
काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याएको छ । फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।
२०८२ फागुन ९ गतेको मन्त्रीपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको छ ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निःशुल्क राखिएको छ । धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ । यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने प्रमुख जोशीले जानकारी दिए । जोशीका अनुसार यी दवै क्षेत्र सवारी साधनले दैनिक प्याक हुने गरेको छ ।
सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले जानकारी दिए । उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ । त्यस्तै अपाङ्गमैत्री पार्किङ स्थानको पनि व्यवस्था गरिएको जोशीले बताएका छन् ।
सो पार्किङ स्थलमा नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भित्र्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए ।
पार्किङ क्षेत्र रहेको तीन वटा तलामा हाल प्रत्येक तलामा १० वटादरले ३० वटा अग्नि सुरक्षा उपकरण पनि जडान गरिएको छ ।







प्रतिक्रिया