सम्पूर्ण अपडेट

नागरिकको चाहना र बदलिँदो मनोविज्ञानलाई समयमै बुझ्न नसक्दा हार व्यहोर्नुपर्‍योः शर्मा

175
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सम्पन्न निर्वाचनको परिणाम आफ्नो पार्टीको अनुकूल नआएको स्वीकार गर्दै यसको गहिरो र निर्मम समीक्षा गरिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै शर्माले निर्वाचनको नतिजा अनपेक्षित नभएको भन्दै पार्टीले नागरिकको चाहना र बदलिँदो मनोविज्ञानलाई समयमै बुझ्न नसक्दा हार व्यहोर्नुपरेको निष्कर्ष निकालेका हुन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा धरान, धनगढी र काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले जितेर दिएको सन्देशलाई कांग्रेसले बेवास्ता गरेको शर्माले बताए। मतदाताले ‘सरकारको काम गराइ बदल, दल बदल, नत्र हाम्रो मन बदलिन्छ’ भनेर स्पष्ट सन्देश दिए पनि पार्टीले आफूलाई अपेक्षित गतिमा बदल्न नसकेको उनको भनाइ छ। नागरिकको त्यही रुष्ट मनलाई मतमा बदल्ने मौका छोपेर नयाँ दलको जन्म भएको शर्माले प्रस्ट पारे ।

संसद्को पहिलो दल बने पनि कांग्रेसले सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षमा बस्दा प्रभावकारी भूमिका खेल्न नसकेको उनले स्वीकार गरे। सरकारको काम गराइ र गतिमा प्रगति गराउन नसक्दा आम नागरिकमा असन्तुष्टि, निराशा र विद्रोह जन्मिएको र नागरिक पङ्क्तिमा विश्वास जगाउन नसक्दा चुनावमा पराजय भोग्नुपरेको उनले बताए। विद्रोह जगाउन जो कोहीले सके पनि विश्वास जगाउन नसकेपछि अपेक्षित नतिजा नआउने उनको विश्लेषण छ ।

पार्टीभित्र सुधारको प्रयास स्वरुप महाधिवेशनपछि नीति अधिवेशन लगायतका अभियान चलाइए पनि त्यो पर्याप्त नभएको शर्माले बताए। पार्टीभित्रका समस्यालाई ’एमआरआई’ गरेर डायग्नोसिस गर्दै डकुमेन्ट बनाएर तल्लो तहसम्म पुर्‍याउने प्रयास गरे पनि लोकप्रियतावाद ९पपुलिजम० लाई चिर्न नसकिएको उनले स्वीकार गरे। जनताले प्रशासन, दल र सरकार सबै क्षेत्रमा परिवर्तन खोजेको अवस्थामा कांग्रेसले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने कुरा आम नागरिकसम्म बुझाउन नसकेको उनले भिडियोमा उल्लेख गरेका छन् ।

शर्माले मृत्यु र परिवर्तन दुई कुरा मात्र निश्चित रहेको दार्शनिक तर्क गर्दै मानिसले मृत्यु नचाहे पनि परिवर्तन सधैं खोजिरहने बताए। सबै क्षेत्रमा परिवर्तन हुनुपर्छ भन्ने आम अपेक्षालाई सम्बोधन गर्न कसै न कसैले सुरुवात गर्नुपर्ने र त्यो सुरुवात अरुले गरिदिएका कारण आफूहरू चुकेको उनले बताए ।

अब छिट्टै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेर यस विषयमा गहिरो समीक्षा गरिने शर्माले उद्घोष गरेका छन्। यो हारलाई सामान्य रूपमा नलिई पार्टीको वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व र समग्र पार्टी सञ्चालन प्रक्रियाका कमजोरीहरूलाई एक–एक गरेर केलाइने उनले बताए। विगतका चुनावदेखि अहिलेसम्म सरकार र पार्टी सञ्चालनमा कहाँ–कहाँ चुक्यौं भन्ने विषयमा गहन अध्ययन गरेर पार्टीलाई नयाँ ढंगले भाइब्रेन्ट बनाउने उनले दाबी गरे ।