अमेरिका इरानमा फस्दा उत्तरपूर्वी एसियामा हलचल, ‘क्रिन्क अलायन्स’ले एकध्रुवीयतालाई अन्त्य गर्ला ?


काठमाडौं । अहिले विश्व भूराजनीतिक तनावले आक्रान्त बनेको छ । अनेकौं मोर्चाका संघर्षहरू एकैपटक तीव्र बनिरहेका छन् ।

पश्चिम एसियामा अमेरिका इरानसँगको प्रत्यक्ष युद्धमा नराम्ररी फसेको छ । उता ताइवान जलयोजकमा चीनले विशाल स्तरको घेराबन्दी अभ्यास गरिरहेको छ । साथसाथै, उत्तर कोरियाले हालै मात्र जापानको समुद्रतर्फ १० वटा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ । पश्चिमी सैन्य गठबन्धन नेटोलाई कमजोर बनाउनका लागि लडिएको युक्रेन युद्ध पनि सुस्त गतिमा कायम छ । यी घटनाक्रमले अमेरिकाको सैन्य सामर्थ्यलाई हदैसम्म तन्काएको छ ।

वर्तमान संकट फेब्रुअरी २८ मा सुरु भएको हो । अमेरिका र इजरायलले इरानको आणविक र सैन्य पूर्वाधारलाई लक्षित गर्दै अपरेशन एपिक फ्युरी नामक ठूलो प्रिएम्पटिभ आक्रमण सुरु गरे । यस अपरेशनले इरानका सर्वोच्च नेता अली खामेनेई सहित इरानको शीर्ष नेतृत्वलाई समाप्त गर्न सफलता पायो । तर, अहिले यो रणनीतिक दुःस्वप्नमा परिणत हुँदै गएको छ ।

अमेरिका इरानी दलदलमा फसेको छ । शीर्ष नेतृत्वलाई सिध्याउने डिक्यापिटेशन स्ट्राइकपछि इरानले आत्मसमर्पण गर्ला भनी अमेरिकाले अपेक्षा गरेको थियो तर इरानले मोजाइक डिफेन्स अर्थात् विषम (एसिमेट्रिक) आक्रमणको सञ्जाललाई सक्रिय गरेर दह्रो प्रतिकार गर्यो ।

अमेरिकाका सैन्य अड्डाहरू रहेका खाडी मुलुकहरूमा आक्रमण गर्नुका साथै इजरायलमा पनि निरन्तर आक्रमण जारी राखेको इरानले हर्मुज जलयोजकलाई पनि सफलतापूर्वक बन्द गरिदिएको छ । विश्वको २० प्रतिशत तेल आपूर्ति ठप्प भएपछि बजारमा हाहाकार छ ।

कुन लक्ष्यका साथ इरानमा आक्रमण गरेको भनी स्पष्ट नभएको ट्रम्प प्रशासनले इरानसँग वार्ताका लागि मध्यस्थ मुलुकहरूमार्फत पहल गरेको भए पनि इरानले वार्तामा बस्न अस्वीकार गरेको छ । भविष्यमा पुनः अमेरिका र इजरायलले आफूमाथि आक्रमण गर्ने स्थिति उत्पन्न नहुने शर्तमा मात्र वार्ता गर्ने इरानको अड्डी छ ।

इरानले अमेरिका, इजरायल र उसका साझेदारहरूलाई हर्मुज भएर जहाज चलाउन नदिएपछि त्यो खुलाउनका लागि अमेरिकी जलसेना असफल भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो मुलुकका साथै आफ्ना अन्य साझेदारहरूसँग सहयोग मागेको भए पनि उनीहरूले चिसो प्रतिक्रिया दिएका छन् ।

अमेरिका विमानवाहक जहाजहरू, एजिस मिसाइल रक्षा प्रणालीहरू र द्रुत प्रतिक्रिया दिने मरिन युनिटहरू लगायतका आफ्ना महत्त्वपूर्ण हतियार इन्डो–प्यासिफिकबाट हटाएर पर्सियाली खाडीमा ल्याउन बाध्य भएको छ । जापानको ओकिनावामा रहेका आफ्ना सैनिकहरूलाई पनि अमेरिकाले पश्चिम एसियातर्फ पठाएको छ । तर, इरानको भीषण आक्रमणमा परी यूएसएस जेराल्ड आर फोर्ड युद्धपोत मर्मतका लागि ग्रीस लगिएको छ भने यूएसएस अब्राहम लिंकन युद्धपोत पर्सियाली खाडीभन्दा पर पुगेको छ।

पर्सियाली खाडीमा अमेरिका केन्द्रित रहँदा एसियामा शक्तिको रिक्तता सिर्जना भएको छ । त्यस अवस्थाबाट लाभ उठाउन चीन र उत्तर कोरिया तयार भएका छन् ।

अमेरिकी जलसेनाले हर्मुज जलयोजक खोल्नका लागि संघर्ष गरिरहँदा चीनले प्रशान्त क्षेत्रमा विद्यमान स्थिति परिवर्तन गर्नेतर्फको कदम चालेको छ । चीनको जनमुक्ति सेना (पीएलए) ले जस्टिस मिसन २०२६ नाम दिएर ठूलो घेराबन्दीको अभ्यास गरिरहेको छ । यो प्रभावकारी रूपमा ताइवानको पूर्ण नाकाबन्दीका लागि गरिएको अभ्यास हो ।

यो विगतको जस्तो नियमित सैन्य अभ्यास होइन । पहिलोपटक चिनियाँ कोस्ट गार्डका जहाजहरू ताइवानको सन्निकट क्षेत्रभित्र सञ्चालन भइरहेका छन् । पीएलएले लाइभ–फायर जोनहरू तोकेको छ । त्यसले ताइवानको प्राथमिक ढुवानी मार्गहरू अवरुद्ध गरिदिएको छ ।

अमेरिका इरानमा केन्द्रित रह्यो भने ताइवान गुमाउँछ । ऊ ताइवानको रक्षा गर्न अघि बढ्यो भने पश्चिम एसियामा उसका सहयोगीहरू (इजरायल र खाडी मुलुकहरू) इरान र उसका प्रोक्सीहरूबाट असुरक्षित रहन्छन्

इरान संकटमा मध्यस्थता गर्न वा हर्मुज जलयोजक सुरक्षित गर्नका लागि अमेरिकाले गरेका अनुरोधहरूलाई अस्वीकार गरेर चीनले अमेरिकालाई पश्चिम एसियामा स्रोतहरू खर्च गराइरहँदा ताइवान जलयोजकमा आफ्नो स्थिति सुदृढ गरिरहेको छ । हुन पनि अमेरिका एकैपटक सबै ठाउँमा पुग्न सक्दैन र त्यस असमर्थताको लाभ चीनले उठाउन खोजिरहेको छ ।

हर्मुज र ताइवान जलयोजकमा तनाव चर्किरहेको बेलामा उत्तर कोरियाले पनि शक्तिप्रदर्शन गरिरहेको छ । गत शनिबार (मार्च १४) प्योङयाङले जापान सागरतर्फ एकै घण्टामा १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।

विगतमा उत्तर कोरियाको शक्तिप्रदर्शनलाई अमेरिका तथा दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासविरुद्धको प्रतिक्रिया तथा संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध खुकुलो बनाउन दबाब दिने प्रयासका रूपमा हेरिन्थ्यो । तर, अहिलेको प्रहारले खतरनाक उद्देश्य लिएको विश्लेषकहरू बताउँछन् । वास्तवमा अहिले उत्तर कोरियाले विश्वव्यापी सुरक्षा संरचनालाई दबाब दिने गरी परीक्षण गरिरहेको छ ।

ठूलो संख्यामा मिसाइल प्रहार गरेर किम जोङ उनले अमेरिका र उसका सहयोगीहरू (जापान र दक्षिण कोरिया) लाई उनीहरूको सीमित इन्टरसेप्टर मिसाइल भण्डार खर्च गर्र्नका लागि बाध्य पार्ने परिस्थिति सिर्जना गरिरहेका छन् ।

पश्चिम एसियामा इरानी ड्रोन र मिसाइल आक्रमणका कारण अमेरिकी मिसाइल रक्षा भण्डार पहिले नै सकिँदै गएको अवस्थामा उत्तर कोरियाको हरेक प्रक्षेपणले प्रशान्त क्षेत्रमा मिसाइलको अभाव गराउँछ । यो एक क्लासिक ‘ओभरलोड’ रणनीति हो ।

यसले रक्षकको भूमिका निर्वाह गर्ने अमेरिकालाई तीनवटा समान रूपमा महत्त्वपूर्ण मोर्चाहरूमध्ये एउटा रोज्न बाध्य पार्छ ।

विश्लेषकहरूले चीन, रुस, इरान र उत्तर कोरियालाई क्रिन्क अलायन्स वा एक्सिस अफ अपहीभल (उथलपुथलको अक्ष) का रूपमा चित्रित गर्दै यिनीहरूको समन्वयात्मक चालका बारेमा चेतावनी दिँदै आएका छन् । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थालाई अन्त्य गर्ने साझा लक्ष्य यी चार राष्ट्रहरूले लिएका छन् ।

आधुनिक युद्धको जटिलता (ड्रोन, साइबर–आक्रमण, हाइपरसोनिक मिसाइल) ले गर्दा अमेरिका जस्तो महाशक्ति पनि एकैसाथ हुने संकटहरूका कारण पक्षघातको स्थितिमा पुगेको छ

इरान, उत्तर कोरिया र चीनले ड्रोन प्रविधि र मिसाइल टेलिमेट्रीको साझेदारी बढाएको पश्चिमी गुप्तचर निकायहरूको निष्कर्ष छ। उत्तर कोरियाले प्रहार गरेका १० वटा मिसाइलहरूले सम्भवतः अमेरिकाका सैन्य आधारहरूका विरुद्ध इरानले गरेको ड्रोन आक्रमणबाट सिकेका पाठहरू उपयोग गरेका थिए ।

इरानलाई रुस र चीनले अमेरिकी हतियारहरूको स्थान पत्ता लगाएर नष्ट गर्न सहायता गरिरहेका छन् । चीनको वाईएलसी–८बी एन्टी स्टेल्थ रेडारले अमेरिकाको गोप्य (स्टेल्थ) विमानमा रहेका रेडार–एब्जोर्बेन्ट कोटिङको प्रभावकारितालाई घटाउने लो–फ्रिक्वेन्सी वेभ उपयोग गर्छ । त्यसैको बलमा इरानले अमेरिकी हतियारहरूलाई सटीक प्रहार गरी ध्वस्त पारिरहेको छ ।

उता रुसले कानोपस–भी स्याटेलाइट लगायतको उन्नत निगरानी सञ्जालमार्फत इरानलाई चौबीसै घण्टा चल्ने अप्टिकल र रेडार इमेजरी उपलब्ध गराएको छ । यसको सहायताले इरानले सटीक प्रहार गर्न सक्षमता प्राप्त गरेको छ ।

कुवेतमा रहेको अमेरिकी सैन्य अड्डामा ड्रोन प्रहार गरी ६ जना अमेरिकी सैनिकको सफाया गर्न इरानलाई रुसको त्यही प्रविधिले सहयोग गरेको थियो ।

यी सबै घटनाक्रमलाई हेर्दा अमेरिकाका लागि बहुमोर्चा दुविधा (मल्टीफ्रन्ट डाइलेमा) उत्पन्न भएको अनुभव हुन्छ । अमेरिका इरानमा केन्द्रित रह्यो भने ताइवान गुमाउँछ । ऊ ताइवानको रक्षा गर्न अघि बढ्यो भने पश्चिम एसियामा उसका सहयोगीहरू (इजरायल र खाडी मुलुकहरू) इरान र उसका प्रोक्सीहरूबाट असुरक्षित रहन्छन् (हुतीहरू त अझ यस युद्धमा सहभागी भएकै छैनन्) । अमेरिकाले ताइवान र इरान दुवैमा एकैपटक ध्यान केन्द्रित गर्ने प्रयास गरेमा उत्तर कोरियाका लागि दक्षिण विरुद्ध कदम चाल्ने ढोका खुला छोड्छ ।

इरानले हर्मुज जलयोजक बन्द गर्दा चीनलाई फाइदा भइरहेको छ । चीन जाने जहाजहरूलाई इरानले रोकेको छैन । त्यसमाथि उसले हर्मुज भएर जाने तेल युआनमा कारोबार हुनुपर्ने शर्त तेर्स्याएर पेट्रोडलरको प्रभुत्वलाई क्षीण बनाउन खोजेको छ ।

यसले पश्चिमको हालीमुहाली रहेको कथित नियममा आधारित व्यवस्थालाई क्षति गर्दै बहुध्रुवीय विश्वतर्फको संक्रमणलाई गति दिएको छ ।

चीन, रुस, इरान र उत्तर कोरियाले अमेरिकासँग अझै पनि विश्वको नेतृत्व गर्ने राजनीतिक इच्छाशक्ति र सैन्य गहिराइ छ कि छैन भनेर परीक्षण गरिरहेका छन्

इरान, ताइवान, युक्रेन र कोरियाली प्रायद्वीपलाई ‘हटस्पट’हरूको श्रृंखलाका रूपमा मात्र हेर्न मिल्दैन । यसलाई एकध्रुवीय व्यवस्थाको अन्त्यको संकेतका रूपमा हेर्नुपर्छ ।

आधुनिक युद्धको जटिलता (ड्रोन, साइबर–आक्रमण, हाइपरसोनिक मिसाइल) ले गर्दा अमेरिका जस्तो महाशक्ति पनि एकैसाथ हुने संकटहरूका कारण पक्षघातको स्थितिमा पुगेको छ ।

भूराजनीतिक रूपमा यी घटनाहरूले नयाँ प्रकारको वैश्विक द्वन्द्वतर्फ संकेत गर्छन् । यो तीन महादेशहरूमा फैलिएको थकाउने युद्ध (वार अफ एट्रिशन) हो ।

यसमा पश्चिम एसिया संसाधन मोर्चा हो जहाँ पश्चिमको ऊर्जा र आर्थिक स्थिरता दाउमा छ । ताइवान जलयोजक भूराजनीतिक मोर्चा हो जहाँ सामुद्रिक स्वतन्त्रता र लोकतान्त्रिक सार्वभौमसत्ताको भविष्यको निर्णय भइरहेको छ । त्यस्तै कोरियाली प्रायद्वीप ध्यान भड्काउने मोर्चा हो जुन अमेरिकी सेनालाई अलमल्याउन र उनीहरूलाई अन्य क्षेत्रमा जानबाट रोक्नको लागि डिजाइन गरिएको हो ।

चीन, रुस, इरान र उत्तर कोरियाले अमेरिकासँग अझै पनि विश्वको नेतृत्व गर्ने राजनीतिक इच्छाशक्ति र सैन्य गहिराइ छ कि छैन भनेर परीक्षण गरिरहेका छन् । वाशिङटन स्पष्ट निकास रणनीतिको अभावमा इरानी दलदलमा अझ गहिरो गरी फस्दै गयो भने ताइवानको घेराबन्दी सम्भवतः अभ्यासबाट आक्रमणमा परिणत हुनेछ । त्यसलाई रोक्न अमेरिका असमर्थ भएमा उसको बाँकी रहेको थोरबहुत प्रतिष्ठा धूलिसात् हुनेछ ।