
मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका मेरुदण्ड समान हुन्छ । तर, पछिल्लो समय विकसित राजनीतिक तथा सामाजिक अस्थिरता र ‘जेनजी’ प्रदर्शनका कारण निजी क्षेत्रको आत्मविश्वास नराम्ररी डगमगाएको छ। आन्दोलनका क्रममा भौतिक क्षति मात्र नभई लगानीकर्तामा मनोवैज्ञानिक त्रास र अनिश्चितता पनि बढेको छ। यसै सन्दर्भमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयलसँग हालको लगानीको वातावरण, सरकारी भूमिका र निजी क्षेत्रले भोग्नुपरेको चुनौतीबारे केन्द्रित रहेर कुराकानी गरेका छौं ।
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
जेनजी आन्दोलनका क्रममा मेरो लगानी रहेको व्यवसायमा पनि क्षति पुगेको थियो। सबै क्षेत्रको लगानीमा १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । घर, गाडी लगायतका सम्पत्तिमा क्षति नभए पनि लगानी गरेका व्यवसायमा क्षति पुगेको थियो ।
उत्पादन वा सेवा बन्द, उत्पादन वा सेवामा आंशिक क्षति, बजार प्रभावित, आपूर्ति श्रृंखलामा असर र मनोवैज्ञानिक क्षति पुगेको थियो ।
जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?
जेनजी आन्दोलनले एक लगानीकर्ताको रूपमा मनोबलमा ठूलो असर गरेको छ । तत्कालको लागि कुनै नयाँ लगानी गर्ने योजना बनाएको छैन । पर्ख र हेरको अवस्थामा छु ।
लगानी गर्ने लगानीकर्ताको गाडी र घरमा भएको तोडफोड, व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी, तोडफोड लगायतका कारण लगानी गर्ने भन्दा पनि पर्ख र हेरको अवस्थामा छौं । लगानी र परिवारको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ भन्ने महसुस समेत भएको छ ।
जेनजी प्रदर्शनका कारण लगानीको वातावरण कतिको धक्का पुगेको छ?
पछिल्ला वर्षहरूमा लगानीको वातावारण कमजोर हुँदै गरेको थियो । जेनजी आन्दोलनले लगानीको वातावरण खराब हुने गतिलाई थप बढाएको छ । लगानी वातावरण बिग्रँदै गएको अवस्थामा थप नकारात्मक हुने स्थिति बनेको छ । लगानीको वातावरण थप खराब बनेको छ ।
जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?
जेनजी आन्दोलनपछि सरकारले ‘ल एन्ड अर्डर’ कायम गर्नेबाहेक अरू काम गरेको छैन । बाँकी कुरा सबैजना आआफ्नो काममा फर्किएकाले हासिल भएको हो ।
सरकारले उत्पातै गरेकाले सुधार भएको होइन, शान्ति सुरक्षाको प्रत्याभूति भएकाले स्थिति साधारण हुँदै गएको हो । निजी क्षेत्रको आत्मविश्वास जगाउने कुनै पहल र कदम सरकारले चाल्न सकेको देखिँदैन ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
जेनजी आन्दोलनका कारण भौतिक र आर्थिक क्षति भयो । मान्छेको घर जल्यो, व्यवसाय ध्वस्त भयो । यसले प्रत्यक्ष रूपमा मात्रै, नभई अप्रत्यक्ष रूपमा प्रभाव परेको छ । प्रत्यक्ष रूपमा भौतिक संरचना र व्यावसायिक प्रतिष्ठानमाथि आक्रमण भयो भने त्यसको अप्रत्यक्ष असर धेरै ठूलो छ ।
लगानीकर्ताको मनोबल कमजोर भएको छ, निजी क्षेत्रमाथि आक्रमण हुँदा आन्तरिक र बाह्य लगानीसमेत निरुत्साहित हुने जोखिम थप बढेको छ ।
सुदृढ हुँदै गरेको लगानी वातावरणमा जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले गम्भीर धक्का पुगेको हो ?
लगानीको वातावरण कमजोर रहेको अवस्थामा जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि नै आक्रमण भयो । यसले लगानी कमजोर रहेको अवस्थामा लगानीको सुरक्षामाथि नै प्रश्न उठाएको छ । यसले लगानीको वातावरण थप कमजोर भएको छ । बिग्रँदो लगानीको वातावरण थप खराब भएको छ ।
तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको ‘पोस्ट जेनजी स्ट्रेस (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?
हालको स्थिति हेर्दा एक किमिसको अनिश्चितता देखिन्छ । आन्दोलनको डर भन्दा पनि त्यसपछिको अनिश्चितताले निकालेको त्रास धेरै छ । आजको दिनमा राम्रो लिडरशिप आएर करेक्सन तर्फ गएको भए परिस्थिति फरक हुने थियो । तर, त्यस्तो अवस्था देखिएन । अबको नेतृत्व र आर्थिक नीति कस्तो हुने भन्ने कुराले धेरै अनिश्चितता थपेको छ ।
व्यवसायीको मनोबल बढाउन सरकारलाई तपाईंको सुझाव केके छन् ?
सरकारले अब केही निश्चित संरचनात्मक परिवर्तनहरू गर्नैपर्छ । हाम्रो मुख्य समस्या नेपालको अर्थतन्त्रको संरचना ‘खुला बजार’ वा ‘पुँजीवादी’ छ, तर यसलाई चलाउनेहरूको मानसिकता भने अझै पनि कम्युनिस्ट माइन्ड सेट छ ।
जबसम्म अर्थतन्त्रको स्वरूप र त्यसलाई सञ्चालन गर्ने सोचबीच तादात्म्य मिल्दैन, तबसम्म हजारौं प्रयास गरे पनि साधारण मान्छेले दुःख पाउने र पद्धति नसुध्रिने क्रम चलिरहन्छ । अर्थतन्त्रको संरचना र नेतृत्वको आर्थिक सोच बदल्न आवश्यक छ ।
नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
हामी जस्तो भाष्य निर्माण गर्छौं, त्यही सुनेर बस्छौं र रमाउँछौं । तर, अहिले समाजमा नकारात्मक भाष्यलाई छिटो विश्वास गर्ने गरिन्छ । यस्तो प्रवृत्तिलाई समयमै रोक्न जरुरी छ र यसका लागि सरकार स्वयं चानाखो हुनुपर्छ ।
यदि कुनै कुराले समाजमा नकारात्मक प्रभाव पार्छ भन्ने देखिन्छ भने त्यसको तत्काल खण्डन गर्नुपर्छ । जब सरकार आफैं भ्रष्टाचारको जालोबाट मुक्त हुन सक्दैन, तब आफ्नो दोष अरूमाथि थोपर्ने काम हुन्छ ।
आज व्यापारीहरू तारो बनिरहेका छन् । व्यापारीले बदमासी गरे होलान्, तर सरकारको सहयोग वा मिलेमतो बिना कुनै पनि गलत कामको योजना बुन्न सकिँदैन । अझ त्यसलाई कार्यान्वयन गर्न सम्भव छैन ।
गलत काममा सरकारको पनि हात हुने तर दोष जति निजी क्षेत्रलाई मात्र लगाउनु न्यायोचित हुँदैन । सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।
अन्य देशहरूमा हरेक क्षेत्रमा यस्ता प्रतिष्ठित व्यक्तित्वहरू हुन्छन्, जसले बोलेपछि त्यसलाई अन्तिम सत्य मानिन्छ । तर नेपालमा त्यस्ता ओजपूर्ण व्यक्तित्वहरूको अभाव देखिन्छ । यहाँ त सतही र नकारात्मक कुरा गर्नेहरू नै लोकप्रिय भइरहेका छन् ।
विडम्बना त के छ भने, यहाँ कसले सही बोलिरहेको छ र कसले गलत, भनेर छुट्याउनै गाह्रो भइसकेको छ । सम्पत्ति कमाउने माथि हेर्ने दृष्टिकोण नै नकारात्मक रहेको अवस्था छ । यसलाई बदल्नुपर्छ । अफवाह तथा भ्रमपूर्ण सूचना र समाचारहरूलाई पनि नियन्त्रण गर्नुपर्छ ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा एनएमबि बैंकका अध्यक्ष गोयलले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)








प्रतिक्रिया