वायुसेवा निगम सुधारका लागि फेरि अध्ययन समिति, किन बन्यो समितिमाथि समिति ?


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सुधारका लागि कार्ययोजना बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयकै सहसचिव मुकेश डंगोलको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।

निगम सुधारका लागि यसअघि सरकारले तयार पारेका विभिन्न प्रतिवेदनहरूको अध्ययन गर्ने र सुधारका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजनासहितको सुझाव दिने गरी समितिको कार्यगत सर्त (टोओआर) तोकिएको छ।

मन्त्रालयले एक महिनाभित्रै प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा नयाँ सरकारलाई निगम सुधारको कार्य अघि बढाउन सहज हुने दाबी मन्त्रालयकै अधिकारीहरुको छ ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकेश डंगोलको संयोजकत्वमा गठित समितिमा मन्त्रालयकै कर्मचारीहरू सदस्य रहेका छन् । सदस्यहरूमा लेखा उपसचिव रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटीसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय छन् । समितिलाई ४ वटा कार्यगत सर्तसहित अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।

समितिलाई दिइएका कार्यगत सर्तहरू

निगम सुधार सम्बन्धी विगतका अध्ययन प्रतिवेदन र वर्तमान अवस्थाको यथार्थ अध्ययन गरी तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने सुझावहरूको कार्ययोजना तयार गर्ने ।

नेपाल वायुसेवा निगम वा मातहतका कार्यालय र विदेशमा कर्मचारी सरुवा, पदस्थापन, काज, कायममुकायम, निमित्त लगायतको जिम्मेवारी सेवा, समूह र उपसमूह अनुकूल भए/नभएको तथा करार वा ज्यालादारीमा नियुक्ति र समग्र कर्मचारी व्यवस्थापनको अवस्था छानबिन गरी सुझावसहित सिफारिस गर्ने।

निगमको वायुयान प्रयोग गर्ने यात्रुहरूको सुविधाका लागि अनलाइन टिकट बुकिङ सेवाको अवस्था अध्ययन गरी सुधारका लागि सिफारिस गर्ने।

गन्तव्य क्षेत्रमा उडान भर्ने अन्य वायुसेवा र नेपाल वायुसेवाका यात्रुहरूको संख्या तथा भाडादर सम्बन्धी पछिल्लो ३ महिनाको तथ्याङ्कको तुलनात्मक अध्ययन गरी सुधारका लागि सिफारिस गर्ने।

पर्यटन मन्त्रालयमा आउने अधिकांश नयाँ मन्त्री र सचिवहरूले निगमको अध्ययन गर्ने र समस्या समाधानका लागि सुझाव दिने भन्दै दर्जनौँ प्रतिवेदन तयार पारिसकेका छन्। अहिले पनि विगतका प्रतिवेदनकै अध्ययन गर्ने नाममा नयाँ समिति मात्र बनाइएको आरोप लाग्न थालेको छ।

हालसम्म गठन भएका कुनै पनि समितिका सुझाव कार्यान्वयन नभएको र अहिलेको समिति केवल आफ्नो काम देखाउन तथा नयाँ आउन लागेको सरकारसँग नजिकिन पर्यटन सचिवले गरेको प्रयास मात्र भएको निगमका पूर्वसञ्चालक समिति सदस्य अच्युतराज पहाडीले बताएका छन्।

उनका अनुसार निगमलाई यतिबेला सक्षम ‘महाप्रबन्धक’ चाहिएको छ। बेलैमा नेतृत्व दिन नसक्ने अनि “निगमले काम गरेन” भन्दै बहानाबाजी र अनेकौँ तिकडम गर्नुको कुनै औचित्य नरहेको उनको बुझाइ छ।

यसअघि सरकारद्वारा गठित विभिन्न औपचारिक समितिहरूले एक दर्जनभन्दा बढी अध्ययन प्रतिवेदन बुझाइसकेका छन्। निगमको सुधार गर्न चाहने सरकारका लागि विगतकै कुनै एउटा प्रतिवेदन कार्यान्वयन गरे पुग्ने जानकारहरू बताउँछन्।

बहाल रहेका पर्यटन मन्त्रीलाई यसअघि पूर्वन्यायाधीशको हैसियतमा अध्ययन समितिको संयोजक बनाएर तयार पारिएको प्रतिवेदन गत कात्तिकमा मात्रै सार्वजनिक भएको थियो।

उक्त प्रतिवेदनका सुझावहरू आफैँ मन्त्री हुँदासमेत कार्यान्वयन गर्न नसक्नु र नयाँ सरकार आउन लागेको बेला एक साता पनि नपर्खिई फेरि अर्को समिति गठन गर्नुलाई हवाई क्षेत्रका जानकारहरूले चासोका साथ हेरेका छन्।