केएल दुगडको स्वस्तिक आयलले एकै वर्ष गर्‍यो साढे १४ अर्बको व्यापार

63
Shares

काठमाडौं । स्वस्तिक आयल इन्डष्ट्रिजले एकै वर्ष साढे १४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२३ र २०२४ मा खुद घाटा व्यहोरेको थियो । तर, गत आवमा व्यापार बढेसँगै १.३३ प्रतिशत खुद नाफा कमाएको छ । साथै, कुल नगद सञ्चय २४ करोड ४० लाख रुपैयाँ रहेको छ ।

सन् १९८४ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भटमास, पामोलिन, सन्फ्लावर तेल वार्षिक १ लाख ३५ हजार मेट्रिक टन र वनस्पति घ्यू १० हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको तेल स्वस्तिक, धारा, संगम, बिगुल र सन्फ्लो ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले आन्तरिक बजारसँगै भारतमा निर्यात गर्दै आएको छ । विकास दुगड अध्यक्ष रहेको कम्पनीले तेलसँगै १ सय ८० भन्दा बढी प्रकारका खाद्य वस्तुको कारोबार गर्दै आएको छ । कम्पनीले चामल, दाल, सिरियल, बच्चाको खाना, मसला, चिया, फ्लोर र अन्य खाद्य वस्तुको कारोबार गर्दै आएको छ ।

कम्पनीले गत आवमा गरेको व्यापारमध्ये ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ निर्यातबाट भएको उल्लेख । सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो । त्यस्तै, चालु आवको ५ महिनाको अवधिमा ६ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ । जसमा ४७ प्रतिशत व्यापार निर्यातबाट भएको जनाएको छ ।

केएल दुगड ग्रुपको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ६ करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ अर्ब ६० करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।