महासंघ निर्वाचनः मतदाता रिझाउन १३० जनालाई श्रीमतीसहित श्रीलंका टुर

140
Shares

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा मतदातालाई रिझाउन विभिन्न समूहले आकर्षक प्याकेजहरु ल्याएका छन् ।

मतदातालाई रिझाउन उम्मेदवारहरुले विभिन्न प्रकारका आकर्षक प्याकेजहरु ल्याएका हुन् । सुशासनको कुरा गर्न नछाड्ने उद्योगी व्यवसायीहरुले निर्वाचनको मुखमा आफैं मतदाता रिझ्याउन करोडौं रूपैयाँ खर्च गर्ने सुर बनाएका हुन् ।

आगामी चैत २८ र २९ गते वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्य समितिको निर्वाचन हुँदैछ । संशोधित विधानअनुसार यो निर्वाचनबाट वरिष्ठ उपाध्यक्षसहितको छनौट हुने र अर्को पल्टदेखि अध्यक्षसमेतको निर्वाचन हुनेछ।

उक्त निर्वाचनमा अत्यधिक मत प्राप्त गरी विजयी हुन उम्मेदवारले विभिन्न प्रकारका आर्कषक प्याकेजहरु ल्याएका छन् ।

महासंघको वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका दुई जनामध्ये एक जनाले त १३० जना मतदातालाई श्रीलंका घुमाउने आकर्षक अफर ल्याएका छन् । यो प्याकेजमा श्रीमतिलाई पनि साथमा लैजान मिल्छ ।

‘सुरुमा बैंककको लैजाने कुरा थियो, पछि प्राविधिक कारणले श्रीलंका जाने पक्का भएछ,’ एक मतदाता व्यवसायीले क्लिकमान्डुसँग भने, ‘श्रीमती ने लिएर जान पाउन भएपछि त जानै परो नि ।’

चार रात र पाँच दिनको श्रीलंकाको टुरका लागि अहिले १३० जना मतदाताको पासपोर्ट धमाधम संकलन गर्ने काम सुरु भएको छ । पासपोर्ट नभएकालाई निश्चित समय दिएर बनाउन लगाइएको छ ।

‘विदेश घुम्न लैजाने कुरा त सुरूमै थियो, पछि श्रीमतिको पनि पासपोर्ट पठाउनु भन्ने कुरा आयो,’ ती व्यवसायिले भने । श्रीलंका टुर चैतको पहिलो साता सुरू हुनेछ ।

घुम्न जाँदा अरू खर्च मन लागे मतदातालाई पकेट मनिको पनि व्यवस्था गरिएको उनले बताए । ‘१३० मतदाताका लागि करिब २ करोड रुपैयाँ खर्च गर्ने कुरा छ अर्थात् एक मतदाता बराबर करिब डेढ लाख रुपैयाँ,’ उनले भने ।

महासंघको यो बेथितिले सानातिना व्यवसायीले चुनाव लड्नै गाह्रो हुने देखिएको उनी बताउँछन् । ‘यसरी निर्वाचनमा जित हासिल गर्न यस्ता प्याकेजहरुको नाममा खर्च हुँदा उक्त रकम अन्ततः कुनै न कुनै रुपमा उपभोक्ताको टाउकोमै पर्ने सम्भावना हुन्छ,’ ती व्यवसायीले भने ।

अर्का उम्मेदवारले चाहिँ नेपालमै मतदातालाई घुमाउने र खानपानको व्यवस्था गरेका छन् । उनले मतदाताहरुलाई सिन्धुपाल्चोकको सुकुटे स्थित एक रिसोर्टमा एक रात राख्ने प्याकेज बनाएका छन् ।

साथै उनले चैत सुरूमा राजधानीको एक पाँचतारे होटलमा सबै वस्तुगत क्षेत्रहरुको समस्या र तिनको समाधानको उपाय संकलन गर्ने तथा दस्तावेजीकरण गरी गठन हुने नयाँ सरकारलाई बुझाउने तयारी गरेका छन् ।

महासंघको निर्वाचनमा एउटा समूहले वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाललाई अगाडि सारेको छ । यो समूहलाई महासंघको वर्तमान अध्यक्ष चन्द्र ढकालको समर्थन छ । यस्तै अर्को समूहबाट वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष रामचन्द्र संघाईको समूहले पनि प्यानल तयार पारेको छ । संघाई समूहलाई वर्तमान वरिष्ठ उपाध्यक्ष (बिधानका अनुसार अब स्वतः अध्यक्ष हुने) अञ्जन श्रेष्ठको समर्थन छ ।

वस्तुगततर्फका कार्यसमिति उम्मेदवारको नाम करिब बाहिर आएपनि जिल्ला नगर र एसोसिएट्सतर्फको नाम अहिले सार्वजनिक भएको छैन ।

संघाई समूहतर्फ वस्तुगत उपाध्यक्षको उम्मेदवार शिवप्रसाद घिमिरे, एसोसियटमा प्रबलजंग पाण्डे र जिल्लानगर उपाध्यक्ष उम्मेदवार कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

ढकाल समूहतर्फ वस्तुगततर्फ उपाध्यक्षको उम्मेदवार नरेशलाल श्रेष्ठ छन् । सो प्यानलबाट अहिलेसम्म एशोसियटतर्फ ज्योत्स्ना श्रेष्ठको नाम बाहिर आएपनि अन्य उम्मेदवार को हुन् भन्ने टुंगो लागेको छैन ।