एक नेपाली होर्मुजबाट इरानको कब्जामा

609
Shares

काठमाडौं । इरानले होर्मुज क्षेत्रमा कार्यरत एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको जनाइएको छ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार होर्मुज क्षेत्रमा जहाजमा काम गरिरहेका क्रममा इरानले उक्त जहाजका सबै क्रु सदस्यलाई नियन्त्रणमा लिएको थियो, जसमा झा पनि परेका हुन् । यसबारे जानकारी उनका आफन्तहरूले मन्त्रालयलाई गराएका थिए।

अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वमा रहेका नेपाली नागरिकहरू प्रभावित भएका छन् । सरकारले त्यहाँ रहेका नेपालीहरूलाई सम्पर्कमा आउन आग्रह गरेपछि हालसम्म ८२ हजार १ सय जनाले आफ्नो विवरण दर्ता गराएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रारम्भमा करिब ६ हजार जनाले आफू असुरक्षित भएको जानकारी दिएका थिए। तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनले बताए।

मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा फोनकलसहित कुल १ सय ७० पटक सम्पर्क भएको पनि उनले जानकारी दिए। सुरुका दिनहरूमा सुरक्षा सम्बन्धी जिज्ञासा धेरै आएको भए पनि अहिले भने श्रम स्वीकृति कहिले खुल्छ भन्ने विषयमा बढी चासो देखिएको उनले बताए।

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक समन्वय गरिरहेको जनाएको छ। साथै हाल कुनै पनि नेपाली नागरिक विदेशी ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको जानकारी दिइएको छ।

सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएको र आवश्यक परे उद्धारका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ।

Skip This