सम्पूर्ण अपडेट

मधेश प्रदेश

कांग्रेससहितका दल र मधेशवादीको किल्लामा किन बज्यो रास्वपाको घण्टी ?

एक सिटमा मात्रै कांग्रेसको अग्रता, अन्य पार्टी शून्य

175
Shares

काठमाडौं । पछिल्लो ७० वर्षको अवधिमा कांग्रेस र एमालेको किल्ला थियो मधेश प्रदेश । २०५२ पछि तत्कालीन नेकपा माओवादीले सशस्त्र बिद्रोह गर्दा यो क्षेत्रमा पनि प्रभाव थियो । त्यसपछि सुरु भएको मधेश आन्दोलनले मधेश प्रदेशलाई मधेशवादी दलको उर्वर भूमि बनाएको थियो ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि कांग्रेसको बलियो प्रभाव थियो । यो प्रदेशमा २०४८ देखि २०५६ सम्ममा मधेशी समुदायका पुराना नेताहरू कांग्रेससँग आबद्ध थिए ।

त्यसपछि २०५६ देखि २०७४ सम्ममा एमाले र तत्कालिन नेकपा माओवादीको प्रभाव क्षेत्र बन्यो । तत्कालिन समयमा जनयुद्धपछि माओवादी र एमालेको प्रभाव विस्तार भयो । ग्रामीण क्षेत्रमा कम्युनिष्ट संगठन बलियो बने ।

त्यसपछि २०६४ पछि मधेश आन्दोलनपछि यो प्रदेश मधेशवादी दलको प्रभाव बनेको थियो । मधेश आन्दोलनपछि मधेशवादी दलहरू (फोरम, पछि जनता समाजवादी) को प्रभाव उल्लेखनीय थियो । विशेषगरी यादव, मुस्लिम तथा दलित समुदायमा समर्थन बढेको थियो ।

पछिल्लो समय २०७९ पछि जसपा, जनमत पार्टी, एमाले, कांग्रेसबीच त्रिकोणात्मक प्रतिस्पर्धा । केही क्षेत्रमा नयाँ दलहरूको प्रवेश भएको थियो ।

समयक्रमसँगै यस्ता दलहरूको किल्ला मानिएको मधेशका बासिन्दाले यस पटक भने ती दलहरूलाई मज्जाले बढारेका छन् । किनभने पछिल्लो ३०–३५ वर्षदेखि उही अनुहार, उही राजनीतिक दल, उही सांसद र उही मन्त्री । तर तराई–मधेशको पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, उद्योग, रोजगारी, कृषि लगायतका क्षेत्रमा यस्ता राजनीतिक दलले जादु चलाउन सकेनन् ।

पछिल्लो समयमा लामो समयसम्म मधेशवादी दलले नै मधेश प्रदेश सरकार चलाए पनि सुधार हुनुको साटो झन् कुशासन, चरम भ्रष्टाचार, बेरोजगारीको समस्या, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार निर्माण, उद्योग–कलकारखानाको क्षेत्रमा मधेश प्रदेशलाई निक्कै पछाडि पारे । भलै अन्य प्रदेश विस्तारै विकासको सूचकांकमा आफ्नो स्थान सुधार गरिरहँदा मधेश प्रदेशलाई भने चरम रूपमा पछाडि पारे ।

राजनीतिक रूपमा अत्यन्त सक्रिय जिल्ला भए पनि सिराहा र समग्र मधेश प्रदेश विकासका धेरै क्षेत्रमा अझै पछि परेको देखिन्छ ।

विश्लेषकहरूका अनुसार कमजोर शिक्षा प्रणाली, कृषि आधारित अर्थतन्त्र, औद्योगिक विकासको कमी, राजनीतिक अस्थिरता, सामाजिक असमानता मानिन्छ ।

मधेश प्रदेश मानव विकासमा सबैभन्दा तल छ । यस्तै साक्षरतामा नेपालका सबै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता मधेशमा छ । गरिवी दरमा पनि बहुआयामिक गरिबी पनि यहाँ उच्च छ ।

आधारभूत सेवातर्फ खानेपानीमा पहुँच कम, सरसफाइ सेवा कमजोर छ । स्वास्थ्य पूर्वाधार कमजोर भएका कारण जीवनस्तर सूचकांक पनि कमजोर रहेको विभिन्न अध्ययनले देखाएको छ ।

सर्वसाधारणको आधारभूत विषयमा समेत चासो नदेखाएका कारण उकुसमुकुस र परिवर्तनको संघारमा रहेका मधेशवासीले यसपटकको निर्वाचनमा ती ठूला राजनीतिक दल र मधेशवादी दलको लाल किल्ला भत्काएर नयाँ राजनीतिक दललाई स्थापित गरेका छन् ।

यसैको प्रतिफल हो, मधेशका ८ जिल्लाका ३२ सिटमध्ये २३ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले अग्रस्थानमा छ । अहिलेसम्म ७ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ । एक सिटमा कांग्रेसले अग्रता बनाएको छ र अर्को एक क्षेत्रमा विवादका कारण रोकिएको छ ।

अहिलेसम्म कुन स्थानमा के छ अवस्था ?

निर्वाचन आयोगका अनुसार सप्तरीको क्षेत्र नम्बर १ मा रास्वपाकी नेतृ पुष्पाकुमारी चौधरी १५ हजार ३ सय ८ मत लिएर अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामदेव साह (तेली) ले ३ हजार ७ सय ६१ मत हालसम्म प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादवले ७ हजार ५ सय ६८ मत लिएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उमेशकुमार यादवले ४ हजार १ सय ८ मत ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् ।

सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरीले १० हजार २७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले ७ हजार ६ सय १९ मत ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् ।

सप्तरी ४ मा रास्वपाकै सिताराम साहले २७ हजार ६ सय ८१ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले ९ हजार ४ सय ३ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् ।

सिराहाका चारै निर्वाचन क्षेत्रमा रास्वपाले नै अहिलेसम्म अग्रता लिएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा रास्वपाका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले १२ हजार १ सय ७५ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशंकर यादवले २ हजार ९ सय ७५ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् ।

सिराहा २ मा रास्वपाकै शिवशंकर यादवले २५ हजार ५ सय ९७ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादवले ८ हजार ६२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

सिराहा ३ मा रास्वपाकै शम्भुकुमार यादवले १५ हजार २ सय ८२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ६ हजार ३ सय ८१ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

यस्तै क्षेत्र नम्बर ४ मा रास्वपाकै तपेश्वर यादवले २२ हजार ६६ मत ल्याएर अघि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकले ३ हजार ९ सय २५ मत लिएर प्रतिस्पर्धामा छन् ।

धनुषा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि उनलाई आएको मतको विवादका कारण अहिलेसम्म उक्त स्थानमा मतगणना रोकिएको छ ।

धनुषा क्षेत्र नम्बर २ मा रास्वपाका रामबिनोद यादवले ९ हजार ६ सय ७५ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशप्रसाद यादव परसैलाले २ हजार ७ सय ७९ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

यस्तै क्षेत्र नम्बर ३ मा रास्वपाकै मनिष झाले ४३ हजार ९ सय ८८ मत ल्याएर विजयी भइसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १६ हजार ६ सय ५२ मत ल्याउन सफल भएका थिए ।

धनुषा ४ मा पनि रास्वपाकै अग्रता छ । त्यहाँ रास्वपाका राजकिशोर महतोले १८ हजार १ सय ४० मत ल्याएर अग्रता कायम राखेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले हालसम्म ५ हजार ६ सय ९४ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

यस्तै महोत्तरी १ मा रास्वपाकै प्रमोदकुमार महतोले ३४ हजार ६ सय ३६ मत ल्याएर विजय हासिल गरिसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

महोत्तरी २ मा रास्वपाकै दीपककुमार साहले २० हजार ९ सय २३ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शरदसिंह भण्डारीले ६ हजार ३ सय ४५ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

महोत्तरी ३ मा रास्वपाका उज्ज्वलकुमार झाले ४ हजार ८ सय ८७ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामआधार कापरले १ हजार ३ सय ९४ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

महोत्तरी ४ मा पनि रास्वपाकी गौरीकुमारीले ८ हजार २ सय ५ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रकुमार यादवले २ हजार ४ सय ४५ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

मधेशको सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाकी नीतिमा भण्डारी (कार्की) ले ३३ हजार ७ सय ७४ मत ल्याएर अग्रस्थानमा छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ६ हजार ४ सय ६५ मत ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाकै रबिन महतोले ३२ हजार ८ सय २७ मत ल्याएर अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादवले ६ हजार ९ सय ३८ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै नरेन्द्र साह कलवारले २३ हजार ७० मत ल्याएर अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले ८ हजार १ सय ९८ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कांग्रेसका पूर्व नेता हुँदै स्वतन्त्र र स्वतन्त्र हुँदै पछिल्लो समयमा रास्वपामा प्रवेश गरेका अमरेशकुमार सिंहको प्रतिस्पर्धा अहिले देशभर नै रोचक बनेको छ ।

यो क्षेत्रमा पनि रास्वपाका सिंहले १४ हजार ४ सय ३४ मत ल्याएर अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति थापाले ८ हजार ४ सय ६२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

रौतहटका ४ मध्ये ३ निर्वाचन क्षेत्रमा पनि रास्वपाकै अग्रता छ ।

जसअनुसार क्षेत्र नम्बर १ मा रास्वपाका राजेशकुमार चौधरीले २८ हजार ९ सय ४६ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले ९ हजार ९ सय ४२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मो. फिरदोस आलमले ८ हजार ७ सय १२ मत ल्याउँदै गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले ६ हजार ३ सय ३६ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाका रविन्द्र पटेलले ५ हजार ६ सय ९४ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका गोविन्द चौधरीले ३ हजार ८ सय २७ मत प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नम्बर ४ मा रास्वपाकै गणेश पौडेलले २५ हजार ३ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १० हजार ४ सय २५ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

बारा जिल्लामा पनि ४ निर्वाचन क्षेत्रमै रास्वपाको अग्रता छ ।

जसअनुसार बारा १ मा रास्वपाका गणेश धिमालले २३ हजार ५ सय ३० मत ल्याउँदै गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतप्रसाद मैनालीले ८ हजार ५ सय ७९ मत प्राप्त गरी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ मा रास्वपाकै चन्दनकुमार सिंहले ११ हजार ८ सय ६३ मत ल्याउँदै गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोरप्रसाद यादवले ७ हजार ६ सय ७७ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै अरविन्द साहले ४० हजार ६ सय ९७ मत ल्याएर विजय हासिल गरिसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत ल्याएका थिए ।

क्षेत्र नम्बर ४ मा रास्वपाकै रहबर अन्सारीले ४१ हजार २ सय मत ल्याएर जित हात पारेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६ सय ३९ मत ल्याउन सफल भएका छन् ।

मधेश प्रदेशको अन्तिम जिल्ला पर्साका ४ वटै निर्वाचन क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् ।

जसअनुसार क्षेत्र नम्बर १ मा बुद्धिप्रसाद पन्तले २७ हजार २ सय ७४ मत ल्याएर जित हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा रास्वपाकै सुशीलकुमार कानुले ३० हजार ७ सय ४० मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८ सय ९० मत ल्याउन सफल भएका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै रामाकान्तप्रसाद चौरसियाले १४ हजार ४ सय १२ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ७ हजार ३ सय ६० मत प्राप्त गरी प्रतिस्पर्धामा छन् ।

यस्तै क्षेत्र नम्बर ४ मा रास्वपाकै टेकबहादुर शाक्यले १४ हजार ५ सय ५१ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश रिजालले ६ हजार ८ सय मत ल्याएर प्रतिस्पर्धामा छन् ।