
काठमाडौं । सुजल फुडस्को व्यापार रिबाउन्ड हुँदै गएको छ । कम्पनीको व्यापार ३ प्रतिशतले वृद्धि भएकाले व्यापार लयमा फर्किएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ५२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२१ मा १ अर्ब ८० करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सुजलको व्यापार सन् २०२४ मा २५ प्रतिशतले घटेकामा गत आवमा भने ३ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीका अनुसार सन् २०२४ मा मागमा कमी आएसँगै मूल्य वृद्धि हुँदा व्यापारमा असर पुगेको थियो ।
कम्पनीले चालु आवको ५ महिनाको अवधिमा ६६ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ । गत आवको सोही अवधिमा ६२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका चकलेट उत्पादन गर्दै आएको छ । कम्पनीले वेफर, ललिपप, क्यान्डि र टफी उत्पादन गर्दै आएको छ ।
कम्पनीले उत्पादन गर्ने चोकोफन ब्रान्डको वेफर धेरै बिक्री हुने उत्पादन हो । कम्पनीले रसिलो र फ्रेसो ब्रान्डको क्यान्डि उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको देशभर २ सय ३० डिलर छन् । कम्पनीको पोखरामा दुई उत्पादन उद्योग छ । लक्ष्मी ग्रुपद्वारा सञ्चालित कम्पनीको गणेशबहादुर श्रेष्ठ अध्यक्ष हुन् । कम्पनीमा गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकर श्रेष्ठको १७/१७ प्रतिशत स्वामित्व छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६३ करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया