शान्तिपूर्ण निर्वाचन गराएको भन्दै गगन थापाले दिए सरकार र निर्वाचन आयोगलाई धन्यवाद

63
Shares

काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । बिहीबार देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएसँगै कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको कांग्रेसले जनाएको छ । ‘निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्दछु,’ कांग्रेस सभापति गगन थापाले विज्ञप्ति मार्फत भनेका छन्, ‘मतदाताको सक्रिय सहभागिताले एकातिर लोकतान्त्रिक प्रणालीप्रति नागरिकको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातिर राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’

केही निर्वाचन क्षेत्रमा भएका छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोग सफल भएको भन्दै सभापति थापाले धन्यवाद दिएका छन् ।