सम्पूर्ण अपडेट

उपत्यकाका १५ निर्वाचन क्षेत्र

काठमाडौंमा रास्वपाको वर्चस्व : १३ निर्वाचन क्षेत्रमा अगाडि

189
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निकै बलियो उपस्थिति देखाएको छ । प्रारम्भिक मतगणनामा उपत्यकाका कुल १५ निर्वाचन क्षेत्रमध्ये १४ वटाको परिणाम प्राप्त हुँदा १३ वटामा रास्वपाका उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन् ।

जसमध्ये काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रारम्भिक मतपरिणाम सार्वजनिक भएका ९ वटै क्षेत्रमा रास्वपा उम्मेदवारहरू फराकिलो मतान्तरले अगाडि छन् । अधिकांश क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार क्षेत्र नं. १ मा रास्वपाकी रञ्जु दर्शना, नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीभन्दा अगाडि छिन् । त्यस्तै क्षेत्र नं. २ मा रास्वपाका सुनील केसी, एमालेका रामेश्वर फुयाँल र नेपाली कांग्रेसका कवीर शर्माभन्दा फराकिलो मतान्तरसहित अगाडि छन् । क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डेले अग्रता लिँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ दोस्रो र कांग्रेसका रमेशराज अर्याल तेस्रो स्थानमा छन् ।

क्षेत्र नं. ४ मा रास्वपाका पुकार बमले अग्रता बनाउँदा एमालेका डा. राजन भट्टराई र नेपाली कांग्रेसका सचिन तिमल्सिना पछाडि परेका छन् । त्यस्तै क्षेत्र नं. ५ मा रास्वपाका सस्मित पोखरेलले अग्रता लिँदा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल तथा राप्रपा नेता कमल थापा पछाडि परेका छन् । क्षेत्र नं. ६ मा रास्वपाका शिशिर खनालले अग्रता बनाउँदा कांग्रेसका सबुज बानियाँले उनलाई पछ्याइरहेका छन् ।

क्षेत्र नं. ७ मा गणेश पराजुलीले फराकिलो अन्तरसहित अग्रता बनाउँदा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले पछ्याइरहेका छन् । क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठले अग्रता बनाएका छन् भने नेपाली कांग्रेसकी सपना राजभण्डारी र हाम्रो नेपाली पार्टीका सुमन सायमी ठुलो मतान्तरसहित पछ्याइरहेका छन् ।

काठमाडौं क्षेत्र नं. ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छैन । काठमाडौं क्षेत्र नं. १० मा रास्वपाका प्रदीप विष्टले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका हिमाल कार्कीले पछ्याइरहेका छन् ।

ललितपुर र भक्तपुरमा पनि रास्वपाकै अग्रता
ललितपुरका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । ललितपुर क्षेत्र नं. २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्की अगाडि छन् । ललितपुर क्षेत्र नं. १ मा भने नेपाली कांग्रेसका उदयशमशेर राणाले आफ्नो अग्रता कायम राखेका छन्, जुन उपत्यकामा रास्वपा पछाडि परेको एकमात्र क्षेत्र हो ।

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरू अगाडि देखिएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ मानिने भक्तपुर क्षेत्र नं. १ मा रास्वपाका रुकेश रञ्जितले अग्रता लिँदा नेमकिपाका प्रेम सुवाल उनलाई पछ्याइरहेका छन् । यस्तै, भक्तपुर क्षेत्र नं. २ मा रास्वपाका राजीव खत्रीले अग्रता लिएका छन् भने नेकपा एमालेका महेश बस्नेत पछि परेका छन् ।