
काठमाडौं । नेपाल र जर्मनीबीच सन् १९५८ देखि सुदृढ कूटनीतिक सम्बन्ध रहँदै आएको छ । तर, आजको तीव्र रूपमा परिवर्तनशील विश्वअर्थतन्त्रको सन्दर्भमा दुई देशबीचको विशाल व्यापार तथा आर्थिक सम्भावना अझै पर्याप्त रूपमा अन्वेषण र उपयोग हुन सकेको छैन ।
जर्मन बिजनेस स्कूलका ३० सदस्यीय प्रतिनिधिमण्डलले काठमाडौंमा एक अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउँदै नेपालको आर्थिक परिदृश्यबारे गहिरो समझ विकास गर्ने, ज्ञान आदान–प्रदान गर्ने तथा सहकार्यका अवसरहरू खोज्ने प्रयास गरेको छ । छलफलमा व्यावसायिक सीप, शैक्षिक ज्ञान र व्यवहारिक अनुभवलाई कसरी प्रयोग गरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ गर्न र उद्यम विकासलाई प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो ।
गेट्स कलेजमा आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भल्जले नेपाल–जर्मनीबीचको दीर्घकालीन सम्बन्धबारे प्रकाश पार्दै पूर्वाधार, ऊर्जा, पर्यटन, दिगो विकास तथा प्राविधिक तथा व्यवसायिक तालिमजस्ता क्षेत्रमा जर्मनीले पुर्याउँदै आएको सहयोगबारे उल्लेख गरे । उनले उक्त प्रतिनिधिमण्डलले नेपालको आर्थिक वातावरण तथा द्विपक्षीय सम्बन्धबारे महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे । साथै, सम्भावित राजनीतिक परिवर्तन र व्यापार तथा लगानीका नयाँ अवसरहरूका कारण नेपालको भविष्यप्रति आफू आशावादी रहेको पनि उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले नेपाल–जर्मन उद्योग वाणिज्य संघले द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बनाउन खेलेको सक्रिय भूमिकाको प्रशंसा गरिन् । उनले युवा प्रतिनिधिहरूको उत्साहको सराहना गर्दै यस्ता कार्यक्रमहरूले पारस्परिक सिकाइलाई प्रवर्द्धन गरी दुवै देशका लागि दक्ष, सक्षम र उद्यमशील पुस्ता निर्माण गर्न मद्दत गर्ने बताइन् ।
नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले शैक्षिक ज्ञानलाई व्यवहारिक कर्पोरेट अनुभवसँग जोड्ने आवश्यकता औंल्याए । उनले जर्मन बिजनेस स्कूलको मोडेलले अन्तर्राष्ट्रिय व्यापार, लजिस्टिक्स, वित्त तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा शिक्षा र उद्योगबीच सफल समन्वय गरेको बताए । विश्वका अग्रणी वित्तीय केन्द्रहरूमध्ये एकमा आधारित उक्त संस्थाले ४० वर्षभन्दा बढी समयदेखि व्यावसायिक तालिम प्रदान गर्दै आएको र विश्वव्यापी उद्यमहरूमा योगदान दिने दक्ष जनशक्ति उत्पादन गरेको पनि उनले उल्लेख गरे । शैक्षिक अध्ययनसँगै व्यवहारिक अनुभव जोड्ने द्वैध शिक्षा प्रणाली नेपालका लागि पनि उपयोगी रहेको बताउँदै उनले प्रतिनिधिमण्डलका विद्यार्थीहरूलाई भविष्यका विश्व आर्थिक नेतृत्वकर्ता का रूपमा चित्रण गरे ।
सोल्टी ग्रुप अफ कम्पनीजका उपाध्यक्ष सुदर्शन चापागाईंले पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा लगानीका सम्भावनाबारे प्रकाश पारे । उनले सोल्टी ग्रुपले जर्मनीमा दुई होटल स्थापना गर्दै अन्तर्राष्ट्रिय विस्तार गरिसकेको र पर्यटन प्रवर्द्धन तथा दक्ष जनशक्ति विकासमा योगदान पुर्याइरहेको जानकारी दिए । जर्मन प्रतिनिधिमण्डलको भ्रमणलाई भविष्यका सहकार्य र आर्थिक साझेदारीका लागि महत्वपूर्ण अवसरका रूपमा उनले व्याख्या गरे ।
प्रतिनिधिमण्डलका नेपाल संयोजक डा. गोपाल प्रसाद तिवारीले भ्रमणकारी विद्यार्थीहरूले प्राप्त गर्ने अनुभव र ज्ञानले नेपाल–जर्मनी आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले यस्ता अन्तरक्रियाहरूले युवा पेशेवरहरूलाई नेपालको व्यावसायिक वातावरण बुझ्न र दुवै देशका लागि लाभदायक उद्यमशील पहलहरू गर्न प्रेरित गर्ने बताए ।
प्रतिनिधिमण्डलका तर्फबाट ड्यानियल बेकनहस र थोर्स्टनले जर्मन बिजनेस स्कूलद्वारा प्रदान गरिने कडा र प्राविधिक रूपमा उन्नत तालिमबारे जानकारी दिए । उनीहरूले विद्यार्थीहरूले विश्वव्यापी कर्पोरेट वातावरणका लागि तयार पार्ने उद्देश्यले संरचित र गहन तालिम कार्यक्रमहरू पूरा गर्नुपर्ने उल्लेख गर्दै, यस्ता कार्यक्रमहरू खर्चिलो भए पनि यसले सहभागीहरूलाई सफल पेशेवर तथा उद्यमी बन्न आवश्यक सीप र अनुशासन प्रदान गर्ने बताएका छन् ।







प्रतिक्रिया