
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भएको छ । फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनपछि मतगणना सम्पन्न भइसकेको र नयाँ सरकार बन्ने दिशातिर अघि बढ्दै गर्दा आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
यसअघि फागुन २८ गते मन्त्रिपरिषद् बैठक बस्ने भने पनि सरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिइन् । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर निर्णय लिइने बताइन् । ‘अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार वर्तमान मन्त्रिपरिषद्को अन्तिम बैठक बस्न लागेको हो।
फागुन २५ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने बताएकी थिइन । तर, त्यसयता मन्त्रिपरिषद्को बैठक बसेको छैन।
मन्त्रिपरिषद् बैठकले प्रतिवेदन पारित गर्न, तर कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै हुने जनाइएको छ । प्रतिवेदनले भदौ २३–२४ को जेन–जी आन्दोलनमा बल प्रयोग गर्ने प्रशासनिक तथा सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस गरेको छ ।







प्रतिक्रिया