र निर्णायक हुने आश्वासन दिइरहेका छन् । तर, अन्य देशमा अमेरिकी हस्तक्षेपको ७५ वर्षको इतिहासलाई नियाल्ने हो भने त्यो आश्वासनलाई पत्याउन सकिने स्थिति छैन । यो आश्वासन खासमा पुरानै नाटकको पहिलो दृश्य जस्तो देखिन थालेको छ।

हरेक आधुनिक अमेरिकी द्वन्द्वको सुरुवात विजय निश्चित मात्र नभई तत्कालै हुँदैछ भन्ने घोषणाबाट हुन्छ । यो चरण जनताको समर्थन जुटाउन र बजारलाई शान्त पार्नका लागि डिजाइन गरिएको हुन्छ ।

सन् १९५० मा तत्कालीन राष्ट्रपति ह्यारी ट्रुम्यानले कोरियाली प्रायद्वीप हस्तक्षेपलाई ‘पुलिस एक्सन’ का रूपमा चित्रण गर्दै यो छिट्टै समाप्त हुने बताएका थिए । तर, त्यो युद्ध तीन वर्षसम्म चल्यो र प्राविधिक रूपमा आजसम्म पनि टुंगिएको छैन ।

अहिलेको वास्तविकता के हो भने पूर्ण स्तरको युद्ध सुरु भएको तीन हप्ता पनि नबित्दै पेन्टागनले थप २०० अर्ब डलर बजेटको माग गरिसकेको छ

सन् २००३ मा तत्कालीन राष्ट्रपति जर्ज डब्लु. बुशले यूएसएस अब्राहम लिंकन युद्धपोतमा मिसन एकम्प्लिस्ड (मिसन पूरा भयो) भन्ने ब्यानरमुनि उभिएर इराकमा प्रमुख सैन्य कारबाही समाप्त भएको घोषणा गरेका थिए । तर, त्यो युद्ध थप आठ वर्ष चल्यो र त्यसपछि एक दशकसम्म विद्रोह जारी रह्यो ।

सन् २००१ मा तालिबानहरू भागिसकेका र पराजित भइसकेका भनी घोषणा गरियो तर तिनीहरू सन् २०२१ मा फेरि सत्तामा फर्किए ।

इरानको सन्दर्भमा पनि युद्धका विषयमा ठूलाठूला बयानबाजी सुरु भइसकेका छन् । ‘हामीले जितिसक्यौं’ भनी डोनल्ड ट्रम्पले गरेको घोषणा वा इरानको क्षमता ‘निर्णायक रूपमा कमजोर भएको छ’ भनी उनले गरेका दाबीहरूले भियतनाम युद्धका प्रारम्भिक दिनहरूको सम्झना दिलाउँछन् । त्यतिबेला ह्वाइट हाउसले बारम्बार सुरुङको अन्त्यमा उज्यालो देखिरहेको दाबी गर्ने गर्थ्यो ।

अहिलेको वास्तविकता के हो भने पूर्ण स्तरको युद्ध सुरु भएको तीन हप्ता पनि नबित्दै पेन्टागनले थप २०० अर्ब डलर बजेटको माग गरिसकेको छ ।

अपेक्षा गरेजस्तो द्रुत गतिमा विजय हात नलागेपछि युद्धको उद्देश्य परिवर्तन हुने गर्छ । एउटा सीमित उद्देश्यबाट सुरु भएको अपरेशन, जस्तै आणविक केन्द्र नष्ट गर्ने वा समुद्री मार्ग जोगाउने काम, अनपेक्षित रूपमा व्यापक र अनियन्त्रित लक्ष्यमा परिणत हुन्छ ।

भियतनाममा यो ‘सल्लाहकार’ पठाउने कामबाट सुरु भएको थियो र ५ लाख सैनिक तैनाथीमा पुगेर टुंगियो । अफगानिस्तानमा यो मिसन ओसामा बिन लादेनलाई खोज्ने उद्देश्यले सुरु भएको थियो तर २० वर्षे राष्ट्रनिर्माणको परियोजनामा परिणत भयो । इराकमा सामूहिक विनाशका हतियारहरू खोज्ने अभियान पश्चिम एसियाको लोकतान्त्रीकरण गर्ने मिसनमा बदलियो ।

इरानका विषयमा पनि त्यही भइरहेको देखिन्छ । हर्मुज जलयोजक सुरक्षित गर्ने प्रारम्भिक लक्ष्य अहिले नै विस्तार भइसकेको छ । सैन्य कमान्डरहरू अब क्षेत्रीय प्रोक्सीहरूको जोखिम अन्त्य गर्ने र पूर्ण समुद्री प्रभुत्व सुनिश्चित गर्ने कुरा गरिरहेका छन् । त्यसैले अहिले जापानको ओकिनावामा यूएएस त्रिपोलीमा रहेका अमेरिकी मरिनहरू पर्सियाली खाडीतर्फ पठाइएका छन् । उनीहरूलाई इरानको तेल पाइपलाइन भएको खार्ग टापुमा आक्रमणका लागि उपयोग गरिने बताइएको छ ।

सीमित प्रहारबाट सत्ताको व्यवहार परिवर्तनतर्फ उद्देश्य मोडिँदा अमेरिका निस्कने कुनै स्पष्ट बाटो नभएको द्वन्द्वमा फस्ने गरेको छ ।

सुरुमा युद्धको लागत अत्यन्तै कम अनुमान गरिन्छ ताकि जनतालाई धेरै ठूलो भार महसुस नहोस् । तर, पछि यो वास्तविक लागतभन्दा १० देखि १०० गुणासम्म बढ्छ ।

सन् २००३ को इराक आक्रमणअघि ह्वाइट हाउसका तत्कालीन आर्थिक सल्लाहकार लरेन्स लिन्ड्सेले लागत १०० देखि २०० अर्ब डलर हुने अनुमान गरेका थिए (उनलाई यो उच्च अनुमान गरेका कारण पदबाट हटाइएको थियो) ।

बुश प्रशासनको आधिकारिक तथ्यांक ६० अर्ब डलर थियो । तर, ब्राउन युनिभर्सिटीको ‘कस्ट अफ वार’ प्रोजेक्टका अनुसार, भूतपूर्व सैनिकहरूको दीर्घकालीन हेरचाह र ऋणको ब्याज समेत जोड्दा इराक युद्धको वास्तविक लागत ३० खर्ब डलर नाघेको छ ।

इरान द्वन्द्व पनि यही बाटोमा छ । पहिलो महिनामै २०० अर्ब डलरको थप बजेट माग गर्नुले ठूलो आर्थिक लागतको संकेत गर्छ । इराकको जस्तै ढाँचा दोहोरिने हो भने इरानसँगको पूर्ण युद्धको अन्तिम बिल २० देखि ४० खर्ब डलरको बीचमा पुग्नेछ । त्यो पैसामध्ये धेरैजसो ऋण लिइएको हुनेछ र यसले पहिले नै ३४० खर्ब डलर नाघेको अमेरिकी राष्ट्रिय ऋणमा थप भार थप्नेछ ।

द्वन्द्वको प्रारम्भिक चरणमा हताहतीको रिपोर्ट प्रायः ढिलो दिइन्छ, कम देखाइन्छ वा घरेलु मनोबल कायम राख्नका लागि लुकाइन्छ । भियतनाम युद्धको समयमा मृतकको संख्या र हालै सन् २०२० मा इराकको अल–असद एयरबेसमा भएको इरानी मिसाइल आक्रमणको समयमा यस्तो देखिएको थियो ।

सुरुमा पेन्टागनले कसैलाई पनि चोट नलागेको बताएको थियो । तर, हप्तौंपछि १०० भन्दा बढी सैनिकहरूमा मानसिक चोट लागेको पुष्टि भयो ।

सैनिकहरू घर फर्किंदैमा युद्ध सकिँदैन । आधुनिक युद्धको आर्थिक भार दशकौंसम्म रहन्छ । कस्ट अफ वार प्रोजेक्टले उल्लेख गरे अनुसार, अमेरिकाले सन् २०५० सम्ममा सेप्टेम्बर ११ पछिका युद्धका सैनिकहरूको स्वास्थ्य र अपांगता उपचारका लागि मात्र २२ खर्ब डलर तिर्नुपर्नेछ

अहिलेको इरान द्वन्द्वमा पनि घाइते सैनिकहरूको रिपोर्ट वास्तविक घटनाभन्दा एक हप्ता वा सोभन्दा बढी ढिलो आउने गरेको छ । अमेरिकी सैनिकको जीवन र नागरिकहरूको मृत्युको वास्तविक मूल्य द्वन्द्व बढ्दै जाँदा र संवेदनशील ठाउँहरू सुरक्षित गर्न सैनिकहरू प्रत्यक्ष मैदानमा उत्रिएपछि मात्र स्पष्ट हुन्छ ।

अमेरिकाको विगत ७५ वर्षको इतिहासले एउटा ठूलो पाठ पढाउँछ । त्यो के भने अमेरिकी हस्तक्षेपले शक्तिको रिक्तता सिर्जना गर्छ । कुनै केन्द्रीय सत्ता कमजोर हुँदा वा हटाइँदा त्यसको ठाउँ प्रजातन्त्रले विरलै लिन्छ । बरु, त्यो ठाउँ अझ कट्टरपन्थी, विकेन्द्रीकृत र हिंसात्मक तत्वहरूले भर्छन् ।

इराकमा सद्दाम हुसेनलाई हटाउँदा अल–कायदाका लागि बाटो खुल्यो जुन पछि आईएसआईएस जस्तो चरम हिंसात्मक आतंकवादी समूहमा परिणत भयो ।

लिबियामा नेटोले सन् २०११ मा गरेको हस्तक्षेपले मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेको थियो । त्यसले गर्दा एक दशक लामो गृहयुद्ध सुरु भयो, खुला दास बजारहरूको पुनरागमन भयो र रुसको मर्सिनरी सैनिकहरूको वाग्नर समूहको प्रवेश भयो ।

अफगानिस्तानमा दुई दशकको युद्धपछि तालिबानहरू अर्बौं डलरका अमेरिकी सैन्य उपकरणहरू सहित सत्तामा फर्किए ।
इरानमा रिभोलुसनरी गार्ड ध्वस्त भयो भने पनि पश्चिमसमर्थक सरकार आउने सम्भावना कमै छ । उल्टो, यसले पश्चिम एसियाका विभिन्न सशस्त्र समूहहरूमा उन्नत मिसाइल प्रविधिको पहुँच पुग्नेछ । कमजोर तेहरानले एउटा यस्तो विखण्डित खतरा पैदा गर्नेछ जसलाई रोक्न कुनै एक राज्यलाई रोक्नुभन्दा धेरै कठिन हुनेछ ।

युद्ध लम्बिँदै जाँदा राजनीतिक इच्छाशक्ति वा ढुकुटी रित्तिन्छ । त्यसपछि अमेरिकाले एउटा यस्तो फिर्तीको कार्यान्वयन गर्छ जसलाई सम्मानजनक शान्ति वा रणनीतिक संक्रमणको रूपमा व्याख्या गरिन्छ । तर, वास्तविकतामा यसले मूल समस्यालाई सुल्झाएको हुँदैन ।

सन् १९७३ मा भियतनामबाट अमेरिकी सेनाको फिर्तीले सन् १९७५ मा साइगनको पतन निम्त्यायो । सन् २०११ मा इराकबाट भएको फिर्तीले सन् २०१४ मा आईएसआईएससँग लड्न फेरि फर्किनुपर्ने अवस्था ल्यायो । सन् २०२१ मा अफगानिस्तानबाट भएको फिर्ती काबुल एयरपोर्टको भद्रगोल र अमेरिकी सैनिकहरूको मृत्युमा परिणत भयो ।

इरानको सन्दर्भमा विजय नभई गतिरोध वा वार्ताद्वारा गरिएको युद्धविराम सबैभन्दा सम्भावित परिणाम हुनेछ । त्यसले इरानको आणविक क्षमतालाई कायमै राख्नेछ र उसको क्षेत्रीय प्रभावलाई समाप्त पार्नुको साटो केही समयका लागि मात्र दबाउनेछ । अमेरिकाले खर्बौं डलर खर्च गरेर त्यही परिणाम हात पार्नेछ जुन वर्षौंअघि कूटनीतिबाट प्राप्त गर्न सकिन्थ्यो ।

सैनिकहरू घर फर्किंदैमा युद्ध सकिँदैन । आधुनिक युद्धको आर्थिक भार दशकौंसम्म रहन्छ । कस्ट अफ वार प्रोजेक्टले उल्लेख गरे अनुसार, अमेरिकाले सन् २०५० सम्ममा सेप्टेम्बर ११ पछिका युद्धका सैनिकहरूको स्वास्थ्य र अपांगता उपचारका लागि मात्र २२ खर्ब डलर तिर्नुपर्नेछ ।

यसबाहेक यी युद्धहरू ऋण लिएर लडिने भएकाले ब्याज मात्रै खर्बौं डलर हुन्छ । इरान द्वन्द्वको बिल पूर्ण रूपमा भुक्तान भइसक्दासम्म यसको ब्याज नै युद्धको मूल लागतभन्दा बढी हुन सक्छ । यसका साथै, हतियारहरूको भण्डार पुनः भर्नका लागि अर्को १०० अर्ब डलरभन्दा बढी खर्च हुन्छ जसले गर्दा चीन वा रुस जस्ता प्रतिद्वन्द्वीहरूलाई रोक्न आवश्यक पर्ने स्रोतहरू अभाव हुन्छन् ।

विशाल खर्च, हजारौं वा लाखौं जीवनको क्षति र सैन्य बलले कुनै विदेशी राष्ट्रको राजनीतिक र सामाजिक डीएनएलाई सजिलै बदल्न सक्दैन भन्ने पाठ पढेर अमेरिका बाहिरिनेछ । बाहिर निस्कने क्रममा एउटा बहाना बनाएर उसले विजयको घोषणा गर्नेछ

कोरिया, भियतनाम, अफगानिस्तान र इराकमा दोहोरिएको कुराको आधारमा इरान युद्धको पनि प्रक्षेपण गर्न सकिन्छ । यसमा ३ देखि ७ वर्षको सक्रिय संलग्नता रहन सक्छ र ८०० अर्ब देखि २० खर्ब डलरसम्म खर्च हुन सक्छ । युद्धमा ५०० देखि २ हजारभन्दा बढी अमेरिकी सैनिकहरूको मृत्यु वा घाइते हुन सक्छन् । हजारौं इरानी, लेबननी र अन्य पश्चिम एसियाली मुलुकका नागरिकहरूको हताहती हुन सक्छ ।

अमेरिका अन्तिममा आंशिक रूपमा फिर्ता हुनेछ वा इरान क्षेत्रीय शक्तिको रूपमा कायमै रहने गरी द्वन्द्व कायम रहनेछ । अमेरिकालाई यसबाट शून्य लाभ मिल्नेछ । उल्टो, विश्वव्यापी ऊर्जा बजार अस्तव्यस्त हुनेछ, अमेरिकाको राष्ट्रिय ऋण बढ्नेछ र चीनका विरुद्ध प्रशान्त क्षेत्रमा अमेरिकाको सैन्य तयारी कमजोर हुनेछ ।

उन्नत प्रविधि, राम्रो गुप्तचर सूचना वा फरक राष्ट्रपतिले अमेरिकी युद्धको अनन्त चक्रलाई तोड्ने विश्वास विज्ञहरूले गरेको भए पनि उनीहरू गलत साबित हुने सम्भावना छ ।

विशाल खर्च, हजारौं वा लाखौं जीवनको क्षति र सैन्य बलले कुनै विदेशी राष्ट्रको राजनीतिक र सामाजिक डीएनएलाई सजिलै बदल्न सक्दैन भन्ने पाठ पढेर अमेरिका बाहिरिनेछ । बाहिर निस्कने क्रममा एउटा बहाना बनाएर उसले विजयको घोषणा गर्नेछ।

अन्य महाशक्तिहरूले अमेरिकालाई यसो गर्नबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने कुराले आगामी दिनहरू निर्धारण गर्नेछन् ।