एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले राजधानी प्योङयाङमा आयोजित एक समारोहमा आणविक क्षमता भएको मल्टिपल रकेट लन्चर (धेरै वटा रकेट एकैसाथ प्रहार गर्ने यन्त्र) आफैंले चलाएको त्यहाँको राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।
उनले उक्त हतियारलाई विश्वकै सबैभन्दा शक्तिशाली अस्त्रमध्ये एक भएको दाबी गरेका छन् ।
उत्तर कोरियाली राज्य नियन्त्रित सञ्चारमाध्यमले आफ्नो नेताको छवि आन्तरिक रूपमा सुदृढ गर्न र शत्रुहरूलाई धम्कीपूर्ण सन्देश दिनका लागि प्रायः यस्ता आकर्षक तस्बिरहरू सार्वजनिक गर्ने गर्छन् ।
यस अधिनायकवादी एकदलीय राज्यले यसै महिना महत्त्वपूर्ण पार्टी महाधिवेशनको तयारी गरिरहेको छ । यस्तो समयमा उत्तर कोरियाको प्रचार संयन्त्र र सैन्य प्रदर्शनहरू निकै आक्रामक हुने गर्छन् ।
बुधबारको यो प्रदर्शन यस्तो समयमा भएको हो जब उत्तर कोरियाले युक्रेनमा रुसको आक्रमणलाई क्षेप्यास्त्र र हजारौं सैनिकहरू उपलब्ध गराएर सहयोग जारी राखेको छ ।
विश्लेषकहरूका अनुसार, युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले प्राप्त गरिरहेको अनुभव र मस्कोबाट प्राप्त हुन सक्ने प्राविधिक ज्ञानले उसलाई आफ्ना हतियार र रणनीतिहरू सुधार्न मद्दत पुर्याउनेछ ।
प्योङयाङ र सोल (दक्षिण कोरिया) बीचको सम्बन्ध पनि तनावपूर्ण छ । दक्षिणमा दशौं हजार अमेरिकी सैनिकहरू तैनाथ छन् ।
उत्तर कोरियाली सञ्चारमाध्यमको पछिल्लो फुटेजमा ६०० एमएम रकेट प्रणालीका ५० वटा लोन्चरहरू एउटा चोकमा सात–सातको लहरमा राखिएको देखाइएको थियो । चारवटा एक्सेल भएका यी प्रत्येक सवारीसाधनले पाँचवटा रकेट बोक्न सक्छन् ।
तस्बिरहरूमा कालो ज्याकेट लगाएका किम मुख्य मञ्च नजिकै रहेको मोबाइल मिसाइल लोन्चरमा चढेको देखिन्छ भने हजारौं मानिसले उत्तर कोरियाको साना झण्डाहरू हल्लाइरहेका छन् । एउटा फोटोमा उनी स्टेयरिङमा बसेर ठूलो मुस्कानका साथ हाँसिरहेको देखाइएको छ ।
‘उनले गौरवशाली पार्टी महाधिवेशनका लागि आयोजित स्थलको प्लाजामा लामबद्ध गरिएका परम शक्तिको प्रतीक हतियारहरूको समीक्षा गर्न आफैंले लोन्चर सवारी साधन चलाए,’ उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले आफ्नो रिपोर्टमा भनेको छ ।
किमले ६०० एमएमका यी रकेटहरू (जुन अन्य रकेट प्रणालीको तुलनामा दोब्बर ठूला छन्) अल्प–दूरीको ब्यालिस्टिक मिसाइल सरह शक्तिशाली भएको बताए । उनले यसको निर्देशन प्रणालीमा कृमित्रता बुद्धिमत्ता (एआई) को प्रयोग गरिएको कारण यसलाई विश्वमै अद्वितीय भएको दाबी गरे ।
‘अन्य कुनै पनि राष्ट्रसँग यस्तो प्रकारको हतियार प्रणाली छैन,’ किमले भने । यसले आधुनिक युद्धमा आर्टिलरी (तोप) को भूमिका र अवधारणालाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ ।’
किमले ६०० एमएमका लोन्चरहरूको चर्चा गरेको यो पहिलोपटक भने होइन । सन् २०२२ को अन्त्यमा पनि उनको शासनले यही आकारका ३० वटा लोन्चरहरू प्रदर्शन गरेको थियो ।
त्यसबेलाको केसीएनएको रिपोर्ट अनुसार, यस रकेट प्रणालीले पूरै दक्षिण कोरियालाई आफ्नो निशाना बनाउन सक्छ र यसमा ट्याक्टिकल आणविक वारहेड जडान गर्न सकिन्छ ।
यद्यपि, अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूका अनुसार उत्तर कोरियासँग करिब ५० वटा आणविक वारहेडहरू मात्र छन् र थप ३० देखि ४० वटा बनाउन पुग्ने सामग्री छ ।
मल्टिपल रकेट लोन्च सिस्टमका साथै प्योङयाङसँग अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलदेखि लिएर अल्प–दूरीका आणविक हतियारहरू पनि छन् । उत्तर कोरियासँग हजारौं परम्परागत तोपहरू पनि छन् जसले दक्षिण कोरियामा ठूलो विनाश निम्त्याउन सक्छ ।
दुई वर्षअघि पनि उत्तर कोरियाले सीमा नजिकैका आफ्ना आर्टिलरी युनिटहरूको शक्ति प्रदर्शन गरेको थियो, जसको मारक क्षमतामा दक्षिण कोरियाको राजधानी सौल पर्छ ।
वाशिङटनस्थित थिंक ट्यांक आणविक हतियारको मोबाइल लोन्चरभित्र देखिए उत्तर कोरियाका किम जोङ उनयान्ड कर्पोरेसनको सन् २०२० को प्रतिवेदन अनुसार, दक्षिण कोरियाली जनसंख्या केन्द्रहरूलाई निशाना बनाउन सक्ने उत्तर कोरियाका करिब ६ हजार ठूला तोपहरू किमको आणविक हतियार र मिसाइल कार्यक्रम जत्तिकै खतरनाक छन् । प्रतिवेदनका अनुसार, यी तोपहरू नागरिक क्षेत्रमा प्रहार गरिएमा एक घण्टामै १० हजारभन्दा बढी मानिसको ज्यान जान सक्छ ।
बुधबार प्रदर्शन गरिएका यी लोन्चरहरू प्योङयाङको अप्रिल २५ हाउस अफ कल्चर अगाडि राखिएका थिए ।
किमले आगामी दिनहरूमा थप सैन्य शक्तिप्रदर्शन हुन सक्ने संकेत दिएका छन् । उनले भने, ‘हाम्रो पार्टीको नवौं अधिवेशनले आत्मनिर्भर रक्षा क्षमता सुदृढ गर्ने अर्को चरणको योजना र लक्ष्य स्पष्ट पार्नेछ ।’ उनले हतियार विकासकर्ताहरूलाई पार्टीको रणनीतिक योजना कार्यान्वयन गर्न अझ कडा मेहनत गर्न आह्वान पनि गरे ।








प्रतिक्रिया