सम्पूर्ण अपडेट

शीर्ष नेताहरू चुनावी नतिजामा पछाडि, क-कसले जित्लान्?

259
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि बिहीबार भएको मतदानको प्रारम्भिक मतपरिणाम आइरहँदा अधिकांश शीर्ष नेताहरू निकै पछाडि परेका छन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित मधेशका अधिकांश नेताहरू चुनाव हार्दैछन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार, ओलीले निकै न्यून मत पाइरहेका कारण बालेनले जित्ने देखिएको छ। ओलीले लामो समयदेखि पकड बनाएको झापा ५ बाट यसपटक हार्ने देखिएको छ।

सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम अनुसार, रास्वपाका अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापाको भन्दा तीन गुणा बढी मत पाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार गगनलाई पनि चुनाव जित्न सहज अवस्था देखिएको छैन ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गरिरहेका नेकपा एमालेका नेता ईश्वर पोखरेलले हार्ने निश्चित भइसकेको छ । यो निर्वाचन क्षेत्रमा रास्वपाका सस्मित पोखरेलको उदय हुँदैछ भने नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पनि हार्ने देखिएको छ। यही क्षेत्रबाट राप्रपाका नेता कमल थापाले पनि प्रतिस्पर्धा गरेका छन् । तुलनात्मक रूपमा उपविजेता हुने देखिएका कांग्रेस उम्मेदवार र तेस्रो स्थानमा रहेका ईश्वर पोखरेलको भन्दा निकै कम मत थापाले पाइरहेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनाव हार्ने निश्चित भएको छ । रूपन्देही क्षेत्र नम्बर २ बाट रास्वपाका सुलभ खरेलसँग प्रतिस्पर्धा गरिरहेका पौडेलले खरेलको तुलनामा तीन गुणा कम मत ल्याइरहेका छन् ।

एमाले नेता जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषा ३ मा रास्वपाका मनिष झासँग प्रतिस्पर्धा गरिरहेका छन् । झाको जित निश्चित देखिएपछि यो क्षेत्रमा एमाले र कांग्रेसका ठूला नेताले हार्ने भएका छन् ।

एमाले सचिव महेश बस्नेतले पनि भक्तपुर-२ बाट हार्ने देखिएको छ। यो क्षेत्रमा रास्वपाका राजीव खत्रीले दिएको टक्करका कारण बस्नेतले हार्ने अवस्था सिर्जना भएको हो ।

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपाका नेता गिरिराजमणि पोखरेललाई रास्वपाका प्रमोदकुमार महतोले टक्कर दिइरहेका छन् । यो क्षेत्रमा एमालेका लक्ष्मी महतो कोइरी र नेपाली कांग्रेसबाट मुकेशराज काफ्लेले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । यहाँ रास्वपाले प्रारम्भिक मतगणनामा नै बलियो पकड बनाएका कारण अरू उम्मेदवार हार्ने देखिएको छ ।

धादिङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा रहेका एमालेका भूमि त्रिपाठी र नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले पनि चुनाव हार्ने भएका छन् । रास्वपाकी आशिका तामाङले निकटतम प्रतिस्पर्धीको तुलनामा दोब्बरभन्दा बढी मत पाएका कारण अन्य प्रतिस्पर्धी हार्ने अवस्थामा पुगेका हुन् ।

रास्वपाका नेता तथा पूर्वमन्त्री जगदीश खरेलले फराकिलो मतान्तरले अग्रता लिएका कारण ललितपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन र एमालेका प्रेमबहादुर महर्जनले हार्ने निश्चित भएको छ ।

नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गरिरहेका छन् । उनलाई रास्वपाका उम्मेदवार कृष्णकुमार कार्कीले कडा टक्कर दिएका कारण रिजालले नजित्ने अवस्था सिर्जना भएको छ ।

कांग्रेसका नेता गुरुराज घिमिरे र नेकपा नेता अमनलाल मोदीसँगको प्रतिस्पर्धामा उत्रिएका रास्वपाका सन्तोष राजवंशीले जित निकाल्ने भएका छन् ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि चुनाव हार्ने भएका छन् । उनी रास्वपाकी रुविना आचार्यसँग फराकिलो मतान्तरले पछि परेका कारण चुनाव हार्ने अवस्था सिर्जना भएको हो ।

झापा २ मा रास्वपाकी इन्दिरा रानामगरले दिएको टक्करका कारण एमालेका नेता तथा पूर्वसभामुख देवराज घिमिरेले हार्ने भएका छन् । यो क्षेत्रमा पूर्वउपसभामुखले पूर्वसभामुखलाई हराउने देखिएको छ ।

नेकपाका नेता माधवकुमार नेपालले प्रतिस्पर्धा गरिरहेको रौतहट-१ बाट रास्वपाका राजेशकुमार चौधरीले अग्रता लिएका छन् । यो क्षेत्रमा पनि नेपालले हार्ने अवस्था सिर्जना हुँदै गएको छ ।

गुल्मी क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धा गरेका नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी दुवैले हार्ने भएका छन्। यो क्षेत्रबाट रास्वपाका सागर ढकालले जित निकाल्ने देखिएको छ।

प्युठान १ मा नेकपा एमालेका सूर्यबहादुर थापा र नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेल प्रतिस्पर्धा गरिरहेका छन् । तर यी दुवै उम्मेदवारलाई पछि पार्दै रास्वपाका सुशान्त वैदिक अगाडि लागेका छन्।

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले पनि चुनाव हार्ने अवस्था देखिएको छ ।