निर्माण सामाग्रीको मूल्य बृद्धि

1.1k
Shares

काठमाडौं । केही दिनयता सिमेन्ट र डन्डीको मूल्य बढेको छ ।

यसले गर्दा निर्माण कार्य प्रभावित हुने देखिएको छ । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वको कारण देखाउँदै सिमेन्ट र डन्डीको मूल्य वृद्धि गरिएसँगै निर्माण कार्य पनि प्रभावित हुने देखिएको हो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार पछिल्लो एकरडेढ सातायता सिमेन्टमा प्रतिबोरा ५०-६० रुपियाँ बढेको छ भने डन्डी प्रतिकेजी २० रुपियाँसम्म बढेको छ ।

सामान्यतया बजारमा ओपिसी सिमेन्ट प्रतिबोरा ७३० बाट बढेर ७९० रुपियाँ र पिपिसी सिमेन्ट प्रतिबोरा ६४० रुपियाँबाट बढेर ६९० रुपियाँमा कारोबार भएको छ । यस्तै डन्डी प्रतिकेजी ८५ रुपियाँबाट बढेर १०५ रुपियाँमा किनबेच भएको छ ।

सिमेन्ट र डन्डीको कम्पनीको ब्रान्ड र क्षेत्र अनुसार मूल्य फरक भएकाले सबैको एउटै भाउ नभएको तर अहिले बढेको मूल्य औसतमा हेर्दा सिमेन्टमा प्रतिबोरा ५०-६० रुपियाँ र डन्डी प्रतिकेजी २० रुपियाँसम्म बढेको महासङ्घका अध्यक्ष रवि सिंहले बताए ।

उनले पश्चिम एसियाको युद्धको बहाना बनाएर सिमेन्ट र डन्डीको मूल्य यति छिटै बढ्नु स्वाभाविक नभएको टिप्पणी गरे ।

उनले भने, ‘अबको १५ दिनपछि बढाएको भए इन्धनको उपलब्धताको अवस्था देखाएर बढेको स्वाभाविक मानिथ्यो तर एकडेढ सातादेखि नै भाउ बढाइएको छ, कसरी स्वाभाविक मान्ने ?’

अहिले मात्रै नभएर नेपालका सिमेन्ट र डन्डीका उद्योगीले जुनबेला निर्माणको सिजन हुन्छ, त्यो बेला बजारको मागभन्दा कम उत्पादन गरेर कृत्रिम अभाव गराई मूल्य बढाउने प्रचलन रहेको उनले बताए ।

यस पटक पश्चिम एसियाको युद्धले त्यसलाई झनै सहज बनाएको उनले बताए ।

यस वर्ष निर्माण कार्य पूरै प्रभावित हुने भन्दै उनले भने, ‘नबढ्दै त मूल्य बढेको छ, साँच्चिकै बढेर आएमा अझै कति बढ्ने हो रु यस्तो अवस्थामा कसरी निर्माण कार्यले गति लिन सक्छ ?’

सिमेन्ट र डन्डी उद्योगी भने अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वको अवस्था हेर्दा तत्काल रोकिने अवस्था नरहेकाले निर्माण सामग्रीको मूल्य अझै बढ्ने बताउँछन् ।

उद्योगीले सिमेन्ट र डन्डीको उत्पादन नेपालमा भए पनि त्यसलाई चाहिने कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने र कच्चा पदार्थको मूल्य बढेकाले त्यसको असर सिमेन्ट र डन्डीको मूल्यमा परेको दाबी गर्दै आएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि सिमेन्ट र डन्डीलक्षित अनुगमन गर्दै आएको जनाएको छ ।

विभागका निर्देशक नरहरि तिवारीले उजुरीका आधारमा सिमेन्ट र डन्डीको डिपोमा हेर्दा मूल्य बढेको पाइएको जानकारी दिए ।

सिमेन्ट र डन्डीका सबै जसो उद्योग उपत्यकाबाहिर रहेकाले बजारको माग र यसको मूल्यवृद्धिको अवस्था हेरेर उद्योगसम्म अनुगमन हुने र चित्तबुझ्दो नभए कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्ने उनको भनाइ छ ।

निर्देशक तिवारीले तीनचार दिनयता उपत्यकाका १२र१५ वटा सिमेन्ट र डन्डीका डिपो तथा आपूर्ति व्यवस्थाको अनुगमन गरी मूल्यको अवस्था बुझ्ने काम गरेको बताए ।