
काठमाडौं । यातायात पूर्वाधार निर्देशनालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सँग सम्बन्धित कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तामाङसँग सम्बन्धित कान्छाराम कन्स्ट्रक्सनसँग गरिएको ठेक्का सम्झौता किन नतोड्ने भन्ने विषयमा स्पष्टीकरण माग गरेको हो ।
कार्यालयका अनुसार उक्त कम्पनीले जिम्मा लिएका विभिन्न सडक निर्माण कार्य समयमै सम्पन्न नगरी अलपत्र छाडेको छ । पटक–पटक ताकेता गर्दा पनि सम्झौताको शर्तअनुसार काम नगरेको, म्याद थप हुँदा पनि प्रगति नदेखिएको कारण सार्वजनिक खरिद ऐनअनुसार सम्झौता तोड्ने तयारी गरिएको जनाइएको छ ।
सूचनामा मनासिव कारण भए सात दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ । अन्यथा कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफत गर्ने तथा कानुनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकामा पर्ने बाह्रबिसे–धुस्कुन–पिस्कर सडक स्तरोन्नति आयोजनामा प्रगति सन्तोषजनक नभएको उल्लेख छ।










प्रतिक्रिया