वायुसेवा निगममाथि अध्ययन गर्न समितिमाथि समिति, निगमको अवस्था भने लथालिङ्ग



काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम राजनीतिक दल र नेतृत्वको प्रयोगशालाजस्तै भएको छ ।

निगमको सुधार, विकास र क्षमता विस्तारको लागि दीर्घकालीन निर्णय गर्न नसक्ने राजनीतिक नेतृत्वले पटक पटक निगममाथि अध्ययन गर्ने भन्दै प्रयोग मात्रै गरिरहेका छन् ।

निगममाथि हालसम्म १० औंवटा अध्ययन समिति गठन भइसकेको छ भने ति समितिहरुले प्रतिवेदन बुझाइसकेका छन् । पछिल्लो समय २०८१ असारमा दीपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा गठन भएको समितिले असोजमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदन नै सार्वजनिक नगरेको निगमको अध्ययनका लागि भन्दै बिहीबार फेरि अर्को उपसमिति गठन भएको छ ।

निगममाथि जतिवटा समिति बनेपनि यसको सुधार हुनुको साटो निगमको अवस्था भने लथालिङ्ग नै रहेको छ । निगमको कमजोर व्यवस्थापन, रणनीतिक साझेदारको आवश्यकतालाई वेवास्था, भएकै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्ने र क्षमता विस्तारमा काम गर्न नसकेका कारण निगमको अवस्था भने झनझन कमजोर हुँदै गएको छ ।

विहीबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले निगमको अध्ययन गर्न अर्को एक कमिटी बनाएको छ। बैठकले निगमको ‘समस्या र सुधारका उपाय अध्ययन’ समिति बनाएको छ । संसदीय समितिले नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न संसद सदस्य शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा खनालसहित सांसदहरु छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल सदस्य छन् ।

समितिका सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने गरी समिति बनाएको जानकारी दिए ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने विषयमा छलफल भएको उनले बताए ।

समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ ।

विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातिय र धार्मिक संग्रहालयहरुको निर्माण कार्यलाई तिब्रता दिइ पर्यटन प्रवद्र्धनमा जोड दिन समितिले निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममुलक बनाइ कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको नियमित सञ्चालनका लागि संवद्ध निकायहरुबीच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइ सोको प्रगति समय समयमा समितिमा पेश गर्न र राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शिघ्र अघि बढाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरुको उपयोग, योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।


क्लिकमान्डु