
एजेन्सी । भारतको टाटा एडभान्स्ड सिस्टम्स लिमिटेड र फ्रान्सको एयरबसले कर्नाटक राज्यको वेमागलामा एयरबस एच१२५ हेलिकप्टरका लागि भारतको पहिलो निजी क्षेत्रको फाइनल एसेम्बली लाइन (अन्तिम उत्पादन एकाइ) खोलेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भर्चुअल माध्यमबाट यस एसेम्बली लाइनको उद्घाटन गरेका थिए । उक्त अवसरमा भारतका रक्षामन्त्री राजनाथ सिंह, फ्रान्सकी सशस्त्र बल तथा पूर्व सैनिक मामिला मन्त्री क्याथरीन भोट्रिन, भारतका नागरिक उड्डयनमन्त्री किन्जरापु राममोहन नायडू र टाटा एडभान्स्ड सिस्टम्स तथा एयरबस दुवैका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस केन्द्रले नागरिक उड्डयनका लागि एच१२५ र सम्भावित रूपमा यसको सैन्य संस्करण एच१२५एम दुवै उत्पादन गर्ने लक्ष्य राखेको छ । पहिलो मेड इन इन्डिया एच१२५ हेलिकप्टरको डेलिभरी सन् २०२७ को सुरुमा हुने तालिका छ ।
टाटा र एयरबसले यी हेलिकप्टरहरू आन्तरिक प्रयोगका साथै दक्षिण एसियाभर निर्यात गर्ने योजना बनाएका छन् ।
यस सहकार्यले कुनै भारतीय निजी कम्पनीले देशमै उन्नत रोटरी–विङ प्लेटफर्म (हेलिकप्टर) निर्माण, एकीकरण, परीक्षण र मर्मतसम्भार गरेको पहिलो घटनाको रूपमा नयाँ इतिहास रचेको छ ।
यस पहलले भारतीय अपरेटरहरूलाई प्रविधिमा प्रत्यक्ष पहुँच, स्थानीय मर्मतसम्भार सहयोग र हेलिकप्टरको उपलब्धतामा वृद्धिको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने, ‘हामी एच१२५ हेलिकप्टर फाइनल एसेम्बली लाइन स्थापना गर्न पाउँदा गर्व गर्छौं जुन भारतको निजी क्षेत्रमा पहिलो हो । यो एयरोस्पेस र रक्षामा आत्मनिर्भरताको दिशामा राष्ट्रको यात्रामा एक कोसेढुंगा हो।’
‘यस केन्द्रले भारतको औद्योगिक क्षमताको बढ्दो गहिराइ र एयरबससँगको हाम्रो लामो समयदेखिको साझेदारीको शक्तिलाई झल्काउँछ । सँगै मिलेर हामी भारतमा विश्वव्यापी रूपमा प्रतिस्पर्धी एयरोस्पेस इकोसिस्टम निर्माण गर्न योगदान गरिरहेका छौं ।’
मन्त्री राजनाथ सिंहले एच१२५ कार्यक्रममा लगानी १० अर्ब भारु नाघ्ने अपेक्षा गरेका छन् र यसले युवाहरूका लागि प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गर्ने अनुमान गरेका छन् ।
एयरबस एच१२५ एकोरिल परिवारको हिस्सा हो जसले विश्वभर ४ करोडभन्दा बढी उडान घण्टा पूरा गरिसकेको छ । यसले विभिन्न महत्त्वपूर्ण मिशनहरूमा उच्च–उचाइमा फोर्स मल्टिप्लायर (क्षमता अभिवृद्धिकर्ता) को रूपमा काम गर्छ ।
यसलाई सैन्यबलले तालिमका लागि प्रयोग गर्छ भने कानून कार्यान्वयन गर्ने निकायहरूले निगरानी, सीमा गस्ती, खोजी अभियान, कमान्ड र कन्ट्रोल गतिविधिहरू, उद्धार कार्य र विशेष अपरेशनहरूका लागि प्रयोग गर्छन् ।
यसको नागरिक संस्करणले आगलागी नियन्त्रण, हवाई सर्वेक्षण कार्य, बालीमा विषादी छर्कने, यात्रु ढुवानी, आपतकालीन चिकित्सा सेवा र व्यावसायिक उड्डयन जस्ता कार्यहरूमा सहयोग पुर्याउँछ ।
‘एच–१२५ विश्वव्यापी रूपमा सबैभन्दा प्रभावकारी र भरपर्दो सिंगल–इन्जिन हेलिकप्टरहरूमध्ये एक साबित भएको छ,’ राजनाथ सिंहले भने ।
यो उद्यम टाटा र एयरबसबीच भारतमा सी२९५ सैन्य यातायात विमानको फाइनल एसेम्बली लाइनमा भएको अघिल्लो सहकार्यपछि आएको हो ।








प्रतिक्रिया