लघुवित्त सम्मेलन हुँदै, लघुवित्तका उपलब्धी, समस्या र चुनौतिबारे छलफल हुने

0
Shares

काठमाडौं । काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ। लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्न यही चैत ८ र ९ गते सम्मेलन हुन लागेको हो।

नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी तथा सेवाग्राही सदस्य गरी ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित दुई दिनसम्म चल्ने सम्मेलनअन्तर्गत सात वटा सत्रमा लघुवित्तका विविध आयामहरूमा सामूहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिनेछ।

जसअन्तर्गत ‘लघुवित्त सदस्यहरूको अनुभव र उन्नतिबारे मनका कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रूपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौती र सावधानीका उपाय’, ‘युवा स्वरोजगार, थ्री जिरो क्लब र लघुवित्त’ तथा ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ।

विश्वका १७७ देशमा लघुवित्त कार्यक्रम सञ्चालन भए पनि सदस्यहरूको सम्मेलन गर्ने नेपाल एकमात्र देश रहेको स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए। ‘लघुवित्तका नीति निर्माता तथा नियामकहरूको सहभागितामा विश्व, क्षेत्रीय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ,’ उनले भने, ‘तर सदस्यहरूलाई सहभागी गराई उनीहरूको सम्मेलन गर्ने अभ्यास नेपालमै मात्र छ।’ सदस्यहरू नै लघुवित्तका अभिन्न अंग भएकाले उनीहरूलाई केन्द्रविन्दुमा राखेर सम्मेलन हुँदै आएको उनले बताए।

स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई वर्षमा लघुवित्त सदस्य सम्मेलन आयोजना गर्दै आएको छ। ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारासहित पहिलो सम्मेलन २०७३ मा भएको थियो।

‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ नाराका साथ दोस्रो सम्मेलन २०७५ मा भएको थियो। ‘घरघरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ’ नारासहित तेस्रो सम्मेलन २०७८ मा तथा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित चौथो सम्मेलन २०८० मा सम्पन्न भएको थियो।

श्रेष्ठका अनुसार लघुवित्तले चुलोचौकोमा सीमित महिलाहरूलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको, बालबालिकालाई विद्यालय पठाउन उत्प्रेरित गरेको तथा विदेशबाट फर्केका युवाले लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका उदाहरणहरू छन्।

तर, सरकारले लघुवित्त संस्थाहरूलाई कम्पनी मोडेलमा रूपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाँड्ने होडबाजी बढेको उनले बताए। यसका लागि आवश्यकताभन्दा बढी ऋण प्रवाह गर्दा विकृति बढेको उल्लेख गर्दै उनले अस्वस्थ प्रतिस्पर्धालाई सुधार गरी लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने बताए। यसबाट नेपालको ग्रामीण अर्थतन्त्रले काँचुली फेर्ने उनको दाबी छ।

अब लघुवित्त संस्थाहरूले युवालाई स्वरोजगार बनाउन केन्द्रित हुनुपर्ने उनले बताए। ‘अब लघुवित्तहरूले युवालाई लक्षित गरेर कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भने, ‘यसैका लागि हामीले यस वर्षको सम्मेलनको नारा पनि युवा उद्यमशीलतामा केन्द्रित गरेका छौं।’

हाल लघुवित्त वित्तीय संस्थाहरू तथा लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरूले देशका ७७ वटै जिल्लामा सेवा प्रदान गरिरहेका छन्। लघुवित्तहरूले वित्तीय सेवाका साथै ‘क्रेडिट प्लस’ कार्यक्रममार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन्।

यस्तै ‘थ्री जिरो’ अवधारणाअन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित युवाहरूको क्लब गठन गरी काम भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असोजसम्म ५२ वटा लघुवित्त वित्तीय संस्थाले देशभर ५ हजार शाखामार्फत ६२ लाख ८३ हजार सर्वसाधारणलाई कार्यक्रममा आबद्ध गराएका छन्। जसमध्ये ९५ प्रतिशत महिला छन्।

२७ लाख सदस्यले लघुवित्त संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। लघुवित्त संस्थाहरूले ४ खर्ब ९५ अर्बभन्दा बढी कर्जा लगानी गरेका छन्। लघुवित्त बाहेक ५० वटा सहकारी संस्थाहरू पनि लघुवित्त सेवा सञ्चालन गर्दै आएका छन्।

Skip This