
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी छोरीले सेनाको ट्यांक चलाइरहेको र किम पछाडि बसिरहेको तस्बिरहरू शुक्रबार सरकारी समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।
विश्लेषकहरूका अनुसार, यो उनलाई किमको उत्तराधिकारी बनाउनका लागि दिइएको तालिम हुनसक्छ ।
जु ए नामले चिनिने किमकी छोरी करिब १३ वर्षकी भएको विश्वास गरिन्छ । उनी पछिल्ला महिनाहरूमा आफ्ना बुबासँग बारम्बार सार्वजनिक कार्यक्रमहरूमा देखा परिरहेकी छन् ।
भर्खरैका तस्बिरहरूमा उनी ट्यांकको चालक बस्ने ठाउँबाट अत्यन्तै एकाग्र भएर बाहिर हेरिरहेकी देखिन्छिन् र उनका कपाल हावामा उडिरहेका छन् । छेउमै किम मुस्कुराउँदै ट्यांकमा अडेस लागिरहेका छन् भने तीनजना बर्दीधारी सैन्य अधिकारीहरू ट्यांकमा बसिरहेका छन् ।
यसै महिनाको सुरुमा उनी राइफल ताकिरहेको अवस्थामा देखिएकी थिइन् भने अर्को एक अवसरमा उनले हाते बन्दुक चलाइरहेको तस्बिर खिचिएको थियो ।
उत्तर कोरियाले उनको नाम वा उमेरबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन ।
केसीएनएको रिपोर्ट अनुसार किमले बिहीबार नयाँ प्रकारको ट्यांकको अभ्यासको निरीक्षण गरेका थिए । उक्त ट्यांकले ड्रोन र एन्टी–ट्यांक मिसाइलहरू विरुद्ध उत्कृष्ट प्रहार र रक्षा क्षमता प्रदर्शन गरेको थियो ।
किमले हालका वर्षहरूमा ट्याक्टिकल मिसाइलहरू लगायत देशका परम्परागत हतियारहरूको आधुनिकीकरणका साथै लामो दूरीका ब्यालिस्टिक मिसाइल र आणविक हतियारजस्ता रणनीतिक हतियारहरूको विकासलाई पनि तीव्रता दिएका छन् ।










प्रतिक्रिया