सम्पूर्ण अपडेट

भारतीय सञ्चारमाध्यममा बालेनको चर्चा, कतिपयले गरे भारतसँगको सम्बन्धलाई लिएर आशंका

1.5k
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रभावशाली प्रदर्शन गरेसँगै भारतीय सञ्चारमाध्यमहरूले उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चर्चा गरेका छन् ।

हिन्दुस्तान टाइम्सले नेपालको चुनावको लाइभ रिपोर्टिङ गर्दै र्‍याप गायक बालेनको रास्वपा प्रभुत्वशाली पार्टी बनेको लेखेको छ । प्रियाञ्जली नारायणको बाइलाइनमा प्रकाशित समाचारमा बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा–५ मा भइरहेको मतगणनामा विशाल मतले पछि पारिरहेको उल्लेख गरिएको छ ।

बालेनको पार्टीलाई जेनजीले भरपूर समर्थन गरेको र युवाको असन्तोषका कारण गत भदौमा भएको विरोध प्रदर्शनसँगै उनको उदय भएको लेखिएको छ । सामाजिक सञ्जालमा दह्रो उपस्थिति रहेका शाहले डिजिटल पहुँच, संस्थापनविरोधी सन्देश र परम्परागत राजनीतिक अभिजात वर्गको कठोर आलोचनाका कारण नेपालका युवामा उनको फलोइङ बलियो रहेको उल्लेख गरिएको छ ।

त्यस्तै द टाइम्स अफ इन्डियाले पनि चुनावको लाइभ रिपोर्टिङ गर्दै बालेनको बारेमा प्रशंसाका शब्दहरू प्रस्तुत गरेको छ । कालो ब्लेजर र कालै चश्माबाट पहिचान बनाएका बालेनलाई नेपाली राजनीतिमा पुस्ता परिवर्तनको प्रतीक बन्न सफल प्रभावशाली उम्मेदवार भनी उल्लेख गरिएको छ ।

दी इन्डियन एक्सप्रेसमा प्रचण्ड बाहेक पुरानो पुस्ताका नेताहरू धमाधम हारिरहँदा बालेन शाहको भव्य उदय भइरहेको भनी समाचार प्रकाशित छ । रास्वपाले विशाल बहुमत ल्याउने गरी अधिकांश सिटहरूमा अग्रता लिइरहेको पनि उल्लेख छ ।

न्युज२४ नामक भारतीय समाचार च्यानलमा जेनजीहरूले चुनाव जितेको उल्लेख गर्दै बालेन शाह नेपालका प्रधानमन्त्री बन्न लागेको भनिएको छ । यसबाट भारतलाई हुन सक्ने खतराका बारेमा रिमझिम जेठानीले प्रस्तुति दिएकी छन् ।

उनका अनुसार, बालेन भारतविरोधी हुन् र उनले आदिपुरुष नामक भारतीय फिल्मलाई काठमाडौंमा प्रदर्शन गर्न रोक लगाएका थिए । उनले भारतीय भूभाग समेटिएको ग्रेटर नेपालको नक्सा पनि जारी गरेको भनी रिमझिमले उल्लेख गरेकी छन् । भारतलाई बालेनले गाली पनि गरेकाले भारतविरोधी भएको उनको भनाइ छ । त, चीनसँग जोडिएको दमक औद्योगिक पार्कलाई आफ्नो प्रतिज्ञापत्रबाट हटाएकाले भारतका लागि त्यो सकारात्मक कुरा भएको उनले उल्लेख गरिन् ।

दैनिक भास्करले पनि भारतलाई गाली दिने बालेन नेपालको प्रधानमन्त्री बन्न लागेको भनी समाचार प्रकाशन गरेको छ ।

नेपालबाट उदय भटनागरले गरेको रिपोर्टिङमा नेपालीहरूले भारतसँग सम्बन्ध सुध्रनुपर्ने उल्लेख गरिएको छ । रास्वपाले रोटी–बेटीको सम्बन्ध कायम रहने भनी स्पष्ट पारेको पनि समाचारमा लेखिएको छ ।

अमर उजालाले पनि नेपालको चुनावको लाइभ रिपोर्टिङ गर्दै रास्वपाको शानदार प्रदर्शनको उल्लेख गरेको छ । बालेन शाहको पक्षमा प्रचण्ड लहर देखिएको र पुराना दलहरूको प्रदर्शन खराब रहेको भनिएको छ ।