सम्पूर्ण अपडेट

पूर्व अर्थमन्त्रीहरुमा वर्षामान बाहेक अरू सबै जोखिममा, चुनावी प्रतिस्पर्धामा निकै पछाडि

882
Shares

काठमाडौं । चुनावी प्रतिस्पर्धामा रहेका ५ पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुनबाहेक अरू सबै जोखिममा देखिएका छन् । अन्य पूर्वअर्थमन्त्री चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन् ।

पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनबाहेक अरू पूर्वअर्थमन्त्री चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेको निर्वाचन आयोगले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको तथ्यांकले देखाएको छ ।

रोल्पा क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धा गरेका पुन निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीले ल्याएको ८ हजार ६१३ मतभन्दा करिब दोब्बर बढी मतान्तरले अगाडि छन् । पुनले १६ हजार ६९० मत पाएका छन् । यो मतसँगै पुनले विजय हासिल गर्ने लगभग निश्चित भएको छ ।

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव हारेका छन् । रुपन्देही क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धा गरेका पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले ४३ हजार ६८९ मतले हराएका छन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनावमा प्रतिस्पर्धा गरिरहेका शर्मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्मासँग २ हजार मतान्तरले पछाडि छन् । निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार शर्मा चुनाव हार्ने अवस्थामा पुगेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि चुनावी प्रतिस्पर्धामा पछाडि परेका छन् । कार्की रास्वपाका उम्मेदवार दीपककुमार साहभन्दा २ हजार ८८२ मतले पछाडि छन् । देशैभरि बढेको रास्वपाको लहरको प्रभाव सुनसरीमा पनि पर्ने देखिएकाले पूर्वअर्थमन्त्री कार्की पनि यो चुनावी प्रतिस्पर्धामा जोखिममा छन् ।

पूर्वअर्थमन्त्री प्रकाशशरण महत नुवाकोट क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा महत रास्वपाका उम्मेदवारभन्दा ७५० मतले मात्रै पछाडि छन् । मतान्तर कम भएकाले आफ्नो प्रभाव क्षेत्रका मत गणना भएपछि महतले अग्रता लिन सक्ने सम्भावना पनि छ । तर लहरको प्रभावका कारण रास्वपाका विक्रम तिमिल्सिनाले बाजी मार्ने सम्भावना पनि उत्तिकै देखिएको छ ।