
काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘नन् रेसिडेन्ट’ तथा ‘ओभरसिज’ बैंकिङ विभागको स्थापना गरी सञ्चालनमा ल्याएको छ । विदेशमा बसाेबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभागको सुरुवात गरेको हाे ।
बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे । नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्ने दाबी गरेको छ ।
बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउने जनाएको छ ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित विभागको कार्यालयमार्फत् विभिन्न सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।
विभागको शुभारम्भसँगै विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आईएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरुको विकास तथा विभिन्न १० भन्दा बढि देशमा रहेका बैंकका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरु प्राथमिकतामा प्रदान गर्दै आएको छ ।
विभागको औपचारिक उद्घाटन कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको बताए । बैंकको यस नयाँ विभागबाट प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने उनले बताए ।
‘यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरुलाई उहाँहरुको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ,’ उनले भने, ‘यस विभागले विभिन्न सेवामार्फत उहाँहरुको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने हाम्रो महत्वपूर्ण प्रयास हो ।’
ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ सुरेन्द्रराज रेग्मीले बैंकले स्थापना गरेको नयाँ विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए ।
‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरुको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,’ सीईओ रेग्मीले भने ।
यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरुसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको उनले बताए ।








प्रतिक्रिया