आईपीओको तयारीमा रहेको निगालो बुटिक होटल चैतबाट सञ्चालनमा आउने, लगानी कति ?

518
Shares

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी रहेको निगालो बुटिक होटल आगामी चैतबाट सञ्चालनमा ल्याउने तयारी भएको छ । नगरकोटामा निर्माण भइरहेको कम्पनीले १५ वटा कोठाको सुविधाका साथ आगामी चैतबाट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

सन् २०१८ मा स्थापना भएको कम्पनी सन् २०२६ को जनवरीमा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले ८० हजार स्क्वारफिट क्षेत्रफलमा चार तारे होटल निर्माण गरिरहेको छ । कम्पनीले नगरकोटमा ६८ वटा कोठाको सुविधाका साथ होटल निर्माण गर्ने भएको हो ।

सुधिर खनालको ३० प्रतिशत स्वामित्व रहेको होटल १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लागतमा बनेको कम्पनीले जनाएको छ ।

कम्पनीले होटल निर्माणका लागि ६५:३५ लगानी अनुपात राखेको छ । हालसम्ममा होटलको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । कम्पनीकाअनुसार होटलको केही कार्य निर्माण कार्य सम्पन्न भएकाले पहिलो चरणमा १५ वटा कोठाको सुविधाका साथ सञ्चालनमा ल्याउने भएको हो ।

टिकाराज बराल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड १० लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८८ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।