पश्चिम एसिया युद्ध: ७ नेपाली पक्राउ, २० घाइते

42
Shares

काठमाडौं । पश्चिम एसियामा इरान–इजरायल–अमेरिका द्वन्द्व चर्किँदै जाँदा त्यसको प्रभाव खाडी मुलुकहरूमा रहेका नेपाली नागरिकहरूमा पनि देखिएको छ ।

सामाजिक सञ्जालमा अफवाह फैलाउने तथा संवेदनशील फोटो–भिडियो पोस्ट गरेको आरोपमा हालसम्म ७ जना नेपाली पक्राउ परेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार संयुक्त अरब इमिरेट्स मा ३, साउदी अरब मा ३ र कुवेत मा १ जना नेपाली पक्राउ परेका हुन् ।

इरानले यूएईमा गरेको मिसाइल तथा ड्रोन आक्रमणपछि खसेका वस्तुहरूको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

यूएई सरकारले यस्ता सामग्री खिच्न तथा सार्वजनिक गर्न पहिले नै रोक लगाएको भए पनि त्यसको उल्लंघन भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । स्थानीय कानुनअनुसार दोषी ठहरिए एक वर्षसम्म कैद, त्यसपछि देश निकाला तथा १ लाख यूएई दिरामसम्म जरिवाना हुने प्रावधान रहेको छ।

यसैबीच, परराष्ट्र मन्त्रालयले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ। हालसम्म सरकारको अनलाइन दर्ता प्रणालीमा ८२ हजार १०० नेपाली नागरिक आबद्ध भइसकेका छन्।

द्वन्द्वकै क्रममा यूएईमा एक नेपालीको मृत्यु भएको छ भने विभिन्न घटनामा २० जना घाइते भएका थिए। जसमध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी एक जनाको अवस्था सामान्य रहेको बताइएको छ।

हवाई उडानमा अवरोध आएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूको पनि व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । दोहा, दुबई र जेद्दा लगायत स्थानमा रहेका नेपालीहरू सुरक्षित रूपमा फर्काइएको छ भने कुवेत सिटी मा रोकिएका ३३ जनालाई समेत गन्तव्यतर्फ पठाइसकिएको छ ।

मन्त्रालयले द्वन्द्वको संवेदनशील अवस्थामा स्थानीय कानुन उल्लंघन हुने गतिविधि नगर्न, विशेषगरी फोटो–भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा सेयर नगर्न सबै नेपालीलाई कडा आग्रह गरेको छ। साथै, सरकारले अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहललाई पनि निरन्तरता दिइरहेको जनाएको छ ।

Skip This